मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 20 July, 2025
डेभिड स्मिथ
Invalid date format १o:१५:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

आफ्नै समर्थकको निसानामा राष्ट्रपति ट्रम्प

Read Time : > 5 मिनेट
डेभिड स्मिथ
नयाँ पत्रिका
Invalid date format १o:१५:oo

गत एक दशकको अवधिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकको निसानामा कहिले बराक ओबामा पर्थे भने कहिले डिप स्टेट पर्थे । त्यस्तै, अवैध आप्रवासीदेखि ट्रान्सजेन्डर अभियन्तासम्म पनि उनीहरूको तारो बने । तर, अहिले आएर तिनले नयाँ निसाना भेटेका छन्, डोनाल्ड ट्रम्प ।

ट्रम्पको अभियान ‘मेक अमेरिका ग्रेट अगेन’ (मागा) का समर्थक नै अहिले उनीसँग रुष्ट भएका छन् । ट्रम्पले जेफ्री एपस्टिनसम्बन्धी कागजात सार्वजनिक गर्ने वाचामा विश्वासघात गरेको तिनको विश्वास छ । एपस्टिन सन् २०१९ मा बालबालिकालाई यौनधन्दामा संलग्न गरेको आरोपमा कारागारमा थिए, त्यहीँ उनी मृत फेला परेका थिए । विगतमा राष्ट्रपति ट्रम्प र उनका सहयोगीले एपस्टिनले यौन क्रियाकालापका लागि बालबालिका पठाएका ग्राहकको गोप्य सूची रहेको र त्यसलाई ढाकछोप गर्न उनलाई जेलमा मारिएको दाबी गर्थे । तर, गत हप्ता ट्रम्प नेतृत्वको न्याय मन्त्रालय र संघीय अनुसन्धान ब्युरो (एफबिआई)ले कुनै गोप्य ग्राहकको सूची फेला नपरेको घोषणा गर्‍यो । ट्रम्प प्रशासनले यस घोषणापछि यो प्रकरण सेलाएर जाने सोचेको थियो होला । तर, उल्टै अमेरिकी राजनीति तरंगित बन्यो । 

ट्रम्प र उनकै समर्थकले प्रचार गरेअनुसार नै एपस्टिनबारे सही सूचना आउनेमा विश्वस्त भएका उनका समर्थक अहिले आफूलाई ढाँटेको महसुस गरिरहेका छन् । ट्रम्पले सधैँझैँ यसपटक पनि विरोधाभाषी स्पष्टीकरण, बहाना र झुटा दाबीमार्फत बहसलाई अन्यत्र मोड्ने रणनीति अंगीकार गरिरहेका छन् । तर, ट्रम्पका तर्कले ‘मागा’ समर्थकको क्रोध घटाउनुको साटो उल्टो आगोमा पेट्रोलको काम गरिरहेको छ । वर्षौंसम्म ‘डिप स्टेट (राज्यको भित्रभित्रसम्म प्रभाव पारेका स्वार्थ समूह)’लाई ध्वस्त पार्न सक्ने एक मात्र मुक्तिदाताको रूपमा प्रस्तुत गरिएका ट्रम्प यस प्रकरणपछि समर्थकका नजरमा आफैँ सोही भ्रष्ट व्यवस्थाको अंश बनेका छन् ।

‘एपस्टिन प्रकरणका लुकाइएका सबै गोप्य कुरा बाहिर ल्याउने ट्रम्पको वाचा थियो । साँच्चै यसले डिप स्टेटलाई पर्दाफास गर्ने थियो । तर, अहिले आएर ट्रम्प नै त्यस प्रकरणमा खासै केही नभएको बताउँदै छन् । कसैले पत्याउने कुरा होइन यो,’ सन् २०२० को राष्ट्रपतीय चुनावका लागि रिपब्लिकन पार्टीभित्रै ट्रम्पसँग प्रतिस्पर्धा गरेका रिपब्लकन कंग्रेस सदस्य जो वाल्सले भने ।

