Skip This
प्रेरक प्रसंग : पटक–पटकको एउटै गुनासो
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २९ सोमबार
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख २९ सोमबार o६:o५:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग डिजिटल संस्करण

प्रेरक प्रसंग : पटक–पटकको एउटै गुनासो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २९ सोमबार o६:o५:oo

एकपटक भगवान् बुद्ध भ्रमणका क्रममा एउटा सहरमा पुगे । सहरका मुख्य प्रशासक बुद्धका प्रशंसक थिए । बुद्ध आफ्नै सहरमा आएको थाहा पाउनासाथ उनले बुद्धलाई भेटे । उनले आफ्नो सहरमा केही दिन बसेर आफ्ना नागरिकलाई प्रवचन दिन बुद्धसित अनुनय गरे । बुद्धले पनि उनको अनुनयलाई स्विकारे । 

भोलिपल्टैदेखि बुद्धको प्रवचन सुरु भयो । सहरको एक भव्य सभाहलमा प्रवचन हुँदै थियो । प्रवचन सुन्न सयौँ मानिस जम्मा भएका थिए । प्रवचन सुरु हुनै लागेको थियो, स्रोता समूहबाट एकजना मानिस उठे र उनले बुद्धसँगै कुनै एक विषयमा गुनासो गरे । बुद्धले आफ्नो उत्तरले सकभर उनको चित्त बुझाउने प्रयास गरे ।

बुद्धको प्रवचन केही दिन चल्यो । ती गुनासोकर्ता स्रोता हरेक दिन त्यहाँ उपस्थित हुन्थे । र, हरेक दिन एउटै गुनासो दोहोर्‍याउँथे । बुद्ध बडो धैर्यपूर्वक तिनलाई जवाफ दिन्थे । हरेक दिन एउटै गुनासो सुन्दासुन्दा बुद्धलाई पनि दिक्क लाग्यो । त्यसैले, एक दिन तिनै स्रोताको उही पुरानो गुनासो सुनिसकेपछि कुनै जवाफ नदिई बुद्धले भने— आज म तपाईंहरूलाई एउटा चुट्किला सुनाउँछु ।

बुद्धले चुट्किला सुनाउने कुरा सुनेर सबै स्रोता शान्त भए । बुद्धले निकै रमाइलो शैलीमा एउटा चुट्किला सुनाए । सभाकक्षमा हाँसोको फोहोरा नै छुट्यो । बुद्धले फेरि त्यही चुट्किला सुनाए । यसपटक केही थोरै मानिस हाँसे । उनले पुनः सोही चुट्किला सुनाए । तर, यसपटक हलमा कोही पनि हाँसेन । कसैले कुनै प्रतिक्रिया जनाएन । 

अन्त्यमा बुद्धले ती प्रश्नकर्ता स्रोतालाई सम्बोधन गर्दै भने— मित्र, अहिले मैले सुनाएको चुट्किला दोस्रो, तेस्रोपटक सुन्दा तपाईंहरूलाई दिक्क लाग्यो, तपाईंहरूले कुनै प्रतिक्रिया जनाउनुभएन । हो, त्यसैगरी तपाईंको यो पटक–पटक एउटै गुनासो गरिरहने बानीले पनि यहाँ उपस्थित अरूलाई दिक्क लगाएको हुन सक्छ । आखिर पटक–पटक एउटै गुनासो गरेर के नै पाइन्छ र, होइन त मित्र ? बुद्धको प्रश्नले ती स्रोता चुपचाप शिर झुकाउन बाध्य भए ।