
दार्चुलाकी पुष्पा धामीको गाउँभन्दा माथि एउटा मात्रै गाउँ छ । त्यो गाउँपछि अर्को गाउँ खोज्ने हो भने अर्कै देश तिब्बत पुग्नुपर्छ । तलतिर झर्ने हो भने पनि सडक, गाडी, बजार देख्न घन्टौँ पैदल हिँड्नुपर्ने हुन्छ । तर, उनलाई यो सबैको कुनै पर्वाह छैन । भौतिक सुख–सुविधासँग कुनै लगाव छैन । धार बदल्न भुलेको नदीझैँ उनी ३३ वर्षदेखि अनवरत रूपमा लागिरहेकी छिन्, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका रूपमा ।
आधारभूत स्वास्थ्यबारे कति पनि जानकारी नहुँदै पुष्पा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका बनेकी थिइन् । जतिवेला बच्चा जन्माउन नसकेर आमाको मृत्यु हुनु, बच्चा सकुशल जन्मिए पनि सालनाल अड्किएर आमाको मृत्यु हुनु अथवा गर्भमै शिशुको मृत्यु हुनु, घरमै सुत्केरी गराउनु सामान्य थियो । आधारभूत स्वास्थ्य सचेतनाबारे समेत गाउँ शून्य अवस्थामै थियो । त्यहीआसपास सुरु भयो, मातृ तथा बाल स्वास्थ्य सुधारका नाममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम । कार्यक्रम सम्पन्न गर्न विभिन्न योग्यतासहित महिला हुनु आवश्यक थियो । योग्यतामध्येमा कम्तीमा १० कक्षा पास गरेको हुनुपर्ने, तर हिमाली, दुर्गम र सेवाबाट वञ्चित क्षेत्रमा आधारभूत शिक्षा पाएको हुनुपर्ने थियो । गाउँभर योग्य मान्छे खोज्ने क्रममा सात कक्षा पास भएकैले उनकै काँधमा आइपुग्यो, यो जिम्मेवारी । ‘एसएलसी पास गरेकालाई स्वयंसेविका बनाउने भनेर गाउँभर खोजी भयो । खासै काम नहुने हुनाले नि:शुल्क काम गर्नुपर्ने भन्ने थियो । तर, गाउँमा काम गर्न सक्ने मात्र होइन, पढेको पनि मान्छे खोज्दाखोज्दा कोही भेटिएन । त्यसैले नि:शुल्क भए पनि मै हुन्छु भनेर काम सुरु गरेको थिएँ,’ पुष्पाले भनिन् ।
घरखेती सम्हालेर बसेकी उनलाई लागेको थियो, पैसा पनि हुन्न र काम पनि हुन्न होला । तर आधारभूत तालिमपश्चात् सामुदायिक स्वास्थ्यसम्बन्धी ज्ञान त बढ्यो नै, त्योभन्दा धेरै काम गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भयो । त्यसपछि घर व्यवहार र भर्खर एक वर्षको छोरा बोकेर कहिले स्वास्थ्य चौकी, कहिले गाउँघर कुद्नु उनको दैनिकी बन्यो । कहिले भिटामिन, कहिले हात्तीपाइले त कहिले आइरन चक्की खुवाउन घरघर जान थालिन् । दु:ख, कष्टका बाबजुद काममै रमाउन थालिन् । घरघरै पुगेर खुवाउनुपर्ने ती औषधि खण्डेश्वरीस्थित स्वास्थ्यचौकीसम्म पुगेर ल्याउनमै उनको जान–आउन गरेर आठ–नौ घण्टा बित्थ्यो । अर्थात्, स्वास्थ्य चौकीबाट औषधि लिएर घर फर्कंदा एक दिन बित्थ्यो । भिटामिन वर्षको दुईपटक ६ र ७ वैशाख र २ र ३ कात्तिकमा खुवाउने तालिका हुन्थ्यो । हात्तीपाइले रोगविरुद्धको औषधि मंसिर, पुसतिर खुवाइने तालिका थियो । उनले