मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३ शनिबार
  • Saturday, 19 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ३ शनिबार १७:३८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

काठमाडौं महानगरपालिकाको छात्रवृत्ति परीक्षामा १४ हजार विद्यार्थी सहभागी, आइतबारसम्ममा नतिजा प्रकाशन हुने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ३ शनिबार १७:३८:oo

काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र ०८२-८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आयोजित प्रवेश परीक्षा  शनिबार सम्पन्न भएको छ। परीक्षामा १४ हजार एक सय ७३ जना सहभागी भएको र आइतबारसम्म नजिता प्रकाशनको तयारी भइरहेको महानगरपालिकाले जनाएको छ। 

शनिबार बिहान  ८ देखि १०  बजेसम्म ५४ वटा परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन भएको थियो। महानगरको शिक्षा विभागका अनुसार देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी छनोट भएका थिए। तीमध्ये १४,१७३ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका हुन्। 

परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा गणित, विज्ञान र अंग्रेजी विषयबाट ३०-३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्नहरू सोधिएका थिए। गलत उत्तरका लागि नकारात्मक अंकन नहुने र उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक आवश्यक रहेको शिक्षा विभागले जनाएको छ। 

 ओएमआर प्रणालीद्वारा उत्तरपुस्तिका जाँच
परीक्षाको उत्तरपुस्तिका अप्टिकल मार्क रिकग्निसन(ओमएआर) प्रणालीमार्फत जाँच भइरहेको महानगरपालिकाले जनाएको छ। यो प्रणालीमा मेसिनले उत्तरपुस्तिकालाई स्क्यान गरी स्वचालित रूपमा जाँच गर्छ, जसले परिणामको शुद्धता र पारदर्शिता सुनिश्चित गर्ने बताइएको छ। सहरी योजना आयोगका सहायकविज्ञ सस्मित पोखरेलका अनुसार उत्तरपुस्तिका जाँच्ने काम सुरु भइसकेको छ र आइतबार बिहान महानगरको आधिकारिक वेबसाइटमार्फत नतिजा प्रकाशित हुनेछ । 

काठमाडौं महानगरपालिकाले १६० संस्थागत विद्यालयहरूमा करिब ४ हजारभन्दा बढी छात्रवृत्ति सिटमा छात्रवृत्ति उपलब्ध हुने पोखरेलको भनाइ छ। यी सिटहरूमा ४०% सामुदायिक विद्यालयबाट अध्ययन गरेका विद्यार्थी, ५% संस्थागत विद्यालयमा छात्रवृत्तिमा पढेका विद्यार्थी, १४% काठमाडौं महानगरपालिकाका स्थायी बासिन्दा र १% ल्यान्डफिल प्रभावित क्षेत्रका विद्यार्थीहरूलाई प्राथमिकता दिइएको छ। यसका अतिरिक्त, महिला, दलित, आदिवासी-जनजाति, मधेसी, थारू, मुस्लिम, अपांगता भएका व्यक्ति, पछौटे क्षेत्रका बासिन्दा र सहिद-बेपत्ता परिवारका लागि आरक्षण कोटा पनि छुट्याइएको छ। 

परीक्षापश्चात् ओमएमलाई मेसिनबाट स्क्यानिङ र रुजु गरी योग्यताक्रम प्रकाशन गरिनेछ। अन्तिम नामावली प्रकाशन गरी छात्रवृत्ति परीक्षाको नतिजा विद्यार्थीले फाराम भर्दा रोजेको विषय र विद्यालयको प्राथमिकताका आधारमा योग्यताक्रमअनुसार भर्ना नतिजा सूची प्रकाशन गरिने  विभागले जनाएको छ। विषयगत रूपमा विद्यालयमा भर्नाका लागि पूर्वमनोनयन गरिने महानगरले जनाएको छ।

पूर्वमनोनयनमा आफूले अध्ययन गर्न चाहेको विषय र कलेजमा मनोनयन भएको आधारमा ३ दिनभित्र भर्ना भइसक्नुपर्ने प्रावधान छ। तोकिएको मितिभित्र भर्ना नभएर रिक्त रहेका सिटहरूमा बाँक विद्यार्थीहरूको योग्यताक्रमका आधारमा दोस्रो सूची प्रकाशन हुनेछ। यो सूचीमा पनि रोजाइअनुसारको विषय र कलेजमा भर्ना हुन नसकेमा, प्रवेश परीक्षाको योग्यताक्रमका आधारमा रिक्त सिटमा र्‍यापअप कोटामा मनोनयनका लागि पुनः योग्यताक्रमका आधारमा रोजाइका लागि सूचना प्रकाशित गरी छनोट गरिने शिक्षा विभागले जनाएको छ।