मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ४ आइतबार
  • Sunday, 20 July, 2025
हेइक स्केन्जेल/मिकल एपोलो
२o८२ श्रावण ४ आइतबार १o:४o:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सगरमाथा क्षेत्रमा पदयात्राबारे सोच्दै हुनुहुन्छ ?

Read Time : > 2 मिनेट
हेइक स्केन्जेल/मिकल एपोलो
नयाँ पत्रिका
२o८२ श्रावण ४ आइतबार १o:४o:oo
  • स्थानीय रूपमा ख्यातिप्राप्त ट्रेकिङ एजेन्सी प्रयोग गर्नु महँगो पर्न सक्छ, तर यसले सुरक्षाको सुनिश्चितता गर्छ 

काठमाडौंमा सगरमाथा आधार शिविरसम्मको पदयात्राका विज्ञापनले पर्यटकलाई आकर्षित गरिरहेका हुन्छन् । पूर्वअनुभव आवश्यक नपर्ने र उपकरण उपलब्ध गराइने ट्राभल एजेन्सीका दाबी तथा सामाजिक सञ्जालका चम्किला पोस्टले यो यात्रा सजिलो र रमाइलोजस्तै लाग्न सक्छ । तर, पाँच हजार तीन सय ६४ मिटर उचाइमा रहेको आधार शिविरसम्मको यात्रा विशेषत: नवप्रवेशीका लागि चुनौतीपूर्ण हुन सक्छ । सगरमाथा राष्ट्रिय निकुञ्ज, चोमोलुङमा (सगरमाथा) र शेर्पा समुदायको सांस्कृतिक उपस्थिति अत्यन्त लोकप्रिय गन्तव्य हो । वसन्त र शरद ऋतुमा करिब ६० हजार पर्यटक यहाँ पुग्छन् । तर, उच्च हिमाली वातावरणमा सामान्य समस्या पनि गम्भीर बन्न सक्छ । दुई हजार आठ सय ६० मिटर उचाइको लुक्लाबाट यात्रा सुरु गर्नेबित्तिकै उचाइजन्य रोग वा अपरिचित ब्याक्टेरियाबाट स्वास्थ्यमा असर पर्न सक्छ । हामीसँग सन् २०२३ र २०२४ को मे महिनामा गरेको अन्तर्वार्तामा २४ पदयात्री र ६० स्थानीयले आधार शिविर यात्राका सुरक्षासम्बन्धी चुनौतीबारे अनुभव बाँडेका थिए ।

उचाइमा यात्रा गर्नुअघि आफ्नो शारीरिक क्षमता र प्राविधिक सीपअनुसार लक्ष्य निर्धारण गर्नु अत्यावश्यक हुन्छ । मानव शरीर करिब पाँच हजार ३०० मिटर उचाइसम्म अनुकूल हुन सक्छ तर उचाइजन्य रोगको खतरा दुई हजार ५०० मिटरमै सुरु हुन सक्छ, जुन लुक्लाभन्दा पनि होचो ठाउँबाट सुरु हुन्छ । तीन हजार मिटरमाथि पुग्दा हावापानीअनुसार आफूलाई अनुकूल बनाउने ‘एक्लिमेटाइजेसन’ प्रक्रिया अनिवार्य हुन्छ । यसमा दिनमा पाँच सय मिटरभन्दा बढी नचढ्ने र दुई–तीन दिनमा एकचोटि त्यही उचाइमा विश्राम गर्ने नियम पालना गर्नुपर्छ । सबैभन्दा उपयुक्त विधि ‘स टुथ प्रणाली’ हो, जसअनुसार दिनको समयमा माथि चढिन्छ, तर रातमा तल्लो स्थानमा सुतिन्छ ।

खुम्बु क्षेत्रका स्थानीयहरू पर्यटकले अनुकूल हुने प्रक्रिया बेवास्ता गर्ने समस्याबारे जानकार छन् । एक होटेल सञ्चालकले ‘ऊ उकालो लाग्दै छ र अहिले नै ढिलो भइसक्यो । केही समयमै अँध्यारो र चिसो हुँदै जानेछ । ऊ अर्को बस्तीमा पुग्न सक्दैन । अब हामीले यो कुरा सम्बन्धित निकायमा जानकारी गराउनुपर्छ या उसैको पछि लाग्नुपर्छ,’ हामीसँग भनेका थिए । अनुभव नभएका पदयात्रीले स्थानीय गाइड राख्नुपर्छ । पदयात्रीलाई हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने अवस्था थुप्रैपटक देखिएको छ । तीमध्ये एक २० वर्षकी महिला आधार शिविरमा एक रात बसेपछि फर्किनुपर्‍यो । उनले अनलाइनमार्फत गैरस्थानीय गाइड भाडामा लिएकी थिइन्, जसले यात्राभरि उनको स्वास्थ्य परीक्षण गरेनन् । उनले भनिन्, ‘डाक्टरहरूले मलाई उच्च–उचाइ फोक्सोमा तरल जम्ने समस्या भएको बताए । त्यसैले मलाई तुरुन्तै कम उचाइ भएको क्षेत्रमा झर्नु अत्यावश्यक थियो । मैले अझ माथि जान खोजेकी थिएँ भने अवस्था निकै खराब हुन सक्थ्यो ।’

