
रोल्पाको सदरमुकाम हो लिबाङबजार । रोल्पाको एक मात्र नगरपालिका रहेको रोल्पा नगरपालिकाको मुख्य बजार पनि यही हो । लिबाङ बाहिरबाट हेर्दा जति सुन्दर छ, भित्री सडकको अवस्था त्यत्तिकै कुरूप बन्दै गएको छ । सडकमा रहेको कालोपत्रे उत्रिनुका साथै नालीहरू बिग्रिनु तथा जथाभावी पार्किङ गरिएका कारण अस्तव्यस्त बनेको छ ।
करिब चार वर्षअघि मर्मत गरिएको बजार क्षेत्रको करिब एक किलोमिटर सडक अहिले पुनः जीर्ण भएको छ। सडकमा खाल्टाखुल्टी भएका कारण दुर्घटनाको जोखिमसमेत बढेको छ । ‘सडक जीर्ण बन्दै गइरहेको छ, तर कसैले वास्ता गरेको छैन,’ लिबाङ बिचबजारका व्यवसायी नौली डाँगीले भनिन्, ‘मर्मत गर्न कसैले चासो नदिएका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ ।’ मुख्य सडकलाई अतिक्रमण गर्ने प्रवृत्ति पनि बढेको, तर कसैले वास्ता नगरेको उनको गुनासो छ ।
लिबाङको भित्री सुन्दरता गुम्दै गएकोप्रति स्थानीयवासी चिन्तित छन् । ‘बजारमा सडक भत्किएर नाजुक अवस्था देखिन्छ,’ स्थानीय तिलचन्द्र आचार्यले भने, ‘सडकका खाल्टाखुल्टीमा पानी जमेका छन्, विद्यालय आउजाउ गर्ने बालबालिकालाई धेरै सास्ती छ, जुन सरकारले बनाए पनि छिटो मर्मत गर्नुपर्यो ।’ वर्षातकाे समयमा बजारका नाला बन्द भएर पनि समस्या हुने गरेको छ । नाला बन्द भएका कारण लिबाङको टुँडिखेलआसपासमा ठुलो पानी पर्दा फोहोरको डुंगुर देखिन्छ । ‘हरेक शनिबार बजारवासीले बजार सरसफाइ गर्दै आएका छौँ,’ स्थानीय व्यवसायी मनबहादुर नेपालीले भने, ‘नाला बन्द भएर धेरै फोहोर सडकमा थुप्रिन्छ, त्यसको सफाइ र नाला खोल्नतिर ध्यान दिनुपर्यो ।’
अब मर्मत गर्छौँ : नगरप्रमुख
रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तीले संघीय सरकारको बजेटबाट कालोपत्रे एवं मर्मत गर्दा बजारक्षेत्र र जलजला क्याम्पस रोड छुटेको बताए । ‘सदरमुकामआसपासका १२ वटा सडक एकैपटक कालोपत्रे तथा मर्मत गरिएको थियो, त्यसवेला दुईवटा सडक छुटेका थिए,’ नगरप्रमुख घर्तीले भने, ‘पहिले सडक विभागबाट पनि मर्मत भएको थियो, अब कसैले नगरेपछि नगरपालिकाले नै गर्छ ।’ उनले बजारक्षेत्रको सडक र नाली सफाइका लागि सडक विभागको बजेटसँग साझेदारी गरेर काम गर्ने बताए ।
सडकको अस्तव्यस्तता जथाभावी पार्किङले पनि बढाएको छ । यसअघि जिल्ला प्रहरी कार्यालय रोल्पा र नगरपालिकाले पार्किङका लागि निश्चित क्षेत्र निर्धारण गरेको थियो । पार्किङ केही व्यस्थित हुँदा बजार पनि सुन्दर देखिएको थियो । तर, उक्त व्यवस्थापन लामो समय टिक्न सकेन । जथाभावी पार्किङलाई व्यवस्थापन गर्नुपर्नेमा प्रशासन तथा नगरपालिका उदासीन भएको स्थानीयको आरोप छ । बजारको सुन्दरतालाई बचाइराख्न सडक मर्मत, पार्किङ व्यवस्थापन, सडक पेटीसम्म बेच्न राखिएका सामान हटाउने, नाली मर्मतलगायतका काम गर्नुपर्ने देखिन्छ ।