
त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरीको घरमा जेन–जी आन्दोलनको क्रममा आगजनी र लुटपाट हुँदा करिब दुई करोडको क्षति भएको छ । चौधरीको त्रियुगा नगरपालिका –११ पुरानो गाईघाटको घरमा आन्दोलनका क्रममा अज्ञात समूहले आगजनी र लुटपाट गरेका थिए ।
नेकपा एसका केन्द्रीय सचिवसमेत रहेका चौधरीको घरमा २४ भदौमा जेन–जी आन्दोलनका क्रममा अज्ञात समूहले आगजनी र लुटपाट गरेका थिए । उनले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै घटनाको छानबिनको माग गरेका छन् ।
चौधरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ– मेरो घरमा भएको आगजनी र व्यक्तिगत सम्पत्ति लुटपाटमा करिब एक करोड ९७ लाखबराबरको क्षति हुन पुगेको छ । स्व. मातापितार स्व. छोरा डा. मनोज चौधरीको तस्बिरसमेत जलाइएको छ । मेरो व्यक्तिगत भावनामा ठुलो ठेस लागेको छ।
चौधरीले नेपाल सरकारसँग घटना छानबिन गरी आगजनी र लुटपाटमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् । साथै, उदयपुर जिल्ला पार्टी कार्यालयमा समेत तोडफोड र महत्त्वपूर्ण दस्ताबेज नष्ट गरिएको भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई सचेत रहन अनुरोध गरेका छन्।