
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता छोड्नुपर्ने डर र सत्तालिप्साबाट बाहिर निस्कनुपर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेस चितवनले ४३औँ बिपी स्मृति दिवसको सन्दर्भमा बुधबार आयोजना गरेको बिपी विचार र पार्टीमा रूपान्तरणको अभियान विषयक विचार गोष्ठीमा उनले यस्तो बताएका हुन् ।
थापाले निर्वाचनमा गठबन्धन गर्न नहुने विषय महासमितिबाट पारित गरेको पनि उल्लेख गरे। पन्ध्रौँ महाधिवेशनमा जसले नेतृत्व गरे पनि अब रुखमा बाहेक अन्यत्र भोट हाल्नुपर्ने अवस्था नआउने उनकाे भनाइ थियो।
उनले भने, ‘गठबन्धन नगरे सरकारमा पुगिन्न कि भन्ने डरले, अर्को मिलेर सरकारमा गइदेला भन्ने डरले, सरकार र सत्ता भन्ने कुराको डर र लोभले गर्दा गठबन्धन भएको हो । यसबाट बाहिर निस्कँदा पार्टी बन्छ।’ कुनै पनि नेता तथा कार्यकर्ताले सिद्धान्तसँग सम्झौता गर्न सक्दिनँ भनेर आफूलाई प्रस्तुत गर्न सक्यो भने तत्काल लाभ नपाए पनि पार्टी बलियो बन्ने उनको भनाइ थियो ।