
वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय अभियान शुक्रबारदेखि एकीकृत समाजवादी पार्टीमा समाहित भएको छ । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गौतमसहित अभियानका पदाधिकारीलाई पार्टीमा समाहित गरेका हुन् ।
नेकपा विभाजनसँगै चार वर्षअघि १८ भदौ ०७८ मा गौतमले एमाले परित्याग गरेका थिए । त्यसअघि २५ पुसमा ०७७ मै उनले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए । तर, पार्टी भने घोषणा गरेका थिएनन् ।
गौतमले एमाले र एकीकृत समाजवादीमा समाहित हुनका लागि निरन्तर प्रयास गरेका थिए । उनले माओवादीदेखि रास्वपासँगसमेत संवाद गर्दै आएका थिए । १७ पुस ०८१ मै एकीकृत समाजवादीमा समाहित हुने सहमति गरेका उनी बिचमा एमाले अध्यक्ष केपी ओलीसँग संवाद गरेपछि बदलिएका थिए । गौतमले ४ माघमा एमाले अध्यक्ष ओलीसँग लामो वार्ता गरेपछि एमालेमा प्रवेश गर्ने निश्चित भएको सार्वजनिक गरेका थिए । त्यसवेला एकीकृत समाजवादीमा जाने सहमति तोडेर एमाले जाने निष्कर्ष निकालेका गौतमले बृहत् एकताका लागि एमाले रोजेको सार्वजनिक गरेका थिए । एमालेमा जाने स्थान र मिति भने ओलीले तय गर्ने गौतमको भनाइ थियो । तर, एमाले केन्द्रीय सचिवालयले ९ माघमा पार्टी एकता नभएर राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्ने निर्णय गरेको थियो । त्यसपछि बिच्किएका गौतमले एकीकृत समाजवादीसँग एकताका लागि पुन: संवाद थालेका थिए । वरीयतामा गौतम तेस्रो नेता भएका छन् । अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनालपछिको वरीयतामा गौतमलाई राख्ने सहमति भइसकेको छ ।
शुक्रबार आयोजित एकता सभामा गौतमले चार वर्षको प्रयासमा आफू एकीकृत समाजवादीमा आउन सफल भएको र असाध्यै खुसी भएको बताए । ‘एकीकृत समाजवादीमा आइपुग्न चार वर्ष लाग्यो । चार वर्षपछि मैले भनेजसरी हामी एकीकृत हुँदै छौँ,’ गौतमले भने, ‘आज ज्यादै खुसी छु । म धेरै कुरा व्यक्त गर्न सक्दिनँ । एकीकृत समाजवादीमा एकीकृत हुन चार वर्षदेखि यात्रा सुरु गरेँ, तर पूरा भएको थिएन । आज पूरा भएको छ ।’
गौतमले आफू एक्लै नगएको पनि एकता सभामा बताए । ‘म एक्लै आएको छैन । ७५ सदस्यीय केन्द्रीय कमिटी सदस्यको समर्थन, उपत्यका प्रदेश कमिटी र नौ जिल्ला कमिटीको समर्थन बोकेर आएको छु,’ उनले अभियानको सांगठनिक अवस्थाबारे भने । गौतमले आफ्नै जीवनकालमा समाजवाद देख्न चाहेको पनि बताए ।
‘मेरो जीवनमा समाजवाद देख्न पाएँ भने, मैले प्रयास गरेको समाजवादी पद्धति देख्न पाएँ भने मेरो जीवन पूर्ण रूपमा सफल भएको ठान्नेछु,’ गौतमले भने, ‘आवश्यक परे यी हात अहिले पनि समाजवादका लागि हतियारका रूपमा प्रयोग गर्छु । आन्दोलनको व्यक्ति हुँ, नेता हुँ । मैले गरेको आन्दोलन अहिलेसम्म असफल भएको छैन ।’ उनले नेपालको संविधानमा लोकतान्त्रिक, मूल्य–मान्यतामा आधारित समाजवाद उल्लेख भएअनुसार अघि बढ्ने पनि बताए । उनले अर्को प्रसंगमा एमाले र माओवादीबिच विगतमा एकताका प्रक्रियामा ओली पछि मात्रै सकारात्मक भएको टिप्पणी गरे । ‘पार्टी एकताका लागि ओली सुरुमा तयार हुनुभएन । माधव र म तयार भएर उहाँलाई तयार गरेपछि बल्ल पार्टी एकता भएको हो,’ गौतमले भने ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले गौतम नेतृत्वमा पार्टीमा समाहित भएकालाई यथोचित जिम्मेवारी दिइने बताए । उनले एमालेसँग एकता सम्भव नभएको समेत स्पष्ट पारे । ‘एमालेसँग एकताको कुनै सम्भावना छैन किनभने त्यहाँभित्रको अवस्था हामीले देखेका छौँ,’ उनले भने, ‘एमालेसँग कसैको लसपस छ भने वा आशा–अपेक्षा केही छ भने मेरो भन्नु केही छैन । हामी विचार मिल्नेसँग सहकार्य, मोर्चाबन्दी र एकताका लागि तयार छौँ ।’