
महाराजगन्जमा सरकारी सबै निकायको नक्कली प्रमाणपत्र उत्पादन गर्ने कारखाना फेला परेको छ । काठमाडौं महानगरपालिका– १० का ५२ वर्षीय सफराज खड्काले दुई वर्षदेखि त्रिभुवन विश्वविद्यलाय (त्रिवि), सिटिइभिटी (काउन्सिल फर टेक्निकल इजुकेसन एन्ड भोकेसनल टे«निङ), हाइयर सेकेन्डरी इजुकेसन बोर्ड (एचएसइबी), राष्ट्रिय परीक्षा बोर्ड (एनइबी)जस्ता संस्थाको नक्कली होलोग्राम उत्पादन गर्दै आएको खुलेको छ ।
घटनाको सूचनापछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युुरो (सिआइबी)ले उनलाई गत ३१ असारमा महाराजगन्जबाट पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उनले त्रिवि, सिटिइभिटी, एचएसइबी, एनइबीलगायतका शैक्षिक संस्थाको होलोग्राम मात्र नभई प्रमाणपत्रसमेत नक्कली बनाउँदै आएका थिए । यसका लागि उनले महाराजगन्जमा काराखाना नै खोलेका थिए ।
सिआइबी प्रवक्ता एसपी युवराज खड्काले सफराजको कारखानामा जुनसुकै शैक्षिक संस्थाको नक्कली प्रमाणपत्र बन्ने गरेको बताए । ‘खड्काको महाराजगन्जमा नक्कली प्रमाणपत्र उत्पादन गर्ने कारखाना नै रहेछ । सिआइबीले छापा मारेर गरेको अनुसन्धानपछि उसले वर्षौँदेखि यस्तो धन्दा चलाउँदै आएको खुल्यो । उसको कारखानाबाट भएजति सबै संघसंस्थाको नक्कली प्रमाणपत्र उत्पादन हुने गरेको देखिएको छ,’ उनले भने ।
सिआइबीका अनुसार खड्काले सरकारी कार्यालय मालपोत, नापी, नगरपालिका, वडा कार्यालय, प्रहरी कार्यालय, कर कार्यालय, काठमाडौं जिल्ला अदालतको समेत नक्कली छाप बनाउँदै आएका थिए । प्रहरीले उनको कारखानाबाट विभिन्न राजनीतिक दलका समेत नक्कली छाप बरामद गरेको छ । त्यसबाहेक विभिन्न बैंक, तथा वित्तीय संस्थाको लेटरप्याड, बैंक स्टेटमेन्ट, नक्कली छाप पनि उत्पादन गर्दै आएका थिए । उनीविरुद्ध अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको छ ।