मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३ शनिबार
  • Saturday, 19 July, 2025
२o८२ श्रावण ३ शनिबार १२:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हलगोरु पाल्ने २७५ किसानलाई गाउँपालिकाको अनुदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ३ शनिबार १२:२६:oo

तनहुँकाे म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष ०८१/८२ मा हलगोरु पाल्ने २७५ कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ । पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि प्रतिहलगोरुलाई चार हजारका दरले कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको हो ।

कृषकलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम राखिएको गाउँपालिकाका पशु सेवा उपशाखाका पशु विकास अधिकृत मुक्ति राम पौडेलले जानकारी दिए । उनले भने, ‘गाउँपालिकामातहत रहेका सातवटा वडा कार्यालयमध्ये यस गत आवमा १ देखि ४ नम्बर वडाका उक्त संख्याका हलगोरु पाल्ने कृषकलाई अनुदान दिएका हौँ, अनुदानमा ११ लाख खर्च भएको छ ।’ उनका अनुसार आव २०८२-८३ का लागि ५ देखि ७ नम्बर गरी तीन वडाका कम्तीमा ४०० हलगोरु पाल्ने कृषकलाई अनुदान दिइने योजना रहेकाले सोहीअनुरूप बजेट समेत विनियोजन गरिएको छ ।


गाउँपालिकाले सातवटै वडाका कृषकलाई प्रोत्साहनस्वरूप अनुदान दिँदै आएको छ । गोरु पाल्ने कृषकलाई बर्सेनि नदिई एक–एक वर्षको अन्तरालमा अनुदान दिइने गरिएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गोरु पाल्ने प्रचलन घट्दै जाँदा खेतबारी बाँझो हुन थालेपछि जग्गा बाँझो हुन नदिन यस किसिमको कार्यक्रम ल्याइएको बताए ।

उनले भने, ‘प्रोत्साहन रकमले हलगोरु पाल्ने कृषकको संख्या बढ्दै गएको छ, गोरु पाल्ने क्रम बढेसँगै खेतबारी बाँझो राख्ने पराम्परा पनि हट्दै गएको छ, कार्यक्रम प्रभावकारीसमेत बन्दै गएको छ।’

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गोरुको प्रोत्साहनका लागि उपलब्ध गराइएको रकम गोरुको पोषणका लागि खर्च गर्न कृषकलाई सुझाव दिने गरिएको बताए। यसरी अनुदान पाउने कृषकका गोठमा स्थलगत अनुगमन गरी गोरुलाई ‘ट्यागिङ’ गर्ने गरिएको सो गाउँपालिकाले जनाएको छ। (रासस)