
नेपालमा रासायनिक मल कारखाना सञ्चालनका लागि आवश्यक सहयोग गर्ने ठोस प्रस्ताव लिएर आयल निगमका अधिकारीहरू इन्डियन आयल कर्पोरेसन (आइओसी) दिल्ली गएका छन् । मंगलबार निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट, नायब कार्यकारी निर्देशक दीपक बराल र पूर्ण रिजाल तथा निर्देशकद्वय विनीतमणि उपाध्याय र सुरज साह आइओसी मुख्यालय गएका हुन् । उनीहरूले बुधबार दिउँसो आइओसीका अधिकारीसँग नेपालमा मल कारखानामा लगानी गर्ने विषयमा छलफल गर्ने कार्यसूची छ ।
निगमका कार्यकारी निर्देशक भट्टले रासायनिक मल कारखना सञ्चालनका लागि आइओसीले विगतदेखि नै प्रस्ताव पठाइरहेकाले यसपटक आवश्यक छलफल गर्न लागिएको जानकारी दिए । ‘सरकारीस्तरमै मल कारखाना सञ्चालन गर्नेबारे गहन रूपले विषय उठान भएको छ । त्यसैले, आइओसीले भारतमा उत्पादन गरिरहेको मल कारखानाबारे बुझ्ने र विगतका प्रस्तावबारे छलफल गर्ने गरी हामी दिल्ली पुगेका छौँ,’ भट्टले भने ।
निगम र आइओसीबिच ५५ वर्षदेखि सम्बन्ध स्थापित छ । आइओसीले भारतमा सन् २०१६ देखि मल कारखाना सञ्चालन गरिरहेको छ । आइओसीले नै डेढ वर्षअघिबाट नेपालमा मल कारखाना खोल्न सुझाउँदै आर्थिक तथा प्राविधिक सहायतासमेत उपलब्ध गराउने अनौपचारिक प्रस्ताव गर्दै आएको छ ।
आइओसी मुख्य प्रवद्र्धक रहेको हिन्दुस्तान उर्वरक एवं रसायन लिमिटेडको गोरखपुरमा मल कारखाना छ । निगमले नेपालमा मल कारखाना खोल्न चाहे गोरखपुरसम्म आएको प्राकृतिक ग्यासको पाइपलाइनलाई विस्तार गरेर ल्याइदिने आइओसीले पहिले नै प्रस्ताव गरेको छ । निगम मुख्य प्रवद्र्धक रहेर मल कारखाना सञ्चालनको मोडालिटी अघि बढे आइओसीले समेत सेयर लगानी गर्न चाहेको छ । ‘आइओसीले प्राकृतिक ग्यासको पाइपलाइन गोरखपुरबाट नेपालको उद्योग खोल्ने स्थानसम्मै बिछ्याउने आकर्षक प्रस्ताव गरेको थियो,’ कार्यकारी निर्देशक भट्टले भने, ‘त्यति मात्र होइन, नेपालमा खपत हुन नसकेको मल भारत लैजानेसमेत प्रस्ताव गरेको थियो । विगतका यी प्रस्तावलाई अब ठोस रूपमा छलफल गर्नेछौँ ।’
प्रधानमन्त्री केपी ओलीले गत २७ साउनमा रासायनिक मल अभावबारे कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीसहितका अधिकारी राखेर छलफल गरेका थिए । सो छलफलमा नेपालमै रासायनिक मल कारखाना खोल्ने अध्ययनको खाका ल्याउन प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए । लगत्तै, भोलिपल्ट २८ साउनमा उद्योगमन्त्री भण्डारीले मल कारखाना खोल्ने विषयमा बैठक राखेका थिए ।
सो बैठकमा आइओसीले नेपालमा मल कारखाना सञ्चालनका लागि सहयोग गर्न पटक–पटक पत्राचार गरिरहेको विषयमा निगमका कार्यकारी निर्देशक भट्टले जानकारी गराएका थिए । त्यसपछि निगमको इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागका निर्देशक विनीतमणि उपाध्यायको संयोजकत्वमा मल कारखानाको अध्ययन खाका बनाउन मन्त्रालयले एक कार्यदल गठन गरेको छ ।
रासायनिक मल कारखाना दिगो रूपमा सञ्चालन हुन वार्षिक कम्तीमा १० लाख टनको बजार सुनिश्चित हुनुपर्ने विभिन्न अध्ययनले देखाएका छन् । नेपालमा अहिले वार्षिक १३ लाख टनसम्मको बजार रहेको कृषि मन्त्रालयको भनाइ छ । त्यसैले दिगो रूपमा प्रतिफल दिन सक्ने मल कारखाना सञ्चालन गर्न सकिने सरकारको बुझाइ छ । आइओसीले भने यहाँ खपत नभएको मल भारतमै लैजाने प्रस्ताव गरेकाले पनि सकेसम्म आइओसीसँगै रणनीतिक साझेदारी गरेर मल कारखाना सञ्चालन गर्न सरकारी अधिकारी इच्छुक देखिएका हुन् ।
निगमलाई मल कारखाना सञ्चालनका लागि प्रोत्साहन गरिरहेका आइओसीसँग कारखाना सञ्चालनबारे राम्रो अनुभव छ । आइओसी हिन्दुस्तान उर्वरक एवं रसायन लिमिटेडको मुख्य प्रवद्र्धकमध्येको एउटा हो, जसको २९.६७ प्रतिशत सेयर लगानी छ । हिन्दुस्तान उर्वरकको गोरखपुर, बरौनी र सिन्द्रीमा तीनवटा प्लान्ट छन् ।
इथानोल मिश्रण र हाइड्रोजन बस पनि एजेन्डामा
छलफलमा पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण र हाइड्रोजन बस चलाउने एजेन्डा पनि राखिएको छ । निगमका कार्यकारी निर्देशक भट्टका अनुसार पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने कार्यविधि तयार गरी सञ्चालक समितिबाट स्वीकृति पनि भइसकेको छ । इथानोल मिसाउँदा पेट्रोलको गुणस्तर नखस्कने, बरु सस्तो पर्ने उनको भनाइ छ । इथानोल मिश्रणका लागि आइओसीले विगतदेखि नै सहयोग गर्ने जनाइरहेको छ । त्यस्तै, आइओसीको सहयोगमा दुईवटा हाइड्रोजन बस चलाउने विषयमा बुधबार छलफल हुँदै छ । निगमकै सहयोगमा काठमाडौं विश्वविद्यालयले हाइड्रोजनबाट कार चलाउने विषयमा सफल परीक्षण गरिसकेको छ ।
‘धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय परिसरमा रहेको हाइड्रोजन उत्पादन गर्ने स्टेसनको क्षमता वृद्धि गर्ने र आइओसीकै सहयोगमै काठमाडौंमा अर्को हाइड्रोजन रिफ्युलिङ स्टेसन तयार गर्ने प्रस्ताव गर्नेछौ“,’ भट्टले भने ।