
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी ओलीको चीन र भारत भ्रमणको तयारी भइरहेको जानकारी दिएका छन्। मन्त्रिपरिषद्का निर्णय सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले भ्रमणबारे जानकारी दिएका हुन् ।
यद्यपि, दुवै भ्रमणबारे औपचारिक निर्णय भइनसकेको मन्त्री गुरुङको भनाइ छ । उनले भने, ‘सम्माननीयज्यूको भारत भ्रमणबारे निम्तो अस्ति औपचारिक रूपमा विदेशसचिवबाट आएको छ, भ्रमणको कार्यक्रम सम्पूर्ण रूपमा तय भइनसकेको कारणले त्यस विषयमा निर्णय गरेका छैनौँ, निकट भविष्यमा नै प्रधानमन्त्रीज्यूको भारत भ्रमण हुनेछ । सम्भवतः भदौ ३१ र असोज १ गते गरेर दुई दिनको भ्रमण हुन्छ ।’
त्यसअघि प्रधानमन्त्रीको चीन भ्रमणको तयारी भइरहेको मन्त्री गुरुङले बताए । ‘सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) को आयोजनामा चाइनामा हुने महत्त्वपूर्ण मिटिङमा पनि प्रधानमन्त्रीलाई निम्तो छ, निमन्त्रणा छ, त्यहाँ पनि उहाँ जानुहुन्छ,’ उनले भने । एसिओको शिखर सम्मेलनमा भाग लिन ओली चीन भ्रमणमा जान लागेका हुन् । १४ भदौमा गएर उनी १८ भदौमा फर्कने तयारी छ ।