
बर्दियाको मधुवन नगरपालिका, १ डल्लामा रहेको डल्ला मध्यवर्ती सामुदायिक वन र शिव सामुदायिक वनमा निकुञ्जले गस्ती बढाएको छ । डल्ला मध्यवर्ती सामुदायिक वन र शिव सामुदायिक वनको बाटो भएर खाता जैविक मार्ग भएर आवतजावत वन्यजन्तकोु संख्या र गतिविधि बढेसँगै निकुञ्जले गस्ती बढाएको हो ।
वनमा हुन सक्ने अवैध गतिविधि रोक्नका लागि निकुञ्जले ३ वटा हात्तिको प्रयोग गरी गस्ति गरिरहेको छ । भने निकुञ्जका कर्मचारी र नेपाली सेनाले सादा पोसाकमा गस्ती बढाएको छ । चोरी सिकारी नियन्त्रण युवा परिचालन अभियानका अभियन्ताहरूले समेत निगरानी बढाएका छन् । डल्लामा वन्यजन्तु सजिलै देखिएको भएको हुँदा त्यहाँ आउने पर्यटकको संख्यासमेत बढिरहेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक रामले डल्लामा वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसेमैदान र पानीको राम्रो व्यवस्थापन भएकोले डल्लाका चितल र रतुवा गैडा, हात्ती र पाटेबाघ देखिन थालेको बताए । उनले भने, ‘पाटेबाघको कोर एरिया हुने भएकोले जहाँ पायो त्यहाँ बाघ जाँदैन। तर, हात्ती, गैँडा आवतजावत गरिरहने भएको पनि वन्यजन्तु डिस्टब नहोस र अवैध गतिविधि हुन नपाओस् भनेर गस्ती बढाएको छ ।
विशेष गरी यो वेलामा हात्तीको बथान यहीँ बाटो भएर हिँड्ने गर्छ । वन्यजन्तुको संरक्षण तथा सुरक्षा लागि २४ घण्टा नै गस्ती गर्न थालिएको छ ।’ डल्ला मध्यवर्ती सामुदायिक वन र शिव सामुदायिक वनमा एक हप्तादेखि लगातार पाटेबाघ र गैँडा देखिएको छ भने हात्तीका बथानसमेत वेला वेलामा देखिने गरेको प्रकृति पद प्रर्दशक दिनेश आचार्यले बताए ।