
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संघीय निजामती विधेयकमा आफ्ना सांसदलाई संशोधन हाल्न लगाएर एमालेले देश, जनता र गठबन्धनलाई धोका दिएको टिप्पणी गरेका छन्।
राष्ट्रिय सभामा रहेका एमालेका आठ सांसदले उक्त विधेयकमा संशोधन प्रस्ताव पेस गरेपछि कोइरालाले एमालेले दोहोरो चरित्र देखाएको टिप्पणी गरेका हुन्।
कोइरालाले फेसबुकमा लेखेका छन्, ‘नेकपा एमालेका सांसदहरूले राष्ट्रिय सभामा संघीय निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक छ। गठबन्धनका दलबिच भएको सहमति र समितिमा भएको सर्वसम्मतीविपरीत यसरी आफ्ना सांसदहरूलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र मात्र नभई उसले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई दिएको धोका हो।’
यस विषयमा कांग्रेसले एमालेको आधिकारिक धारणा माग्नुपर्ने भन्दै कोइरालाले कुलिङ पिरियड हटाउने संशोधन प्रस्ताव सबै मिलेर रोक्नुपर्ने टिप्पणी गरेका छन्। ‘नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्छ साथै सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिनुहुन्न। कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ। कोही दुविधामा नपरे हुन्छ,’ उनले लेखेका छन्।