एपस्टिनविरुद्ध पहिलो यौन दुव्र्यवहारको आरोप सन् २००६ मा लागेको थियो । एकजना १४ वर्षीया किशोरीका आमाबाबुले आफ्नी छोरीलाई एपस्टिनले दुव्र्यवहार गरेको प्रहरीमा रिपोर्ट लेखाएका थिए । तर, सो मुद्दामा विवादास्पद रूपमा आरोप स्वीकारेबापत उनको सजाय कटौती हुने सम्झौता (प्ली डिल) अन्तर्गत एपस्टिनलाई १३ महिनाभन्दा छोटो समयमै जेलमुक्त गरियो । सन् २०१९ मा उनी फेरि न्युयोर्कमा पक्राउ परे । यसपटक उनीमाथि दर्जनौँ किशोरीलाई यौन गतिविधिमा संलग्न हुन मोलमोलाइ गर्दै बेचबिखन गरेको आरोप लागेको थियो ।

सन् २०२२ मा ती किशोरीमाथिको बेचबिखन तथा दुव्र्यवहार मुद्दामा एपस्टिनलाई सघाएको आरोपमा एपस्टाइनकी प्रेमिका घिसलेन म्याक्सवेल पनि जेल परिन् । म्याक्सवेलले सुनुवाइका क्रममा ब्रिटिस राजकुमार एन्ड्रयु (वर्तमान राजा चाल्र्सका भाइ) र पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टनजस्ता उच्चपदस्थ व्यक्तित्वसँग एपस्टिनको उठबस रहेको विवरण बाहिरियो । तथापि, एन्ड्रयु र क्लिन्टन दुवैले आफूहरूको एपस्टिनसँगको सम्बन्ध कुनै गलत कामका लागि नभएको दाबी गरे ।

सन् २०१९ मा ट्रम्पको पहिलो कार्यकालको समयमा एपस्टिन आफ्नो कारागारभित्र झुन्डिएर मरेको अवस्थामा फेला परेको अधिकारीले बताए । उनको आत्महत्यालाई लिएर धेरैले आशंका व्यक्त गरे । आत्महत्या भएको भनिएको दिन एपस्टिन थुनिएको कोठावरपरका सुरक्षा क्यामेरा बिग्रिएको पाइनुलगायतका घटनाले आशंकालाई थप बढाउन सघायो । शंका गर्नेले एपस्टिनसँग जोडिएका धनाढ्य र प्रभावशाली ग्राहकलाई जोगाउन सरकारले नै यस मुद्दाका कैयाँै विवरण लुकाएको दाबी गर्न थाले । 

ट्रम्प आफैं एपस्टिनका मित्र हुन् । सन् २००२ मा न्युयोर्क म्यागजिनसँगको कुराकानीमा ट्रम्पले यसबारे विस्तारमा बताएका थिए । जसमा उनले भनेका थिए, ‘म जेफ (जेफ्री)लाई १५ वर्षदेखि चिन्छु । उनी एक उत्कृष्ट मानिस हुन् । उनको संगत धेरै रमाइलो हुन्छ । भनिन्छ कि उनलाई पनि मलाई जत्तिकै सुन्दर महिला मन पर्छ, जसमध्ये धेरै युवै हुन्छन् ।’ गत बिहीबार (जुलाई १७) चर्चित अमेरिकी पत्रिका ‘द वाल स्ट्रिट जर्नल’ले सन् २००३ मा ट्रम्पले एपस्टिनलाई पठाएको एक पत्रको विवरण छाप्यो । नग्न महिलाको स्केचसहितको पत्रबारेको समाचारलाई ट्रम्पले खण्डन गरेका छन् । यस समाचार छाप्ने पत्रिका र यसका मालिक रुपर्ट मर्डोकविरुद्ध मानहानिको मुद्दासमेत दायर गरेका छन् ।