ती औषधी खुवाउन घाम, पानी, हिउँ, पहिरो, दिन, रात केही भनिनन् । ‘बिहान ५ बजे निस्केर बेलुका ७–८ बजे घर पुगिन्थ्यो । तैपनि, एकैदिनमा गाउँका सबै घर पुग्न सकिँदैनथ्यो,’ पुष्पाले भनिन्,‘कहिलेकाहीँ कात्तिकमै हिउँ पथ्र्याे । हिउँ कम्मर कम्मरसम्म आउँथ्यो । हिँड्नै अप्ठ्यारो हुन्थ्यो । हिउँ धेरै पर्ने पुस–माघकै वेला हात्तीपाइलेविरुद्धको औषधी पनि खुवाउनुपथ्र्याे । जतिसुकै अप्ठ्यारो भए पनि आफ्नो काम त भ्याउनुपर्यो भनेर जान्थेँ ।’
त्यसपछि बर्थिङ सेन्टर
उबेला पुष्पाले भिटामिन खाइनन् । जुकाको औषधी पनि खाइनन् । कुनै खोप लगाइनन् । सुत्केरी हुन स्वास्थ्य चौकी अथवा अस्पताल धाइनन् । यी सबैबारे कति पनि जानकारी पाइनन् । तर, उनको जिम्मा थियो, आफूपछिका पुस्तालाई उक्त सुविधा लिनका लागि तयार गराउने र सुविधा दिने वातावरण बनाउने । उनले यी सुविधा प्रदान गर्नका लागि काम गरिन् नै, कमजोर र कुपोषण भएका बालबालिकालाई गेडागुडी, हरियो सागपात खुवाउनुपर्छ भनेर पनि सिकाइन् । यी कुरा सिकाउने क्रममा उनलाई राम्रो भन्ने भन्दा नराम्रो भन्ने धेरै थिए । ‘हरियो सागपात खुवाउनुपर्छ भनेर सिकायौँ । तर, उनीहरूले एकैदिन धेरै बनाउँथे । एक दिन मात्र खान दिन्थे । त्यसैले नतिजा शून्य हुन्थ्यो । स्वंयसेविकाले हरियो सागपातमा भिटामिन पाइन्छ भन्थे । हिजो बनाएर खाएको हो । केही पाइएन भनेर थर्काउन आउँथे,’ सुरुवाती दिनलाई सम्झँदै उनले भनिन् । तर, आजकल ती दिन बिदा भएको र गाउँलेलाई बुझाउन सजिलो भएको उनले बताइन् ।
यी सबै गर्ने क्रममा उनीलगायत साविकको खण्डेश्वरी गाविसका नौवटै वडाका स्वास्थ्य स्वयंसेविकाले बर्थिङ सेन्टर बनाउन पहल गरे । वडा नम्बर २ को तर्फबाट उनले पहल गरिन् । किनभने, सुत्केरी गराउन चार घन्टाको बाटो हिँड्नुपर्ने भएकाले धेरै आमाहरूले ज्यान गुमाएका थिए । उनी आफैँले सालनाल अड्किएर आमाको मृत्यु भएको देखेकी थिइन् । शिशुको अवस्था पनि उस्तै थियो । खण्डेश्वरीमा रहेको स्वास्थ्य चौकीसम्म पुग्न पनि हिउँ, पानी पर्ने याममा गाह्रै थियो । जुन उनीहरूले टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था थियो । यसका लागि उनीसमेतले पहल गरे । केही रकम सहयोग पनि गरे । ‘घरमै बच्चा जन्माउँदा साल अड्किने, बच्चा पेटमै मर्ने, आमा र बच्चालाई गाह्रो हुने र मृत्यु नै हुने अवस्था भयो । बर्खामा हिउँ पर्ने भएकाले आमा र बच्चाको ज्यान जोखिममा थियो,’ उनले भनिन्, ‘मैले आमा समूहको बैठकमै सबै कुरा राखेँ । त्यसपछि गाउँमा भएको उपस्वास्थ्य चौकीमा पनि कुरा राख्यौँ । बर्थिङ सेन्टर बनाउन पाँच सय, एक हजार गरेर रकम पनि जम्मा गर्याैं । एउटा संस्था र पालिकाले पनि सहयोग गर्यो । सबैले पहल गरेपछि बर्थिङ सेन्टर सञ्चालनमा आयो ।’ अहिले अपि हिमाल गाउँपालिकाका वडा २ र ३ का महिला सुत्केरी गराउन सेन्टरमै पुग्छन् । मातृ र शिशु स्वास्थ्यमा आकाश–जमिनको फरक आएको छ । ५–६ वर्षदेखि नराम्रो खबर उनको कानमा परेको छैन । गाउँपालिकाले पनि आगामी आर्थिक वर्षको बजेटमै स्वास्थ्य सेवा केन्द्र एवं बर्थिङ सेन्टरलाई थप व्यवस्थित र सुविधा सम्पन्न गर्न जोड दिने भनेको छ । यसका लागि ३० लाख बजेटसमेत विनियोजन गरेको छ ।
छैन सुविधा
पहिले गाउँका महिलाले ८–१० वटासम्म बच्चा जन्माउँथे । धेरै स्थानीय कृषिमै आश्रित थिए । छोराछोरीलाई पनि कृषि कर्ममै लगाउँथे । तैपनि खान–लाउन धौधौ थियो । बालबालिका लेखाउन, पढाउन र थप सुविधा प्रदान गर्न हम्मेहम्मे थियो । त्यसैले पुष्पाले धेरै बच्चा जन्माउनु हुन्न भनेर गाउँमा चेतना फैलाइन् । परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न प्रेरित गरिन् । परिवार नियोजनका फाइदाबारे महिलालाई बताइन् । यसको सुरुवात आफैँबाट गरिन् । ५२ वर्षे उनी आफैँले तीन बच्चा भएपछि बन्ध्याकरण गरिन् । आफैँ अभिभावक बनेर सदरमुकाम खलंगा, खण्डेश्वरीको स्वास्थ्य चौकीसम्म लगेर बन्ध्याकरण गराइन्, जो परिवार नियोजनका साधन आइयुसिडी, इमप्लान्ट, पिल्स, डिपो सुईजस्ता साधन प्रयोग गरिरहेका थिए । ‘दुई छोरा एक छोरी भएपछि मैले बन्ध्याकरण गरेँ । आजकल डिपो, पिल्स, कण्डमले मात्र केही हुँदैन भनेर मैले नै आठ–दश जनालाई खलंगा, खण्डेश्वरी लगेर बन्ध्याकरण गराएको छु,’ उनले भनिन् ‘धेरै बच्चा भएपछि लाउन–खान समस्या पर्छ । लेखाउन–पढाउन समस्या पर्छ । आमा र बच्चाकै स्वास्थ्य राम्रो हुँदैन भनेर सम्झाएँ । यसको प्रत्यक्ष र अप्रत्यक्ष मारमा पर्ने महिला नै हुन् भनेर सम्झाएँ । त्यसपछि धेरै महिलाले यो कुरालाई मनन पनि गरे ।’
गत २१ मंसिरमा विविध स्वास्थ्य क्रियाकलापमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता भन्ने नाराका साथ २१औँ सामुदायिक महिला स्वयंसेविका दिवस मनाइएको छ । समुदायमा स्वास्थ्य सचेतना फैलाउन र स्वस्थ्य समाज निर्माणमा उनीजस्ता धेरै स्वास्थ्य स्वयंसेविकाको महŒवपूर्ण भूमिका छ । जुन नतिजाले नै प्रमाणित गरेको छ । तर, उनीहरूको सेवा–सुविधामा भने खासै परिवर्तन आउन सकेको छैन । पोसाक भत्ताले नै चित्त बुझाउँदै आएका छन् । उनीहरूले गाउँपालिकालाई तलबभत्ताको व्यवस्था गरिदिन आग्रह गरे पनि अझै तलबभत्ता पाउन सकेका छैनन् । ‘हामीलाई केही दिँदैनन् । काम मात्र दिन्छन् । पहिले जिल्लाले पोसाक भत्ताबापत सात हजार दिने गरेको थियो । अहिले पालिकाले ६ हजार दिन्छ । पालिकाले तलब दिने भन्थे दिएका छैनन्,’ उनले दुखेसो पोखिन् ।
