
एमाले केन्द्रीय संगठन विभागका सचिव माधव ढुंगेलले हरेक महाधिवेशन र मातहत कमिटीका अधिवेशनहरूमा ४० प्रतिशत नयाँ तथा युवाबाट कमिटीमा निर्वाचित गर्ने व्यवस्था राख्न सुझाएका छन्।
जारी केन्द्रीय कमिटी बैठकमा विधानमाथिको छलफलमा भाग लिँदै ढुंगेलले ६० प्रतिशत वहालवाला केन्द्रीय कमिटी र ४० प्रतिशत नयाँ युवालाई प्रतिस्पर्धाको क्लस्टर छुट्याउन सुझाव दिएका हुन्। उनले प्रतिस्पर्धा पनि नयाँ र पुरानाबिच अलग-अलग गराउन सुझाव दिएका छन्।
ढुंगेलले कार्यकर्ता धेरै भएको र निर्वाचनको नजिक पार्टी रहेकाले केन्द्रीय कमिटी, प्रदेश कमिटी, आयोग र विभागहरूको संख्यामा लचिलो हुनुपर्ने बताए।
ढुंगेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय प्रक्रियागत त्रुटि वा प्रक्रियामा नभएर उच्च राजनीतिक समझदारी तथा निर्णयको विषय हुनुपर्ने बताएका छन्।