
नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ)को राष्ट्रिय अध्यक्षमा सुदीप घिमिरे निर्वाचित भएका छन् । मञ्चको २१औँ वार्षिक साधारणभाले युवा उद्यमी सुदीप घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
मञ्चको प्रथम उपाध्यक्षमा आभूषण ज्योति कंसाकार, द्वितीय उपाध्यक्षमा नविता प्रधान र महिला उपाध्यक्षमा ऋचा श्रेष्ठ चयन भएका हुन् । साधारणसभाले कार्यसमिति सदस्यहरूमा पवित्रबहादुर गौतम, कृष्ण सापकोटा, युनेशराज श्रेष्ठ, विलासा श्रेष्ठ, सुबिन श्रेष्ठ र अभिमन्यु गोल्छालाई चयन गरेको हो । यसअघि मञ्चको नेतृत्वमा कुशलसुन्दर श्रेष्ठ रहेका थिए ।
मञ्चको नवनिर्वाचित अध्यक्ष घिमिरे एसजी ग्रुपमा एक दशकभन्दा बढी समयदेखि कार्यकारी निर्देशकका रूपमा नेतृत्वदायी भूमिकामा छन् । घिमिरेले सन् २०१९ मा नेपाल युवा उद्यमी मञ्च सुनसरीका संस्थापक अध्यक्षका रूपमा मञ्चको यात्रा सुरु गरेका थिए । सन् २०२० देखि राष्ट्रिय कार्यकारिणी परिषद्को कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए । अध्यक्ष घिमिरेले नवप्रवर्तन, समावेशिता र प्रभावमा केन्द्रित आफ्नो रणनीतिक दृष्टिकोण प्रस्तुत गर्दै मञ्चको उद्देश्य र मूल्यलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मञ्चले यो वर्ष नेपाली युवा उद्यमीलाई अन्तर्राष्ट्रियस्तरमा जोड्ने उद्देश्यसहित छिमेकी मुलुकका युवा उद्यमीसँग रणनीतिक साझेदारी विस्तार गर्ने लक्ष्य राखेको छ । देशभित्रका कलेज, विद्यालय र युवा समुदायसँग सहकार्य गर्दै प्रारम्भिक चरणमै नेतृत्व, उद्यमशीलता र परामर्शको प्रवद्र्धन गर्ने योजना पनि सार्वजनिक गरिएको छ । त्यसैगरी, युवाद्वारा सञ्चालित व्यवसायहरूले भोगिरहेका चुनौतीको पहिचान गर्दै सम्बन्धित निकायसँग सहकार्य गरेर नीतिगत वकालत गर्ने मात्र नभई व्यवसायमैत्री वातावरण सिर्जना गर्ने पनि मञ्चको प्रतिबद्धता रहेको छ ।