
यातायात व्यवसायीले दसैँको अग्रिम टिकट बुकिङ खुला गरेका छन् । मंगलबार यातायात व्यवस्था विभागमा भएको सर्वपक्षीय बैठकमा नियमित शैलीमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको हो । योसँगै दसैँमा घर फर्कने यात्रुले बिहीबारबाटै टिकट बुकिङ गर्न सक्नेछन् । ‘चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक यातायात सेवाप्रदायकले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिने,’ निर्णयमा उल्लेख छ ।
अन्तरिम सरकार गठन भई कर्फ्यु र निषेधाज्ञा हटेसँगै यातायात व्यवसायीले गत शनिबारदेखि लामा तथा छोटा दूरीका सार्वजनिक यातायात सेवा खुला गरेका थिए । आन्दोलन र कर्फ्युका कारण भदौ २४ देखि २७ गतेसम्म सार्वजनिक यातायात बन्द थियो । सोही कारण विभिन्न कलेज तथा विद्यालय पनि दसैँ–तिहारसम्मकै लागि बन्द भएका थिए । जसले गर्दा २८ भदौदेखि नै यात्रुको चाप उच्च रहेको यातायात व्यवसायीले बताएका छन् । यात्रुको संख्या बढेसँगै यातायात व्यवसायीले दसैँका लागि अघोषित रूपमा अग्रिम टिकट बुकिङ खुला गरेका थिए । मंगलबारको बैठकले त्यसलाई नियमित रूपमै अघि बढाउने निर्णय गरेको हो । यो वर्ष विगतमा जसरी मिति नै तोकेर अग्रिम टिकट बुकिङ नखुलाइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए ।
नियमित शैलीमा अग्रिम टिकट बुकिङ खुलाइएको उनको भनाइ छ । ‘विगतमा जसरी मिति नै तोकेर टिकट बुकिङ खुला गरिएको छैन । यात्रुले आज–भोलि नै आएर टिकट बुकिङ गर्न सक्छन् । यद्यपि, यात्रा गर्ने मितिभन्दा तीन–चार दिनअघि टिकट बुकिङ गर्न आउँदा राम्रो हुन्छ,’ उनले भने, ‘पछिल्लो परिस्थितिका कारण यसपालि यात्रुको चाप कम हुने देखिन्छ । किनकि, विद्यार्थी घर जान थालिसकेका छन् । फूलपातीपछि निजी क्षेत्रमा काम गर्ने व्यक्तिहरूको चाप हुन्छ । त्यसलाई पनि व्यवस्थापन गर्न केही चुनौती होला । तर, त्यसमा पनि धेरै समस्या नहोला ।’
यस्तै, बैठकमा यातायात व्यवसायीले टिकट बिक्रीमा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ । विभिन्न अनलाइन प्लाटफर्ममा गएर टिकट बुकिङ गर्न सकिने अध्यक्ष स्वाँरले बताए ।
यस्तै, घटस्थापना अर्थात् असोज ६ देखि २२ गतेसम्म सार्वजनिक यातायातको रुट परमिट देशभरका लागि खुला गर्ने निर्णय पनि गरिएको छ । सरकारले सार्वजनिक यातायातलाई निश्चित रुट तोकेर परमिट दिइएको हुन्छ । त्योबाहेक अन्य रुटमा गाडी चल्न पाउँदैनन् । तर, यो अवधिमा सार्वजनिक यातायात देशभर चल्न सक्नेछन् । ‘यात्रुवाहक सवारीसाधनलाई घटस्थापनादेखि पूर्णिमाको पर्सि (०८२ असोज २२ गते)सम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने । तर, कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीलाई भने सो बन्देज कायमै रहने,’ निर्णयको माइन्युटमा भनिएको छ ।
यस्तै, असोज ६ देखि २० गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्म अत्यावश्यक वस्तुको ढुवानी गर्नेबाहेकका ट्रेलरलगायतका ठुला सवारीसाधन रोक लगाउने निर्णय भएको छ । ‘तथापि, प्रचलित कानुनबमोजिम आयातित मालवाहक सवारीको हकमा भन्सार प्रज्ञापनपत्र र निर्यातित मालवाहक सवारीको हकमा नियमअनुसारको राजस्व तिरेको रसिद हेरी तेस्रो मुलुकका आयात–निर्यातजन्य ढुवानीका साधन भन्सार कार्यालय बन्द रहने अवधिबाहेक नारायणगढदेखि काठमाडौंसम्मको सडक खण्डमा आवतजावतमा रोक नलगाउने,’ निर्णयमा भनिएको छ ।
यस्तै, मुख्य सडकलाई मर्मत–सम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायलाई अनुरोध गरी पठाउने निर्णय पनि भएको छ ।
उपत्यकामा भित्रिने र बाहिरिने प्रमुख स्थानलगायत देशभर मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) गर्ने सवारीचालकको स्वास्थ्य अवस्थाका बारेमा चेक जाँच गर्ने–गराउने निर्णय पनि भएको छ । सवारीचालकले मापसे र लापसे गरेको पाइएमा निजको सट्टा व्यवसायीले अर्को चालकको व्यवस्था गर्ने पनि बताइएको छ ।
लामो दूरीका यात्रीवाहक सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्नुअघि अनिवार्य रूपमा सवारीको यान्त्रिक अवस्थालगायतको चेकजाँच गर्नैपर्ने निर्णय गरिएको छ ।
लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रीवाहक सार्वजनिक सवारीमा कम्तीमा दुईजना चालक अनिवार्य रूपमा राखी आलोपालो सवारी चलाउने व्यवस्था यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारीधनीले मिलाउने निर्णय पनि भएको छ । यसबारे सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने पनि निर्णय भएको छ ।
नेपालमा हिन्दु धर्म मान्ने नागरिक धेरै भएकाले दसैँजस्ता पर्व महत्वका साथ मनाउने गरिन्छ । यसपालि ६ असोज घटस्थापना र १६ असोजमा दसैँ छ । अध्ययन तथा रोजगारीका लागि देश–विदेशका विभिन्न ठाउँमा गएका व्यक्ति दसैँ मान्न घटस्थापना आसपासको समयदेखि घर जान थाल्छन् । त्यसले गर्दा अघिपछिभन्दा यो समयमा यात्रुको चाप धेरै हुन्छ । त्यसलाई सही ढंगले व्यवस्थापन गर्न अग्रिम रूपमा टिकट बुकिङ खुला गर्ने अभ्यास छ ।