
देशका विभिन्न क्षेत्रमा गएको १२ घण्टामा भारीदेखि अति भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा बढी कास्कीको लुम्लेमा १५१ मिलिमिटर वर्षा भएको छ ।
यस्तै, धनकुटामा १२१, सुनसरीमा १३०, इलाम माईपोखरीमा १२१ मिलिमिटर वर्षा भएको छ । यी चार स्थानमा अतिभारी वर्षा मापन भएको विभागले जनाएको छ । अन्य धेरै जिल्लामा भारी वर्षा भएको छ ।
पूर्वी नेपालमा बढी वर्षा भएको जानकारी दिँदै विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आज मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा गराउने प्रणाली सर्दै आएको जानकारी दिए। भोलिसम्म यो अवस्था रहने र बिस्तारै हट्दै जाने पनि उनले बताए । मौसमविद् अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ । यसका कारण नेपालमा वर्षा गराउने प्रणाली विकसित भएको हो।
अन्य भारी वर्षा भएका जिल्लामा सिन्धुपाल्चोक, कास्की, पर्वत, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर, तनहुँ, खोटाङ, सोलुखुम्बु, संखुवासभा, तेह्रथुम, म्याग्दी, झापामा पनि पछिल्लो २४ घण्टामा भारी वर्षा भएको छ । अन्य केही पहाडी जिल्लाका पहाडी क्षेत्रमा पनि भारी वर्षा भएको विभागले जनाएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार पर्वत जिल्लास्थित मोदीखोला जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तहआसपास बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रआसपास बसोबास गर्नेहरूलाई सावधानी अपनाउन अनुरोध गरिएको छ ।
यसैगरी बिहान इलामको कन्काई मैनाचुलीमा पनि जलसतह सतर्कता तहआसपास पुगेको थियो । सुनसरीको सार्दुल खोलामा पनि जलसतहले सतर्कता तह पार गरेको थियो । सुनसरीको बुढीखोलाले दुहबी जलमापन केन्द्रमा राति १ः२० बजे जलसतहकाे खतरा तह नै पार गरेपछि साइरन बजेको थियो ।