
नवलपुरको गैँडाकोट नगरपालिका– ३ स्थित कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ । हिउँदे खोलामा माथिबाट सुक्खा पहिरो झरेका कारण करिडोर पूर्ण रूपमा अवरद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार वैकल्पिक मार्गका रूपमा रहेको यो सडकखण्ड बिहान साढे ११ बजेदेखि पूर्ण रूपमा बन्द भएको हो । अवरोध हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास जारी रहेको उनले बताए । बाटोमा ठुलाठुला ढुंगाको पहिरो खसेको छ ।
गैँडाकोट हुँदै पाल्पा पुग्ने यो सडक अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग गर्ने यात्रुहरूले समस्या भोगिरहेका छन् । नारायणघाट–बुटवल सडकखण्डअन्तर्गत दाउन्नेमा अवरोध हुन सक्ने भन्दै यात्रुले करिडोरको बाटो प्रयोग गर्ने गरेका छन् । दाउन्ने खण्डमा भने निर्वाध गाडी चलिरहेको प्रहरीले जनाएको छ ।