मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 24 July, 2025
प्रतियोगितामा सर्वाधिक गोलकर्ताको रूपमा गोल्डेन बुट जितेकी नेपाली स्ट्राइकर पूर्णिमा राई
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:२१:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

गोल्डेन बुट विजेता पूर्णिमा भन्छिन्– बंगलादेशमा सधैँ क्याम्प, तर हाम्रो तयारी एक महिना मात्रै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:२१:oo

नेपाली राष्ट्रिय महिला टोली साफ यू–२० च्याम्पियनसिपमा तेस्रोपटक उपविजेता हुँदै मंगलबार स्वदेश फर्किएको छ । केवल ४५ दिनको क्लोज–क्याम्पमा रहेर टोलीले बंगलादेशमा आयोजित साफ च्याम्पियनसिपमा सहभागिता जनाएको थियो । थोरै समयको प्रशिक्षणमा पनि नेपाल तेस्रो भयो । राउन्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशले नेपाललाई ४–० ले हराउँदै पाँचौँपटक उपाधि जित्यो । 

प्रतियोगितामा सर्वाधिक गोलकर्ताको रूपमा गोल्डेन बुट जितेकी नेपाली स्ट्राइकर पूर्णिमा राईले बंगलादेशसँगको तुलना गर्न नमिल्ने बताएकी छिन् । बंगलादेशको फुटबलमा लगानी तथा लामो समयको प्रशिक्षणका कारण नै साफ यू–२० च्याम्पियनसिपमा उनीहरू पाँचौँपटक विजेता बनेको पूर्णिमाको बुझाइ छ । ‘बंगलादेश हामीभन्दा बलियो छ । उनीहरूका खेलाडीले नियमित प्रशिक्षण र क्याम्प पाउँदै आइरहेका छन्,’ त्रिभुवन विमानस्थलमा दु:खेसो पोख्दै उनले भनिन्, ‘हामीकहाँ खेल हुन्छ भनेपछि मात्र त्यसको एक महिना वा १५ दिनअघि मात्रै क्याम्पका लागि खेलाडी बोलाइन्छ ।’ 

साफ यू–२० च्याम्पियनसिपमा पूर्णिमाले सर्वाधिक १० गोल गरेकी थिइन् । उनले प्रतियोगितामा दुई ह्याट्रिक लगाएकी थिइन् । पूर्णिमाले उचित क्याम्प र प्रशिक्षण नहुँदा बंगलादेशसँग दुवै खेलमा पराजित भएको बताइन् । ‘हामीलाई प्रशिक्षण र क्याम्पको समय नै पुग्दैन,’ समीक्षा गर्दै पूर्णिमाले भनिन्, ‘उनीहरूको जस्तो क्याम्प राखिराख्यो भने हामी पनि त्योभन्दा राम्रो गर्न सक्छौँ ।’ 

निर्णायक खेलमा राम्रो प्रदर्शन भएन 
नेपालका मुख्य प्रशिक्षक यम गुरुङले निर्णायक खेलमा खेलाडी थाकेका कारण राम्रो प्रदर्शन नभएको बताएका छन् । ‘फाइनल मानिएको खेलमा हाम्रा खेलाडी थाकेँ । जसका कारण नतिजा आएन,’ गुरुङले भने, ‘अन्तिम खेलमा जित्नैपर्ने दबाब थियो । पाँचवटा खेल २४ घण्टाको अन्तरमा खेल्नुपर्दा खेलाडीमा थकान रहेकाले सोचेअनुरूप प्रदर्शन नभएको हो ।’ बंगलादेशविरुद्ध खेल्दा खेलाडीले राम्रो आराम गर्न नपाउनुले समस्या भएको प्रशिक्षक गुरुङले बताए । 

‘बंगलादेशको तयारी धेरै राम्रो छ,’ उनले भने । नेपालविरुद्ध बंगलादेशले सातजना राष्ट्रिय टोलीका खेलाडीलाई प्रतिस्पर्धा गराएको थियो । ‘बंगलादेशको अनुभवी खेलाडी, होम ग्राउन्ड र आफ्ना खेलाडी थकित हुँदा अन्तिम खेलको नतिजामा धेरै फरक परेको हो,’ प्रशिक्षक गुरुङले भने, ‘ट्याक्टिकल समस्याभन्दा पनि थकान हुँदा हाम्रा खेलाडीले राम्रोसँग खेल्न सकेनन् ।’ उनले पूर्णिमा, मीना देउवा, बिर्सना चौधरी, सुक्रिया मियाँ, सेनु परियार र सिमरन राई छिट्टै राष्ट्रिय टोलीमा आउन बताए । 

गोलरक्षक र डिफेन्सबिच तालमेल मिलेन
प्रतियोगितामा दुई ह्याट्रिक गरेकी मीना देउवाले बंगलादेशसँगको खेलमा डिफेन्स र गोलरक्षकबिच तालमेल नमिलेको बताइन् । ‘तीन गोल खाँदासम्म फर्कन्छौँ आशा थियो, तर गोलरक्षक र डिफेन्सबिच तालमेल खासै मिलेन,’ उनले भनिन्, ‘विपक्षीका स्ट्राइकर अति नै फास्ट र उनीहरूको डिफेन्स लाइन पनि बलियो थियो ।’