उनीजस्ता स्वास्थ्य स्वयंसेविकाले आमा समूहको बैठक सञ्चालन गर्ने, अभिलेख तथा प्रतिवेदन, खोप तथा गाउँघर क्लिनिक तथा स्थास्थ्य अभियानमा सहयोग, स्वास्थ्य, पोषण, सरसफाइ शिक्षा प्रदान, स्वास्थ्य संस्थामा प्रेषण र व्यक्तिगत तथा पारिवारिक सल्लाहजस्ता काम गर्नुपर्छ । स्वास्थ्य स्वयंसेविका कार्यक्रम समुदायले स्वास्थ्य प्रवद्र्धन गर्ने साझा कार्यक्रम हो । कार्यक्रमले अन्तरव्यक्ति सञ्चार तथा समुदाय परिचालनको माध्यमबाट समुदायमा रहेका महिला, पुरुष, नवजात शिशु, बालबालिका, किशोर–किशोरी, युवायुवती तथा ज्येष्ठ नागरिकको स्वास्थ्य तथा सरसफाइसम्बन्धी ज्ञानमा र धारणामा सकारात्मक परिवर्तन गरी व्यवहारमा लागू गर्न सहजीकरण गर्छ । स्वास्थ्य स्वयंसेविकाले हरेक महिना स्वास्थ्य आमा समूहको बैठक सञ्चालन गर्ने, समुदायमा स्वास्थ्य पोषण, सरसफाइ शिक्षाको प्रवद्र्धन गर्ने, परिवार योजना, सुरक्षित मातृत्व, किशोरकिशोरी, यौन तथा प्रजनन स्वास्थ्य, नवजात शिशु स्याहार, खोप कार्यक्रम, पोषण, सरुवा तथा महामारी रोग, श्वासप्रश्वास तथा झाडापखाला नियन्त्रण, मानसिक स्वास्थ्य, नसर्ने रोगको रोकथाम, वातावरणीय सरससफाइ र विपत् व्यवस्थापन विषयमा स्वास्थ्य शिक्षा प्रदान गर्छन् ।
सुनौला हजार दिनका आमा तथा शिशु भएका घर परिवारको सामाजिक नक्सांकन गर्ने, आवश्यकताअनुसार सेवाका लागि स्वास्थ्य संस्थामा प्रेषण गर्नुपर्छ, आफूले गरेको कामको अभिलेख तथा प्रतिवेदन भर्नुपर्छ, खोप तथा गाउँघर क्लिनिक तथा स्वास्थ्य अभियानमा सहयोग गर्ने, प्राथमिक उपचार, उचित सल्लाह र आवश्यक भएमा प्रेषण गर्ने, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले समुदायको स्वास्थ्य सुधार गर्ने कामका लागि धेरै संस्था वा व्यक्तिको सहयोग लिने, स्वास्थ्य स्वयंसेविकाले आमा समूह, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, स्थानीय शिक्षक, औषधी व्यवसायी, सामुदायिक कार्यकर्ता, स्थानीय संगठन, नगारिक समाज र स्थानीय तहको सहयोग लिएर काम गर्ने काम उनीहरूको कार्यक्षेत्र हुन् ।
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि योजनाअन्तर्गत ०४५ सालदेखि यो कार्यक्रम सुरु भएको हो । स्वास्थ्य स्वयंसेविकाहरूको परिचालन तथा व्यवस्थापन गर्ने कार्य हाल सम्बन्धित स्थानीय तहअन्तर्गत छ । पछिल्लो समय उनीहरूको कार्यक्षेत्रको दायरा भने फराकिलो हुँदै आएको छ । कम्तीमा आधारभूत तह हासिल गरेको व्यक्ति स्वास्थ्य स्वयंसेविका हुने व्यवस्था रहेको छ । मातृ स्वास्थ्य, बाल स्वास्थ्य, सरुवा रोग नियन्त्रण सम्बिन्धत ज्ञान र सीप प्रदान गरिन्थ्यो । तर, अहिले नसर्ने रोग, मानसिक स्वास्थ्य, माहामारी तथा विपत् व्यवस्थापनजस्ता तालिम प्रदान गरेर काम हुँदै आएको छ । राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति, ०६७ (पहिलो संशोधन, ०७६) अन्तर्गत विभिन्न काम हुने गरेको छ । सोहीअनुसार स्वास्थ्य स्वयंसेविकाले काम गर्दै आएका छन् ।
