मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 19 July, 2025
कमलराज भट्ट काठमाडाैं
Invalid date format o६:४४:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

शेखर सक्रिय : विद्या र प्रचण्डलाई  छुट्टाछुट्टै भेटेर राखे सहकार्यको प्रस्ताव

Read Time : > 3 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:४४:oo

सुशासन, सेवा प्रवाह र संविधान संशोधनको एजेन्डामा सरकार ठिक ढंगले चल्न नसकेको निष्कर्षमा पुगेका कांग्रेस नेता डा. शेखर कोइरालाले राजनीतिक भेटघाट र सक्रियता बढाएका छन् । विपक्षी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मात्र नभई डा. कोइरालाले हालै मात्र एमालेको सक्रिय राजनीतिमा फर्केकी पूर्वराष्ट्रपति विद्या भण्डारीसँगसमेत भेटघाट गरेका छन् । डा. कोइरालले पछिल्लो दुई दिनमा गरेका यी भेटघाटलाई राजनीतिक वृत्तमा रणनीतिक र अर्थपूर्ण रूपमा हेरिएको छ । 

बिहीबार माओवादी अध्यक्ष प्रचण्डसँग भेटेका कोइरालाले शुक्रबार एमाले राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति भण्डारीसँग भेट गरेका छन् । सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका कांग्रेस नेता डा. कोइरालाले सत्तारूढ दलभित्रको विद्रोही खेमा र विपक्षी दलका नेतालाई भेटेर सत्तागठबन्धनमाथि दबाब बढाएका छन् । कतिपय नेता पार्टीभित्र र बाहिर आफ्नो भूमिका बढाउन डा. कोइरालाले सक्रियता बढाएको बताउँछन् । 

कोइरालानिकट नेताहरूका अनुसार दुवै भेटमा सरकारको काम–कारबाहीको समीक्षा र कोर्स करेक्सनबारे छलफल भएको छ । शेखरपक्षीय नेता राजीव कोइरालाले यी भेटघाट नयाँ गठबन्धनको सुरुवाती चरण भएको बताए । ‘राजनीतिक व्यक्तिले एकआपसमा भेटघाट गर्नु सामान्य हो । तर, अहिले परिस्थिति सामान्य छैन । जुन सोचका साथ ठुला दल मिलेर सरकार बन्यो । त्यसअनुसार सरकार जान सकेन । सातबुँदेअनुसार काम हुन सकेन । त्यसैमा नयाँ संवादको थालनी गर्न खोज्नुभएको हो,’ उनले नयाँ पत्रिकासँग भने । 

नेता गुरुराज घिमिरेले तीन नेताबिचको भेटको निष्कर्ष सरकार सही ढंगले नचलेको रहेको बताए । प्रचण्ड र विद्या भण्डारीसँगको भेटबारे शुक्रबारै शेखरलाई भेटेर जानकारी लिएका घिमिरेले भने, ‘देश सही बाटोमा अगाडि बढ्न नसकेको साझा धारणा नै छ । साथै, सरकार सुधारको बाटोमा हिँड्दैन भने विकल्प खोज्ने हो कि भन्ने खालको संवाद भएको पाएँ ।’

भेटमा मुख्य विपक्षी र राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने व्यक्तिको समन्वयबाट देशलाई अगाडि बढाउने कुरा भएको घिमिरेको भनाइ छ । ‘मैले बोलिरहेको छु । प्रचण्डले बोलिरहनुभएको छ । तपाईं पनि बोल्नुस् । सबै एकताबद्ध भएर मुलुकलाई अगाडि बढाउनुपर्‍यो,’ विद्या भण्डारीसँगको शेखरको संवाद उद्धृत गर्दै घिमिरेले भने । सरकारले आफ्नो कार्यशैली नसुधार्ने र तदर्थवादमै चलाउने हो भने विकल्प खोज्नुपर्नेसम्मको कुरा भएको उनले बताए । ‘राष्ट्रको अवस्था हेरेर सबै एकताबद्ध भएर अगाडि बढ्ने वातावरण बनाउन भेटघाट भएको हो,’ उनी भन्छन् । 

अहिले सरकारका लागि सरकारजस्तो भएको उल्लेख गर्दै उनले भने, ‘सरकारका लागि सरकार भएको छ । यस्तो अवस्था टुलुटुलु हेरेर बस्न सकिँदैन । यथास्थितिमै रमाउने हो भने विकल्प खोज्नुपर्छ । विकल्पबारे सोच्न थाल्नुपर्छ भनेर कुरा भएको छ ।’

शेखरसँगको संवादमा विद्या भण्डारीले पनि सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएको घिमिरेले बताए । ‘शेखरदासँगको संवादमा विद्या भण्डारी पनि वर्तमान सरकारसँग सन्तुष्ट हुनुहुन्न । उहाँका केही बाध्यता छन् । जसले उहाँ मुखरित हुनुभएको छैन,’ घिमिरे भन्छन्, ‘राष्ट्रिय शक्ति एकताबद्ध भएर सरकारलाई सुधारका लागि दबाब दिने, सकारात्मक बाटोमा हिँडाउने कुरा भएको छ । नेताहरूले चिन्तित भएर भेटघाट गर्नुभयो । पार्टीगत आफ्ना सीमा छन् । सरकार सुधारको बाटोमा हिँड्दैन भने विकल्पमा खोज्ने हो कि भन्ने पनि निष्कर्ष रह्यो ।’

