
भारतले दक्षिण एसियाली यू–१९ फुटबल च्याम्पियनसिप (साफ)अन्तर्गत मंगलबार भएको खेलमा चिरपरिचित प्रतिद्वन्द्वी नेपालमाथि ४–० को सानदार जित निकालेको छ । भारतले समूह ‘बी’मा अपराजित यात्रातय गर्यो । गोल्डेन जुब्ली रंगशालामा भारतले नेपालविरुद्ध अहिलेसम्मकै फराकिलो जित निकालेको हो ।
निर्धारित ९० मिनेटमा भारतले पहिलोपटक नतिजा आफ्नो पक्षमा राखेको हो । यसअघि दुई खेलमा भारत र नेपालले टाइब्रेकरमा जित हात पारेका थिए । सन् २०१५ मा एन्फा कम्प्लेक्समा नेपालले टाइब्रेकरमा भारतलाई ५–४ ले हराउँदै उपाधि हात पारेको थियो ।
सन् २०२३ दशरथ रंगशालामा भारतले नेपाललाई टाइब्रेकरमा ३–२ ले पाखा लगाउँदै फाइनलमा स्थान बनायो । यसपल्ट भारतले नेपालविरुद्ध चार गोल गर्यो । समूह विजेता बनेको भारतले दुई खेलबाट ६ अंक बटुल्यो । भारतले पहिलो खेलमा भुटानलाई ८–० ले पराजित गरेको थियो । अब भारतले फाइनल प्रवेश गर्न अर्को समूहको उपविजेता माल्दिभ्ससँग खेल्नेछ । बंगलादेश र भुटानसँग समान २–२ को बराबरी खेल्दै माल्दिभ्सले सेमिफाइनलमा स्थान बनाएको थियो । भुटानलाई ३–० ले हराएको बंगलादेश समूह ‘ए’को विजेता बन्यो ।
नेपाल समूह उपविजेता
भारतसँग पराजित भए पनि नेपाल तीन अंकका साथ उपविजेता बनेको छ । अब सेमिफाइनलमा नेपालले समूह ‘ए’को विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले सन् २०१५ मा भएको पहिलो संस्करण र २०१७ को यू १८ उमेर समूहको संस्करण जितेको थियो । पछिल्लोपटक भने नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।
नेपालविरुद्ध रोहिनको दुई गोल
भारतलाई जित दिलाउन रोहिन सिंहले दुई गोल गरेका थिए । यसैगरी, ओमङ डोडुम र डानी मिथेईले समान एक गोल गरेका थिए । नेपालले भारतलाई २७औँ मिनेटसम्म गोलरहित बराबरीमा रोकेको थियो । खेलको २८औँ मिनेटमा नेपालका डिफेन्डरको गल्तीको फाइदा लिँदै भारतले १–० को अग्रता लियो । भारतलाई रोहिनले गोल गरेका हुन् । त्यसपछि एक मिनेट बित्न नपाउँदै ओमाङले भारतलाई २–० को अग्रता दिलाए ।
पहिलो हाफमा २–० ले पछि परेको नेपाल दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन । भारतले एकपक्षीय दबाब बनायो । खेलको ७६औँ मिनेटमा रोहिनले व्यक्तिगत दोस्रो गोल गरे । खेलको ८४औँ मिनेटमा ड्यानीले एक गोल थपे । भारतले यसअघि श्रीलंकालाई ८–० ले हराएको थियो । नेपालले श्रीलंकालाई ५–० ले हराएको थियो ।