
बागमती प्रदेश सरकारले मकवानपुरको मनहरी गाउँपालिकामा चट्याङ लागेर मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार चट्याङ लागेर मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन्। उनले प्रदेश सरकारले चट्याङ लागेर मृत्यु भएका मनहरि गाउँपालिका वडा नम्बर ६, दैलीडाँडाका विशाल ब्लोनको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने जानकारी दिए।
प्रदेश विपद् कोषबाट उक्त रकम उपलब्ध गराउने गरी निर्णय प्रक्रिया अघि बढाउन मुख्यमन्त्री बानियाँले निर्देशन दिएका छन्। ब्लोनको परिवारलाई उक्त रकम उपलब्ध गराउने प्रक्रिया पूरा गर्न प्रदेशका प्रमुख सचिव भुपाल बराललाई मुख्यमन्त्री बानियाँले निर्देशन दिएका हुन्।
बानियाँले सो घटनामा घाइते भएकाहरुको सहज उपचारको लागि स्थानीय तहसँग समन्वय गरेर आवश्यक व्यवस्था मिलाउन समेत आग्रह गरेका छन्। ‘सो घटनामा घाइते भएकाहरुको उपचार भइरहेको छ। गाउँपालिकाले निःशुल्क उपचारको प्रवन्ध गरेको छ। यदी गाउँपालिकालाई खर्च व्यहोर्न समस्या देखियो भने प्रदेश सरकारले व्यवस्थापनको काम गर्ने गरी प्रक्रिया मिलाउन निर्देशन दिएको छु,’ उनले भने।
मुख्यमन्त्री बानियाँको निर्देशनअनुसार सचिव बरालले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् महाशाखा प्रमुख सुरेश खनाललाई आवश्यक कानुनी व्यवस्थाअनुसार प्रक्रिया पूरा गर्न र विपद् व्यवस्थापन परिषद तथा विपद् व्यवस्थापन कार्यकारी परिषदको बैठक आह्वान गर्ने एजेण्डा तयार गर्न निर्देशन गरेका छन्।
मंगलबार दिउँसो ४ बजेर २० मिनेटको समयमा चट्याङ लागेर मनहरी–६, दैलीडाँडाका ४२ वर्षीय विशाल ब्लोनको घटनास्थमै मृत्यु भएको थियो। घटनामा १२ वर्षीया वर्षा घलान, १२ वर्षीय सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेमबहादुर घलान, ३७ वर्षीय राजकुमार घलान र ४७ वर्षीय पानबहादुर मोक्तान घाइते भएका छन्।