
तुलसीपुर उपमहानगरपालिका– ७ प्रसेनीनिवासी प्रेमबहादुर कुमाल माटोका प्लेट, कप बनाउँदै थिए। कुनै समय माटाका गाग्री बनाउने कुमाल हिजोआज प्लेट, कप बनाउनमै व्यस्त हुन्छन्। ‘कुनै समय गाग्री, भुर्का, हाँडीको धेरै माग आउँथ्यो। तर, अहिले बजारमा प्लास्टिकका गाग्री आएकाले त्यसको माग छैन,’ उनले भने, ‘बरु प्लेट र कपको माग बढेको छ।’
अहिले उनको दैनिकी त्यही प्लेट र कप बनाउनमै बित्ने गरेको छ। बजारमा मट्का चिया पसलहरू धेरै खुलेकाले पनि कपको माग अत्यधिक हुने गरेको उनी बताउँछन्। पछिल्लो मागअनुसार प्लेट, कपहरू पुर्याउनै गाह्रो हुने गरेको छ। ‘माग धेरै आउँछ, कोही होटेलहरूले त कोठा दिन्छौँ, यहीँ आएर बनाइदिनुस् पनि भन्ने गरेका छन्,’ उनले भने।
गमला, माटोबाट घोडाका मूर्तिहरूको पनि उत्तिकै माग रहेको उनले बताए। माटाका कप, प्लेटलगायत आधुनिक सामग्रीहरूको माग बढेको भए पनि आवश्यक जनशक्ति नहुँदा समस्या भएको उनको भनाइ छ। नयाँ पुस्ताले माटोका भाँडा बनाउने पेसाप्रति चासो नदिँदा पेसा नै लोप हुने अवस्थामा पुगेको स्थानीय कविराम कुमालले बताए। ‘हामी पहिलेदेखि गर्दै आएका बुढापाकाले यो पेसा अँगालिरहेका छौँ। नयाँ पुस्ताले त्यति धेरै चासो नदिएकाले पनि यो पेसा संकटमा पर्ने हो कि भन्ने चिन्ता छ,’ उनले भने।
यहाँका कुमाल समुदायले माटाका भाँडालाई मेसिनले ‘ग्लेजिङ’ गरेर बजारमा पठाउने गरेका छन्। गरिबी निवारण कोषले उक्त सामग्रीहरू प्रदान गरेपछि अहिले यहाँका कुमाल समुदायलाई सहज भएको छ। करिब ६० परिवार रहेको यस गाउँमा अहिले १०–११ जनाले मात्रै माटाका भाँडा बनाउने गरेका छन्।
हस्तकला महासंघले तालिम दिएपछि कुमाल समुदायले आधुनिक प्लेट, कप बनाउन सिकेकाे हाे। तर, उनीहरूले बनाएका सामग्रीको मूल्य भने निर्धारण भएको छैन। ‘हामीले बनाएका माटाका भाँडाको मूल्य निर्धारण छैन,’ कविरामले भने, ‘त्यसैले हामीले अहिले अनुमान र बार्गेनिङका आधारमा बिक्री गरिरहेका छौँ।’
नयाँ पुस्तालाई समेत सिकाएर घोराही, तुलसीपुरलगायतका ठाउँमा माटाका भाँडा बनाउने र छुट्टै पसल खोल्ने तयारी भइरहेको उनले जानकारी दिए। अहिले एकजनाले दैनिक सरदर सय कप बनाउँदै आएका छन्।
कुमाल समुदायलाई माटो पाउन भने निकै समस्या हुने गरेको छ। अहिले तुलसीपुर– ७ स्थित कालोखोलाको मटेराबाट माटो निकाल्ने गरेको भए पनि त्यहाँबाट ल्याउन विवाद हुँदै आएको छ। स्थानीयले त्यहाँबाट माटो निकाल्न नदिने गरेको कुमाल समुदायको गुनासो छ।