
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत् आयोजनाहरूलाई आगामी ३ दिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागबाट यही श्रावण ३, ४ र ५ गते देशभर अत्यधिक वर्षा भई नदीहरूमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्न सक्ने पूर्वानुमान गरेर जलविद्युत् आयोजनामा पूर्वतयारीका लागि पूर्वसूचना दिएपछि इप्पानले प्रेस विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो।
इप्पान र जल तथा मौसम विज्ञान विभागबिच बाढीको पूर्वसूचना आदानप्रदान गर्ने सम्झौता अनुसार विभागले यस सम्बन्धमा इप्पानलाई पूर्वतयारीका लागि निरन्तर सूचना आदानप्रदान गर्दै आएको छ ।
विभागका अनुसार श्रावण ३ गते साँझदेखि ४ गते बिहानसम्म पूर्वी नेपालमा भारी वर्षा हुनेछ । पूर्वी नेपालमा कोशी, तामोर, अरुण, तामाकोशी, दुधकोशी, कन्काईलगायतका नदीहरूमा बाढी आउन सक्ने सम्भावना अत्यधिक छ । कोशी नदी सतर्कता तहनजिक वा पार गर्न सक्ने स्थितिमा पुग्न सक्नेछ। पूर्वी नेपालबाट सक्रिय हुने मौसमी प्रणाली पश्चिम नेपालतर्फ अघि बढ्नेछ । ४ गते बेलुका बागमती नदीमा बाढी आई काठमाडौं उपत्यका र तल्ला तटीय क्षेत्र प्रभावित हुनेछन् भने ४ गते बेलुकादेखि ५ गते दिउँसोसम्म महाकाली नदी र त्यसको तटिय क्षेत्रमा बाढी आउन सक्ने सम्भावना उच्च रहेको छ।
यसपटकको मौसमी प्रणालीले मध्यनेपालमा बागलुङ, म्याग्दी, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी, रूपन्देहीलगायतका जिल्लामा असर पर्नेछ, जसले नारायणी जलाधारको मध्यपहाडदेखि तल्लो तटसम्मलाई प्रभावित गर्नेछ । पश्चिममा राप्ती र बबई क्षेत्रमा पनि मध्यमस्तरको प्रभाव पर्ने सम्भावना छ भने महाकाली क्षेत्रमा श्रावण ४ गते बेलुकादेखि ५ गते मध्याह्नसम्म बढी सतर्कता अपनाउनु आवश्यक रहेको जलतथा मौसम विज्ञान विभागलाई उदृत गर्दै इप्पानले जानकारी दिएको छ ।
मौसमसम्बन्धी पूर्वसूचनाहरू लिएर इप्पानमा आबद्धसहित देशभरका सम्पूर्ण निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूलाई विपद्बाट हुन सक्ने सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि पूर्वतयारीका कार्य अघि बढाउन इप्पानले आग्रह गरेको छ।
गत असार २४ गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजनाहरूमा ठुलो क्षति पुर्याएको घटनाका साथै विगतका वर्षहरुमा पनि बाढी पहिरोले जलविद्युत् आयोजना निर्माणमा संग्लग्न धेरै कर्मचारीहरूले ज्यान गुमाउनुका साथै आयोजनामा निकै ठुलो भौतिक क्षति भई वर्षौँसम्म विद्युत् उत्पादन बन्द गर्नुपरेको घटनालाई स्मरण गराउँदै आगामी दिनमा यस्ता घना दोहोरिन नदिन इप्पानले आग्रह गरेको छ।
इप्पानले विपदको वेलामा सबैभन्दा पहिला मानवीय क्षति हुन नदिन जलविद्युत् आयोजनाका प्रवर्द्धकहरूलाई आग्रह गरेको छ । त्यसका लागि सबै नदि करिडोरका माथिल्लो भागमा निर्माण भएका जलविद्युत् आयोजनाहरूले बाढी आएको देखिसकेपछि तल्लो तटीय क्षेत्रमा निर्माण भएका आयोजनाहरूलाई समयमै बाढीको सूचना दिएर सञ्चालनमा रहेका आयोजनाहरू भए विद्युत् प्राधिकरणलाई समेत सोको जानकारी गराई आयोजनाका गेटहरू बन्द गरी सुरक्षित स्थानमा जानका लागि सहकार्य गर्न पनि इप्पानले सबै जलविद्युत् प्रवर्द्धकहरूसँग आग्रह गरेको छ ।
बाढी आएको सूचना सबैभन्दा पहिला मौसम विज्ञान विभागका गेज स्टेसनमा बस्ने कर्मचारीहरूलाई प्राप्त हुने हुँदा जलविद्युत् आयोजनाका जिम्मेवार व्यक्तिहरूले उनीहरूसँग समन्वय गरी नदी करिडोरमा बस्ने स्थानीय बासिन्दाहरूको जिउधनको सुरक्षाको लागिसमेत स्थानीयस्तरमा सूचनाको आदानप्रदान गरिदिन पनि सबै जलविद्युत् प्रवर्द्धकमा इप्पानले आग्रह गरेको छ।
बाढीबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्दागर्दै पनि कहीँकतै मानवीय तथा भौतिक क्षति हुन गइहालेमा सो को जानकारी इप्पानमा गराइदिन पनि विज्ञप्तिमा आग्रह गरिएको छ।