
रसुवा र तातोपानी नाका अवरुद्ध भएपछि दसैँ, तिहार र जाडो महिनाका लागि ल्याइएका फलफूल र कपडाका १५ सयभन्दा बढी कन्टेनर चिनियाँ क्षेत्रमा अड्किएका छन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार रेडिमेड, इलेक्ट्रोनिक्स, हाइड्रोका सामान बोकेका कन्टेनर खासा, न्यालम, केरुङ, दिङ्री र ल्हासामा अड्किएका छन् । ‘चिनियाँ क्षेत्रमा रहेका ट्रान्सपोर्ट कम्पनीहरूसँग समन्वय गरेर सूचना संकलन गर्दा १५ सय कन्टेनर सामान रहेको थाहा भयो,’ बस्नेतले भने । दसैँका लागि भनेर ल्याइएका रेडिमेड र फलफूल बोकेका चार सय कन्टेनर सामान खासा र न्यालम क्षेत्रमा रहेको उनले बताए । मितेरीपुलबाट भरियाले बोकेर झन्डै ४० कन्टेनर फलफूल भन्सार ल्याइएको तथा केही कन्टेनर रेडिमेड सामान पनि भरियामार्फत तातोपानी भन्सार ल्याइएको उनले जानकारी दिए ।
तातोपानी कोदारी क्षेत्रमा झरेको पहिरो पन्छाउने प्रयत्न सफल नभएपछि नजिक आएको चाडपर्वले हतारिएका व्यापारीहरू मुस्ताङको लोमान्थाङ नाकामा केन्द्रित हुन थालेका छन् । चिनियाँ क्षेत्रमा क्यारिङ गर्दै आएको स्टार कस्टम क्लियरेन्स एजेन्टले दुई महिनादेखि अड्किएका कन्टेनर लोमान्थाङ लाने तयारी गरेको चिनियाँ कम्पनी आडो ट्रान्सपोर्टले जानकारी दिएको छ ।
केरुङ, न्यालम, दिंग्रीलगायतमा अड्किएर बसेका कन्टेनर तिब्बत क्षेत्रको सागा भन्ने बाटोबाट लगभग एक हजार किलोमिटर दूरी पार गरेर मुस्ताङको लोमान्थाङ (कोरोला) पुर्याउने योजना बनाइएको छ । रसुवा नाकामा बेलिब्रिज तयार हुन अझै २० दिन लाग्ने र तातोपानी नाका कोदारी क्षेत्रमा डेढ महिनादेखि पहिरोले सडक अवरुद्ध भएकाले चाडपर्वलक्षित रेडिमेड सामान कोरोलाबाट ल्याउने तयारी गरिएको हो । यद्यपि, यो नाका धेरै टाढा छ । ढुवानी भाडाका कारण मूल्यवृद्धि हुन्छ । ‘४२ सय मिटर उचाइमा रहेको कोरोला नाकाबाट सामान ल्याउन सहज छैन,’ बस्नेतले भने, ‘कोदारीको एउटा सानो पहिरो पनि पन्छाउन सरकारले राम्ररी चासो दिएन ।’
तातोपानी भन्सारका सूचना अधिकृत रमेशबहादुर शाहका अनुसार पहिरोले अरनिको सडक बन्द भएकाले चाडपर्वलक्षित सामान व्यापारीको चाहनामुताबिक जुन नाकाबाट पनि ल्याउन खुला रहेको छ । कोदारीको इको क्षेत्रको पहिरो पन्छाउन धेरै समस्या भएको सडक डिभिजन कार्यालय चरिकोटले जनाएको छ ।
कोदारी सडकको ठेक्का सम्झौता नहुँदा तातोपानी नाकालाई असर
अरनिको राजमार्गअन्तर्गत बाह्रबिसेदेखि लिपिङसम्म २६ किलोमिटर कोदारी सडकखण्ड निर्माणको ठेक्का सम्झौता हुन नसक्दा तातोपानी नाकालाई ठुलो असर गरेको छ । सडक डिभिजन कार्यालय चरिकोटले ठेक्का खुला गरेको पाँच महिना बितिसक्दा पनि कुनै निर्माण कम्पनीसँग सम्झौता गर्न सकेको छैन ।
बाह्रबिसे–लिपिङ २६ किलोमिटर सडक पुनर्निर्माणका लागि सरकारले करिब एक अर्ब ७५ करोड ८० लाख विनियोजन गरेको छ । १५ चैत ०८१ मा ठेक्का खुलेको सूचना प्रकाशन गरेको सडक डिभिजनले ३ असारमा सूचना प्रकाशित गरेर पाँच निर्माण कम्पनी प्राविधिक मूल्यांकनमा उत्तीर्ण भएको विवरण सार्वजनिक गरेको थियो ।
ढुकुचु कमलजित सोवर्ण जेभी, रमन त्रिवेणी जेभी, मृत सञ्जीवनी गल्वा जेभी, लामा कन्स्ट्रक्सन कम्पनी र महादेव खिम्ती नाना जेभीको नाम सार्वजनिक गरेर आर्थिक प्रस्तावका लागि असार १० र असार १७ सम्मको म्याद राखेर सूचना प्रकाशित गरेको थियो । आर्थिक प्रस्ताव खुलेको लामो समय बित्दा पनि ठेक्का सम्झौता भएन ।