
वात्सल्य एभरेस्ट महिला भलिबल लिगको फ्रेन्चाइज भलिबल टिम लुम्बिनी लाभाजलाई केएल दुगड ग्रुपले मुख्य प्रायोजन गर्ने भएको छ ।
२० देखि २८ भदौसम्म पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा हुने प्रतियोगितामा सहभागी ६ टोलीमध्येको एक लुम्बिनीलाई व्यापारिक समूह केएल दुगड ग्रुपको ज्ञान ब्रान्डले मुख्य प्रायोजन गर्ने गरी सोमबार सम्झौता भएको हो ।
सम्झौतापछि दुगड ग्रुपका कार्यकारी निर्देशक भावीका दुगडले नेपाली खेलकुदलाई सहयोग गर्न पाउनु गर्वको कुरा भएको बताइन । महिला खेलाडीहरूलाई अगाडी बढाउन र उनीहरूको प्रतिभालाई सम्मान गर्न समूह सधैं तयार रहेको जनाइन् ।
मुख्य प्रायोजकको रुपमा दुगड ग्रुपसँगको सहकार्यपछि लुम्बिनीले टोलीलाई थप प्रोत्साहन र ऊर्जा प्रदान गरेको जनाएको छ । सम्झौतासँगै अब टिमको जर्सी, मिडिया र सामाजिक सञ्जालमा केएल दुगड ग्रुपको ज्ञानलाई लुम्बिनीले मुख्य प्रायोजकको रुपमा उल्लेख गर्ने प्रतियोगिताको मिडिया सम्पर्क व्यक्ति संगम जोशीले जानकारी दिए ।
पोखराका मेयर आचार्य र अभिनेता हमालको टिमबिच प्रदर्शनी खेल हुने
२० भदौदेखि सुरु हुने प्रतियोगिता सञ्चालन हुनु एक दिनअघि अर्थात १९ भदौमा पोखराका मेयर धनराज आचार्य र अभिनेता राजेश हमालको टिमबिच प्रदर्शनी खेल हुने भएको छ ।
प्रतियोगिताको मिडिया सम्पर्क व्यक्ति जोशीका अनुसार पोखराको प्रमुख पर्यटकीयस्थल लेकसाइडको हलन्चोकमा १९ भदौ १६ः०० बजे दुई टोलीबिच प्रदर्शनी खेल हुनेछ ।
प्रदर्शनी खेलमा चर्चित कलाकार, विदेशी खेलाडी र फ्रेन्चाइज टिमका प्रमुख खेलाडीहरु सहभागी हुनेछन् । टिममा फ्रेन्चाइज टिमका टिम एम्बासेडर, प्रमुख खेलाडी, विदेशी खेलाडी, पोखरा आधारित स्थानीय इन्फ्लुएन्सरहरु, पोखरामा भलिबलसँग सम्बन्धित व्यक्तिहरू सहभागी हुनेछन् । प्रदर्शनी खेलले मनोरञ्जन, प्रतिस्पर्धा र स्टार पावरको मिश्रण प्रस्तुत गर्दै दर्शकलाई लिगको उत्साह र प्रतिभाको पूर्वालोकन दिने आयोजकको भनाई छ ।
खेलमा आना शर्मा, सनीषा भट्टराई, र आदिती बुढाथोकी लगायतका कलाकारसँगै प्रमुख खेलाडी अरुणा शाही, प्रगति पुन, सलिना श्रेष्ठ, निरुता ठगुन्ना, सुमित्रा रेग्मी, उषा भण्डारी लगायतका खेलाडी समेत सहभागी हुनेछन् ।
प्रदर्शनी खेलले उद्घाटनको माहोल तयारसँगै महिला भलिबलको बढ्दो लोकप्रियतालाई उत्सवको स्वरुप प्रस्तुत गर्दै, पोखरामा खेलकुद, मनोरञ्जन र सामुदायिक सहभागिता प्रवद्र्धन गर्ने आयोजकको विश्वास छ ।
नौ देशका १८ विदेशी खेलाडी समेत सहभागी
नौ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । सहभागी टिमबाट नौ देशका १८ विदेशी खेलाडी पोखराको मैदानमा उत्रदै छन् । एशियाको पहिलो महिला फ्रेन्चाइज भलिबल लिगको रुपमा रहेको प्रतियोगिताले नेपाल र एशियामा महिला पेशागत भलिबलको लागि ऐतिहासिक प्लेटफर्मको रुपमा रहने आयोजकको दाबी छ ।