मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 20 July, 2025
Invalid date format १o:३६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

खडेरीले खानेपानीको संकट, मुसहरबस्तीमा ट्यांकरबाट पानी वितरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:३६:oo

खडेरीले भूमिगत पानीको सतह सुक्दै गएपछि खानेपानीको संकट बढ्न थालेको छ। सिराहाको लहान नगरपालिका १ र २ मटियर्वा, मिलन चोक क्षेत्रका खानेपानीका कलसमेत सुक्न थालेपछि स्थानीय मुसहरबस्तीमा खानेपानी अभाव हुन थालेको छ । लामो समयदेखिको खडेरी, अत्यधिक गर्मी र भूमिगत पानीको सतह सुक्दै जाँदा बस्तीका बासिन्दा खानेपानीका लागि समस्यामा परेपछि डिभिजन वन कार्यालय लहानले ट्यांकरबाट पानी वितरण थालेको छ ।

मधेश प्रदेश सरकारमातहत रहेको डिभिजनले मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा शुक्रबार र शनिबार दुई दिन ट्यांकरबाट खानेपानी वितरण गरेको हो । खानेपानीको संकट झेलिरहेका विपन्न दलित बस्तीहरूमा नियमित रूपमा ट्यांकरमार्फत पानी वितरणको व्यवस्था मिलाइएको डिभिजनले जनाएको छ । 

डिभिजनका सूचना अधिकारी राधेश्याम चौधरीले शनिबारसम्म दुई दिन करिब १० हजार लिटर खानेपानी ट्यांकरमार्फत वितरण गरिएको बताए । ‘डिभिजनसँग खानेपानी बाँड्न कुनै बजेट, कार्यक्रम छैन,’ उनले भने, ‘तर, विपन्न दलित बस्तीहरूमा खानेपानीको समस्या नहोस् भनेर  दलित बस्तीमा पानी बाँडिएको हो, त्यस्तै अभाव अन्यत्र पनि रहेको खबर आएको खण्डमा त्यहाँ पनि बाँड्छौँ ।’

विपन्न दलितबस्तीमा खानेपानी वितरणले तत्काल संकट समाधान भएको स्थानीयसमेत रहेका जनमत पार्टीका केन्द्रीय सदस्य बालेश्वर यादवले बताए । उनका अनुसार मुसहरबस्तीमा रहेका हातेकल सुकेपछि दर्जनौँ परिवार समस्यामा थिए । ‘तत्काल राहतस्वरूप ट्यांकरमार्फत खानेपानी पुर्‍याएका छौँ,’ उनले भने, ‘आवश्यकताअनुसार डिभिजनसँगको समन्वयमा अन्य ठाउँमा पनि खानेपानी पुर्‍याउनेछौँ ।’

‘जलवायु परिवर्तन, भूमिगत पानीको अत्यधिक दोहन, अनियन्त्रित चुरे फँडानी र सरकारी बेवास्ताका कारण अहिलेको संकट उत्पन्न भएको हो,’ उनले भने, ‘यस्तो संकटका वेला प्रदेश सरकार मात्र होइन, संघीय सरकार र स्थानीय तहहरूको समेत समन्वय गर्न जरुरी छ ।’ खानेपानीको दीर्घकालीन समाधानसम्बन्धी योजना छनाेट गरी स्थानीय सरकारले बनाउने वार्षिक नीति, कार्यक्रम र बजेटमा प्राथमिकता दिइनुपर्ने उनको सुझाव छ । 

‘ट्यांकरबाट पानी वितरण त तत्कालीन समाधान मात्र हो,’ उनले भने, ‘दीर्घकालीन समाधानका लागि स्थानीय सरकारसहित खानेपानीसँग सम्बन्धित अन्य निकायले पनि के के गर्ने हो, योजनाबद्ध रूपमा काम गर्नुपर्छ ।’ विशेषगरी पूर्व–पश्चिम लोकमार्गको उत्तरी भेगमा भूमिगत पानीको सतह निरन्तर सुक्दै जान थालेको छ भने दक्षिणतर्फ पनि घट्दो क्रममा रहेकाले त्यसको विकल्पमा के–के गर्नुपर्छ, योजना बनाएर कार्यान्वयन थालिहाल्नुपर्ने अन्यथा खानेपानीको भयावह संकट हुन सक्ने उनले बताए ।