पदयात्राभरि नियमित स्वास्थ्य परीक्षण आवश्यक छ । विशेषत: उचाइजन्य रोगका चार प्रमुख लक्षणबारे टाउको दुखाइ, बान्ता, झमझमाहट र थकानको निगरानी गर्नुपर्छ । यस्ता लक्षण देखिएमा माथि जानु हुँदैन र आवश्यक भएमा तल झर्नुपर्छ ।

स्थानीय रूपमा ख्यातिप्राप्त ट्रेकिङ एजेन्सी प्रयोग गर्नु महँगो पर्न सक्छ, तर यसले सुरक्षाको सुनिश्चितता गर्छ र पर्यटकलाई स्थानीय संस्कृतिसँग परिचित गराउँछ । यस किसिमको परिचयले स्थानीय समुदायमा नकारात्मक प्रभाव पर्नबाट जोगाउँछ । धेरै पदयात्रीको लक्ष्य आधार शिविरको प्रसिद्ध ढुंगामा फोटो खिच्नु मात्र हुन्छ । त्यसपछि धेरैजसो हेलिकोप्टर चढेर काठमाडौं फर्कन्छन् । एक हेलिकोप्टर टुर एजेन्सीका मालिक ‘उनीहरू फेरि हिँड्न चाहँदैनन् किनभने उनीहरूको लक्ष्य पूरा भइसकेको हुन्छ । पहिलेका पर्यटक धेरै राम्रो तयारी गरेर आउँथे । अहिले त चाहिएको खण्डमा हेलिकोप्टरबाट फर्किन पाइन्छ भन्ने सबैलाई थाहा छ’ भन्छन् ।

तर, हेलिकोप्टर यात्रा आफैँमा जोखिमपूर्ण हुन सक्छ । यात्रालाई एकतर्फी बनाउने प्रवृत्तिले स्थानीयसँगको सम्बन्धमा असर पार्न सक्छ । खानपानमा ध्यान दिनु आवश्यक छ । उच्च स्थानमा हुने पखालाले शरीरलाई छिटो निर्जलीकरण गर्छ, जुन कम वायुप्रवाह र अक्सिजनका कारण झन् गम्भीर बन्न सक्छ । र, निर्जलीकरणका लक्षण उचाइजन्य रोगसँग मिल्दोजुल्दो हुन्छन् । विभिन्न जलवायु र विभिन्न स्तरको सरसफाइ भएका देशमा यात्रा गर्दा मानिस अपरिचित ब्याक्टेरियासँग सम्पर्कमा आउँछ । त्यसैले, हिमाल चढ्नुअघि तल्लो भेगमा केही दिन बिताई शरीरलाई त्यहाँको ब्याक्टेरियासँग अभ्यस्त गराउनु राम्रो हुन्छ । यसबाहेक स्थानीय खाना खानु उपयुक्त हुन्छ । पाङबोचेका एक होटेल व्यवसायी ‘पर्यटकले हामीसँग अनौठा खानेकुरा माग्छन्, अर्थात् पिज्जा, स्पागेटी, सिजर सलाद र त्यसको स्वाद उनीहरूको अपेक्षाजस्तो नभएपछि रिसाउँछन् । यी त हाम्रा परिकार नै होइनन् । उहाँहरूले स्थानीय खाना नै खानुपथ्र्यो’ भन्छन् । यो वसन्त ऋतुमा अन्तर्वार्ता लिएका अधिकांश पदयात्रीले पेटसम्बन्धी समस्या भोगेको बताए । पखालासम्बन्धी संक्रमण आधार शिविर जाने पदयात्रीमा प्रमुख रोग हो । अध्ययनअनुसार १४ प्रतिशत पदयात्री ग्यास्ट्रोइन्टेराइटिस (एकैसाथ पखाला र बान्ता आउने अवस्था) बाट प्रभावित हुने र १० प्रतिशत हेलिकोप्टर उद्धारको कारण यही हुने गर्छ ।

अन्तत: हिमालमा असफलता वा दुर्घटनाको सबैभन्दा सामान्य कारण भनेको आफ्नै क्षमताको अत्यधिक मूल्यांकन गर्नु हो, जसलाई ‘खराब निर्णय लिने प्रवृत्ति’ भनिन्छ । अर्थात्, जब बाटो गाह्रो हुन्छ, गति छिटो हुन्छ, वा अनुकूल हुने समय पर्याप्त हुँदैन । र, यसको सजिलो उपाय भनेको बिस्तारै हिँड्नु र दृश्यहरूको मजा लिनु नै हो । 

(स्केन्जेल अकल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजीमा पर्यटनमा सामाजिक दिगोपनाकी प्राध्यापक हुन्, एपोलो सिलिसिया विश्वविद्यालयका पृथ्वी विज्ञानका सहायक प्राध्यापक हुन्)  द कन्भर्सेसनबाट