
गत सिजनको इंग्लिस प्रिमियर लिगमा मैदानभित्र र बाहिर हुलदंगा गरेका म्यानचेस्टर युनाइटेडका एक सय ५५ समर्थक समातिए
गत सिजनमा युरोपियन फुटबलमा म्यानचेस्टर युनाइटेडका समर्थक नराम्रो व्यवहार गर्ने सूचीको शीर्ष स्थानमा परेका छन् । उपाधिविहीनका साथै युरोपियन च्याम्पियन्स लिगमा समेत छनोट नभएको युनाइटेडले नयाँ सिजनअगाडि खराब रेकर्ड बनाएको छ । इंग्ल्यान्डको प्रहरीले शुक्रबार सार्वजनिक गरेको एक तथ्यांकअनुसार युनाइटेडका दर्शक सबैभन्दा खराब देखिएका हुन् । इंग्ल्यान्डका दर्शकलाई होलिगान्स भन्छन् । यो भनेको रंगशालाभित्र र बाहिर उपद्रो मच्चाउने दर्शक हुन् ।
गत सिजनमा घरेलु मैदान ओल्ड ट्राफोर्डमा विभिन्न खेलमा उपद्रो मच्चाएका एक सय २१ दर्शकमाथि जेल चलान भएको थियो । युनाइटेडका थप ३४ समर्थक मैदानबाहिर विपक्षीको समर्थकसँग झैझगडाका क्रममा समातिएका थिए । इंग्लिस प्रिमियर लिग उपाधि रक्षा गर्न नसकेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ । गत वर्ष सिटीका ९४ दर्शक समातिएका थिए ।
यसैगरी, सार्वजनिक स्थलका सामग्री बिगारेको आरोपमा ४३ सिटीका दर्शकलाई चिट काटिएको थियो । वेस्टह्यामले गत वर्षको सिजनमा गतिलो बनाउन सकेन । खराब हार सामना गरेका वेला वेस्टह्यामका दर्शक आक्रोशित हुँदा ९४ जनामाथि कारबाही चल्यो । यसैगरी, सार्वजनिक स्थलमा हुलदंगा गर्ने ४३ दर्शकलाई जेल चलान गरिएको एजेन्सीले जनाएको छ । दर्शकदीर्घामा खराब आचरण गर्ने सूचीको चौथो स्थानमा चेल्सी रहेको छ ।
गत वर्ष विभिन्न खेलमा गरी चेल्सीका एक सय दुईजना समर्थक समातिए । खराब दर्शकको सूचीमा एस्टोन भिल्ला पाँचौँ स्थानमा छ । एस्टोन भिल्लाको घरेलु मैदानमा ३५ प्रतिशत खराब व्यवहार गर्ने दर्शक अहिले पनि जेलमा छन् । समग्रमा गत वर्ष लन्डन प्रहरीले एस्टोन भिल्लाका ९३ जना समर्थकलाई समातेको थियो ।
लागुऔषध प्रयोग गर्नेमा पनि युनाइटेडकै समर्थक अगाडि
गत वर्ष मैदानभित्र र बाहिर म्यानचेस्टर युनाइटेडले राम्रो रेकर्ड बनाउन सकेन । लन्डन प्रहरीको सूचीअनुसार युनाइटेडका २७ समर्थकले रंगशालामै प्रतिबन्धित लागुऔषध सेवन गरेका थिए । इंग्ल्यान्डमा रंगशालाभित्र लागुऔषध सेवन गरी उपद्रो मच्चाउनेलाई कडा कारबाही हुने गर्छ । दोस्रो स्थानमा रहेको वेस्टह्याम छ । उसका २६ समर्थक लागुऔषध सेवन गरिरहेको अवस्थामै सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । लिभरपुलका १८ जना, म्यानचेस्टर सिटीका १५ जना, एभर्टनका १४ जना र लिड्सका १३ जना समर्थक यसै प्रवृत्तिमा समातिएका थिए ।