
शान्त वातावरणमा रंगीबिरंगी फूल, छिनछिनमा परिवर्तन हुने मौसम र शीतल हावापानी बर्खायाममा ढोरपाटनको विशेषता हो यो । थरीथरीका फूलले रंगिएको ढोरपाटन बर्खायाम अन्य यामभन्दा झनै रमाइलो छ ।
बर्खायाममा अन्यत्र पर्यटकीय गतिविधि शून्यप्रायः जस्तै हुँदा यसपटक भने बागलुङको ढोरपाटन पर्यटकले ‘गुल्जार’ बनेको छ । आठ किलोमिटर वरपर फैलिएको ढोरपाटन उपत्यकामा फुलेका रंगीबिरंगी वनफूलका कारण ढोरपाटनको छुट्टै रौनकता थपिएको छ ।
ढोरपाटनको फाँट र पाखा अनेक थरीका बुकी फुलेर रंगिएपछि रमणीय बनेको छ । प्रचारप्रसार र पर्यटकीय पूर्वाधारका कारण पछिल्लो समय ढोरपाटनमा बर्खामा समेत उत्तिकै पर्यटक आएको पाइएको छ । बर्खामा ढोरपाटन पुग्ने मुख्य कारण भनेको सयौँ थरीका रंगीबिरंगी फूल रहेको छ ।
स्थानीय ढोरपाटन सामुदायिक घरवासका सञ्चालक मिलन घर्तीका अनुसार असारदेखि भदौसम्म अन्य ठाउँमा पर्यटकको आगमन शून्य भए पनि ढोरपाटन ‘गुल्जार’ बनिरहेको बताए ।
पर्यटकका कारण यहाँका घरवास, होटेल तथा घोडा व्यवसायीसमेत उत्साहित छन् । २५ जना क्षमता रहेको घरवास यो बर्खामा समेत भरिएर पाहुना अन्य होटेल तथा घरवासमा पठाइरहेको बताउँदै यो सिजनमा पोखरा, बुटवलदेखि काठमाडौंबाट समेत पर्यटक आउने गरेको पाइएको छ ।
कञ्चन उत्तरगंगा नदी, सुन्दर र समथर भूबनोट, अनेकथरी बुकीफूल र त्यसमाथि घोडा चरिरहेको दृश्यले ढोरपाटन पुग्ने जोकोही लोभिने गरेको काठमाडौंबाट मोटरसाइकलमा घुम्न आएका अनिल राजवंशीले बताए । यहाँ फुल्ने रातो, सेतो, पहेँलो, गुलाफीजस्ता अनेकौँ थरीका फूलले पर्यटकलाई ढोरपाटन तानिरहेको छ ।
राजवंशीले चार हजार मिटरभन्दा माथिको बुकीपाटनसमेत एक दिनको पदयात्रामार्फत पुगेको बताउँदै ढोरपाटनको सौन्दर्य बयान गरेर नसक्ने बताए । बुर्तीबाङबाट ढोरपाटनसम्मको झन्डै ३० किलाेमिटर सडकलाई स्तरीय बनाउन सकेमा ढोरपाटनमा पर्यटकको कमी नहुने उनको भनाइ छ । राजवंशीले कष्टकर यात्रालाई ढोरपाटनको दृश्यले बिर्साउने गरेको बताए ।
ढोरपाटनबाट बुकी र जलजला क्षेत्र पुगेर हिमालका सुन्दर दृश्य हेर्न पर्यटक लालयित भएर ढोरपाटन पुग्ने गरेको पाइएको छ । पाटनैभरि फुल्ने वनफूल, फूलमा घोडा, भेडाबाख्रा र गाईभैँसी चर्दै गरेको दृश्यले पर्यटकलाई तान्ने गरेको छ ।
लेकमा फुल्ने फूललाई समग्रमा बुकीका नामले चिन्ने गरेको स्थानीयको भनाइ छ । अहिले सडक यातायात, होटेल तथा घरवास सुविधा, सञ्चारमाध्यमले यहाँ आउन पनि निकै सजिलो भएको छ । (रासस)