मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 20 July, 2025
Invalid date format १६:५८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मुग्लिन-मलेखु सडकको काम ३३ प्रतिशत पूरा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५८:oo

नागढुंगा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन-मलेखु सडकको काम ३३ प्रतिशत सम्पन्न भएको छ। यस सडकको ३८ किलोमिटर भागमध्ये आठ किलोमिटर चार लेन सडकको कालोपत्रको काम सम्पन्न भएको छ।

पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार कुरिनटार क्षेत्रमा एक ठाउँमा पाँच किलोमिटर कालोपत्र गरिएको छ भने बाँकी विभिन्न ठाउँमा कालोपत्र गरिएको हो। 

थप आठ किलोमिटर क्षेत्र कालोपत्र गर्ने तयारी गरिएको छ। सो सडकको २५ किलोमिटर भागमा पक्की नाली बनाइएको छ। सडकको चौडा गर्ने काम नाली बनाएका क्षेत्रमा भइसकेको छ। थप आठ किलोमिटर क्षेत्रमा सडक चौडा गर्ने काम बाँकी रहेको छ।

सो सडक खण्डमा रहेका ६ वटा पुलमध्ये गोमती खोलाको पुलको काम सम्पन्न भएको छ। बाँकी तीन पुलमा साउनभित्रमा ढलान गर्ने योजना रहेको नेपालले बताए। थप दुई पुल वर्षा सकिएपछि काम अघि बढाइनेछ। ती पुलमा पिल्लर उठाउने काम भएको छ। 

आयोजनाले मुआब्जा दिनुपर्नेमध्ये ७० प्रतिशत वितरण गरिसकेको छ। विद्युतका खम्बा ४०० बाट सार्नुपर्नेमा ३०३ वटा सारिएको छ। वर्षातको समयमा पुलको ढलानको काम र निर्माण सामग्री प्रशोधनको काम मात्र हुने गर्दछ। नेपालले भदौपछि अरू काम थालिने बताए।

यो खण्डमा दुई दशमलव दुई किलोमिटर ६ लेन सडक बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ। चार लेन सडक सात दशमलव दुई किलोमिटर हुनेछ। 

यो रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझीमटार, चरौँदी र विशालटार क्षेत्रमा हुनेछ। उकालो–ओरालो खण्डमा तीन लेनको क्लाइम्बिङ लेन पनि बनाइनेछ, जुन दुई दशमलव तीन किलोमिटर हुनेछ। बाँकी सडक ‘डेडिकेटेड’ दुई लेनको हुनेछ।

विसं २०७९ पुस १५ मा तीन वर्षमा सम्पन्न गर्ने गरी यो सडक ठेक्का लगाइएको हो। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुंगा सडकखण्डलाई तीन प्याकेज बनाएर बोलपत्र आह्वान गरिएको हो। यो तेस्रो प्याकेजमा पर्दछ। यो प्याकेजमा ३८ दशमलव ८६ किलोमिटर पर्दछ।

शर्मा–जेडआइसिजिल चार अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यस खण्डको स्तरोन्नतिको ठेक्का लिएको हो। सडकको विभिन्न क्षेत्रमा नाला बनाउने, पहिरो रोकथामको काम, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम गर्नुपर्ने हुन्छ। यो सडक विश्व बैंकको सहयोगमा बनाइएको हो। 

काठमाडौं प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो सडक रहेको छ। सडकमा सवारीसाधनको उच्च चाप र कच्चापदार्थ पाउन कठिन हुँदा काममा ढिलाइ भएको हो। यससँगै सुरुका वर्षमा डिजाइन परिवर्तन हुँदा पनि काममा ढिलाइ भएको नेपालले बताए। रासस