आँखा देखुन्जेल काम गर्ने रहर
पुष्पाको उमेर ढल्किँदै छ । तर, पेसाप्रतिको उनको लगाव भने बढ्दै गएको छ । सेवा–सुविधा आस गर तर भर नपरको अवस्था छ । तर, उनको रहर भने अझै कायम छ । प्रवेशिका परीक्षा पास गरेकालाई मात्रै स्वास्थ्य स्वयंसेविका राख्ने भन्ने व्यवस्थापछि उनले कान्छो छोराभन्दा पनि पछाडि ४० वर्षको उमेरमा प्रवेशिका पास गरिन् । त्यतिवेला उनलाई श्रीमान्ले मात्र होइन, कान्छो छोराले समेत जाँच नदिए हुन्थ्यो, लाज हुन्छ भने । ‘म पढ्दा केको लाज हुन्छ भनेर जिद्दी गरेर पढ्न गएँ । प्राइभेट जाँच दिएँ । पास पनि भएँ । इन्टर (प्रवीणता प्रमाणपत्र तह) त गर्ने भनेको हो । तर, बुढाले ४० वर्ष कटिगो । अब के नोकरी पाउँछ ? नपढ् भने र मैले पढिनँ । डडेल्धुरामा गएर पढेर प्राइभेट मेडिकल खोल्ने सोच थियो । तर, बुढाले मानेनन् । त्यही भएर मैले छोडेँ,’ उनले भनिन् ।
सुरुवाती दिन फर्केर हेर्दा उनलाई आफूले अहेव र अनमीले झैँ काम गरेकोजस्तो लाग्छ । ‘अहेव र अनमीले झैँ काम गरेँ भन्ने लाग्छ,’ उनले भनिन्, ‘धेरै काम गर्न नसके पनि आजकल सबैले बर्थिङ सेन्टर, स्वास्थ्य चौकीमा गएर बच्चा जन्माउने भएका छन् । ५–६ वर्षजति भयो, अहिले नराम्रो खबर सुन्न परेको छैन । स्वास्थ्यमा मान्छेहरू हेलचेक्य्राइँ गर्दैनन् । मान्छेहरूमा स्वास्थ्य सचेतना बढेको छ । यी सबैलाई हेर्दा केही त गरेँ कि भन्ने लाग्छ ।’
अचेल उनीसँगै स्वास्थ्य स्वयंसेविका भएर गाउँगाउँ हिँडेकाहरूले अवकाश पाउन थालेका छन् । ६० वर्षे उमेर हदका कारण असार अन्तिम साता उनीसँगै हिँड्ने एकजना स्वास्थ्य स्वयंसेविकाले पनि अनिवार्य अवकाशमा जाँदै छिन् । उनको पालो पनि सात वर्षपछि आउँदै छ । तर, उनलाई आँखा देखुन्जेल काम गर्ने रहर छ । ‘काम गर्ने वेला बच्चा बोकेरे धेरैपटक विभिन्न ठाउँमा पुगेँ । धेरै अप्ठ्यारा अवस्था पार गरियो । अब छोड्नुपर्छ भन्छन्, कसरी छोड्ने ? अब त आँखा देखुन्जेल काम गर्ने हो,’ उनले भनिन्, ‘सकेसम्म नछोडौँ जस्तो लाग्छ । तर, अब केही वर्षमा छाड्नैपर्छ । के–के सिकिन्थ्यो । के–के काम गरिन्थ्यो भन्ने लागिरहन्छ होला ।’
हाल वडा नम्बर ३ पाथामा पाथा उपस्वास्थ्य चौकी पनि छ । जहाँ, एकजना अनमी, अहेव र दुईजना कार्यालय सहयोगी गाउँपालिकाले राखेको छ । बर्थिङ सेन्टरमा थप सुविधा थपिएको छ । मान्छेहरूमा आधारभूत स्वास्थ्य ज्ञान बढेको छ । त्योबाहेक अहिले धेरै सुविधा उनको गाउँ पाखासम्म पुगेको छ । यसले पुष्पालाई पुलकित बनाउँछ । जीवनको कुनै समयमा गरेका धेरै कष्टहरू क्षणभरमै पानीको फोकाझैँ बिलाएर जान्छ ।