उनका अनुसार डा. कोइरालाले सरकारका कामकारबाही चित्तबुझ्दो नरहेको भनेर प्रधानमन्त्रीले सुन्ने र थाहा पाउने गरी बोल्दै आएको, पार्टी सभापतिलाई पनि भन्दै आएका थिए । ‘दुई ठुला दलको सरकार बन्दा जनअपेक्षा धेरै थियो । राजनीतिक स्थिरताको आवश्यकता, तीव्र भौतिक विकास, सुशासन, संविधान संशोधन र सबै पक्षलाई समेटेर राष्ट्रिय सहमतिको सरकार बनाउने राष्ट्रिय आवश्यकताले गठबन्धन बनेको थियो, तर यो एक वर्ष खेर गयो । जनताको जीवनमा परिवर्तन ल्याउने, बेराजगारी हटाउने, अर्थतन्त्र उकास्ने, सुशासन, भ्रष्टाचार नियन्त्रण, वैदेशिक सम्बन्ध सुधार कुनै पनि काम हुन सकेन,’ घिमिरे भन्छन्, ‘यो विशेष बारम्बार उठाएको, औँल्याएको हिसाबले अब विपक्षी दलको नेतासँग पनि कुरा गरौँ, राजनीतिमा आउनुभएकी पूर्वराष्ट्रपतिसँग पनि कुरा गरौँ भनेर शेखरदाले भेट्नुभएको हो । समसामयिक राजनीतिक र नेपालको भविष्यबारे पनि कुराकानी भयो ।’ 

शेखरको दौडधुपको रणनीति सभापति शेरबहादुर देउवामाथि दबाब बढाउनु पनि रहेको कतिपय नेता बताउँछन् । ‘शेखरदाको रणनीति देउवामाथि दबाब बढाउने देखिन्छ । उहाँले केन्द्रीय समिति बैठकमै सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छ भनेर राख्नुभएको थियो,’ एक केन्द्रीय सदस्य भन्छन्, ‘सायद प्रचण्ड र विद्यासँग मिलेर देउवामाथि दबाब बढाउन खोज्नुभएको हुन सक्छ । संवादका विषयवस्तु यिनै हुन सक्छन् ।’

सांसद दीपक गिरीले माओवादी अध्यक्ष प्रचण्डले लामो समयदेखि भेट्न खोजेको र शुक्रबार भेट्न गएको बताए । तर, पूर्वराष्ट्रपति विद्या भण्डारीसँगको भेटबारे आफूलाई जानकारी नभएको उनको भनाइ छ । कतिपय नेताहरूका अनुसार पार्टीभित्र हालै भएको अनुशासनको कारबाहीप्रति डा. कोइराला असन्तुष्ट छन् । आफूपक्षीय नेतालाई मात्र कारबाही गरेर तर्साउन खोजेकाले भेटघाटको दबाबमार्फत शक्तिसन्तुलन गर्न खोजेको एक नेता बताउँछन् । 

शेखर कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले दुवै भेटघाटमा सुशासन, बेथिति र सरकारको कामकारबाहीबारे छलफल भएको बताए । उनले मोर्चा बनाउने, सरकार ढाल्ने कसरत नभएको स्पष्ट पारे । थपलियाका अनुसार विद्या भण्डारीको भेटमा कोइरालाले राष्ट्रपति भइसकेको मान्छे राजनीतिमा फर्किनुहुँदैन भन्ने आफ्नो मान्यता रहेको र अब निर्णय नै गरेर आइसकेपछि सुशासनको पक्षमा आवाज उठाउन भण्डारीलाई सुझाव दिएका थिए ।

भण्डारीले आफू सक्रिय राजनीतिमा आएको भन्दै कोइरालाको नैतिक समर्थन खोजेकी थिइन् । उनले आफ्नो इच्छाले भन्दा साथीहरूको करकापले राजनीतिमा आएको र निर्णय नै गरिसकेको जानकारी गराएकी थिइन् । ‘तपाईं र म जुन पार्टीमा भए पनि देशका लागि त काम गरौँ न । त्यसमा मेरो सहयोग रहिहाल्छ,’ शेखरले विद्यालाई भने । 

कोइरालाले को कहिले नेता बन्ने भन्दा पनि सुशासन ठुलो कुरा भएको बताएका थिए । ‘को के बन्ने भन्दा पनि जनतामा असाध्यै निराशा छ । सुशासन ठुलो कुरा हो । सुशासनको मुद्दा बोकेर हिँडेको छु,’ शेखरले विद्यालाई भने, ‘भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा बोलिदिनुस् । तपाईंको बोलीले अर्थ राख्छ । म पनि लडिराखेको छु ।’

शेखरले एकातिर जनतामा निराशा बढिरहेको र एकपछि अर्काे मन्त्री भ्रष्टाचारमा परेको, घुस डिलको अडियो नै आइरहेको भन्दै यसरी सरकार चलाएर नहुने र यसमा बोल्नुपर्‍यो भनेर भण्डारीलाई अनुरोध गरेको स्वकीय सचिव थपलियाले बताए । ‘सरकारले गरेका गलत कामबारे बोल्नुपर्‍यो । सुशासन नै ठुलो कुरा हो भन्नुभयो,’ थपलियाले भने । 

स्वकीय सचिव थपलियाले नेता कोइराला प्रचण्डले बोलाएरै भेट्न खुमलटार पुगेको बताए । ‘प्रचण्डसँग सरकारकै बारेमा कुराकानी भयो । संविधान संशोधनको मुद्दा, सरकारको कामगराइबारे, पार्टीको आ–आफ्नो वस्तुस्थितिबारे लामो कुरा भयो,’ थपलिया भन्छन्, ‘यसरी सरकार चल्न सक्दैन । यसरी भएन । मैले नै ६–६ महिनामा सरकार परिवर्तन हुन थाल्यो । दुई ठुला दल मिलेर स्थिर सरकार र संविधान संशोधन गरौँ भनेर अगुवाइ गरेको हो । त्यो लाइनमा यो सरकार भएन । अब बोल्नुपर्‍यो भन्ने कुरा भयो ।’