
कास्कीको पोखरामा केन्द्रीय कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड र मकवानपुरको हेटौँडामा केन्द्रीय कार्यालय रहेको समृद्धि फाइनान्स कम्पनी लिमिटेड मर्ज हुने भएका छन्।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त दुई संस्थाले मर्ज हुनका लागि आइतबार एकापसमा गाभ्ने/गाभिने (मर्जर)सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समझदारीपत्रमा पोखराका तर्फबट मर्जर समितिका संयोजक तिलबहादुर गुरुङ र समृद्धिका तर्फबाट मर्जर समितिका संयोजक सुदीप घिमिरेले हस्ताक्षर गरेका छन्।
एक सेयरबराबर एकको स्वाप रेसियोमा मर्ज हुन लागेका दुई संस्थाले मर्जरपछि पोखरा फाइनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने सम्झौतामा उल्लेख छ। मर्जरपछि संस्थाको केन्द्रीय कार्यालय काठमाडौंमा रहनेछ। हाल पोखराको चुक्ता पुँजी एक अर्ब आठ करोड २५ लाख छ भने समृद्धिको ८१ करोड ८९ लाख रुपैयाँ छ।
मर्जरपछि बन्ने सञ्चालक समिति अध्यक्षसहित सातसदस्यीय बन्ने भएको छ। समितिमा समृद्धिका तर्फबाट अध्यक्ष र तीन सञ्चालक रहँदा पोखराका तर्फबाट तीन सञ्चालक रहनेछन्। सञ्चालकको टुंगो लागे पनि प्रमुख कार्यकारी अधिकृत को हुने भन्ने निर्णय भइसकेको छैन।
समझदारीले वित्तीय संस्था एउटा सबल, सक्षम र उत्कृष्ट वित्तीय संस्था बन्ने अपेक्षा राखिएको पोखराका मर्जर समितिका संयोजक गुरुङले बताए। बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभ्न/ गाभिन प्रोत्साहित गर्ने केन्द्रीय बैंकको नीतिगत व्यवस्थालाई दुई वित्तीय संस्थाको गाभ्ने/गाभिने (मर्जरमा) सहभागी हुने निर्णयले थप बल पुगेको उनले बताए।
मर्जरपछि दुई संस्थाको संस्थापक सेयर धनीहरू, साधारण सेयरधनीहरूको सुरक्षा, हित र समग्र मुलुकको आर्थिक तथा वित्तीय अवस्थामा सुधार आउने अपेक्षा आफूहरूको रहेको समृद्धिका मर्जर समितिका संयोजक घिमिरेले बताए।
आवश्यक प्रक्रियासँगै नियामक निकायको स्वीकृतिपछि आउँदो मंसिर महिनाभित्र एकीकृत कारोबार सुरु गर्ने लक्ष्यसहित मर्जरको कामलाई अघि बढाइने पोखराका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले जानकारी दिए। मर्जर समझदारीसँगै आइतबारदेखि दुवै संस्थाको सेयर कारोबार रोक्का गरिएको उनले जानकारी दिए।