चुनावी अभियानका यो मुद्दासँग जोडिएका फाइल सार्वजनिक गर्ने बताएका ट्रम्पले सत्ता सम्हालेपछि फेब्रुअरीमा यस प्रकरणसम्बन्धी कागजात सार्वजनिक गरेका थिए । तर, त्यसमा केही नयाँ जानकारी थिएन । त्यसपछि जुन महिनामा राष्ट्रपति ट्रम्पसँग विवाद चर्किएका वेला ट्रम्पका पूर्वसल्लाहकार तथा अर्बपति इलन मस्कले ‘एपस्टिन फाइलमा ट्रम्पको पनि नाम’ रहेको सामाजिक सञ्जाल एक्समा दाबी गरे (यो पोस्ट मस्कले पछि डिलिट गरे) । त्यसको एक महिनापछि न्याय मन्त्रालय र एफबिआईले जारी गरेको ज्ञापनपत्रले ‘एपस्टिन फाइल’मा थप अनुसन्धान गर्नुपर्ने कुनै प्रमाण नरहेको जानकारी दियो । एपस्टिनको हत्या भएको हो भन्ने दाबी खारेज गर्न उनको मृत्यु भएको रातको उनी थुनिएको न्युयोर्क जेलको झन्डै ११ घन्टा लामो भिडियो सार्वजनिक गरिएको छ । तर, फुटेजमा एक मिनेटजतिको अंश भने एक्कासि कटेको देखिएपछि हत्यासम्बन्धी दाबी पूरै खारेज भएको छैन । 

‘मागा’ समर्थक अहिले आक्रोशित छन् । मागा समर्थक मिडिया व्यक्तित्व टकर कार्लसन, राजनीतिक अभियन्ता लौरा लुमर र ट्रम्पका पूर्वसल्लाहकार स्टिव ब्याननसमेतले यस मुद्दालाई सरकारले जसरी अगाडि बढाइरहेको छ, त्यसमा पारदर्शिता नदेखिएको दाबी गरेका छन् । उग्र दक्षिणपन्थी टिप्पणीकार ज्याक पोसोबिकले त ‘जेफ्री एपस्टिन फाइल’को अनुसन्धानका लागि विगतमा जनवरी ६ को राजनीतिक विद्रोहका लागि बनाइएकोजस्तो समिति बनाउनुपर्ने माग गरेका छन् । 

आफ्नो मताधारलाई विश्वस्त पार्न ट्रुथ सोसलमा यस विषयमा शृंखलाबद्ध पोस्ट गरिरहेका छन् । जसमध्ये एउटा पोस्टमा उनले भनेका छन्, ‘मेरा ‘केटाहरू’ र केही अवस्थामा ‘केटीहरू’लाई के भइरहेको छ ? किन महान्यायाधिवक्ता पाम बोन्डीको पछि लागिरहेका छौ ? उनले सानदार काम गरिरहेकी छिन् ! हामी सबै मागा भन्ने एउटै टिमका सदस्य हौँ । जे भइरहेको छ, मलाई मन परिरहेको छैन ।’ उनले मरिसकेको व्यक्तिलाई लिएर आफ्नो प्रशासनलाई कमजोर बनाउने खेल भइरहेकोसमेत दाबी गरे । 

ट्रम्पले आफ्नो राजनीतिक करियरमा धेरै राजनीतिक शत्रुलाई पराजित गरेको देखिएको छ । तर, यसपटकको संघर्ष आफ्नै आधारविरुद्ध छ, जसविरुद्ध उनी कहिल्यै उभिनुपरेको थिएन । समर्थकलाई थामथुम पार्ने हिसाबले उनले विरोधाभाषी नीति अंगीकार गरेका छन् । एकातर्फ यस्तो ‘झिनामसिना विषयमा अल्झिन नहुने’ बताइरहेका छन् भने अर्कोतर्फ आफू पनि एपस्टिनसँग सम्बन्धित कुनै पनि ‘विश्वसनीय’ प्रमाण भए बाहिर ल्याइनुपर्ने पक्षमा रहेको बताइरहेका छन् । एकपटक उनले सम्पूर्ण प्रकरण एफबिआईका पूर्वनिर्देशक जेम्स कोमी र पूर्वडेमोक्रेटिक राष्ट्रपतिद्वय बराक ओबामा र जो बाइडेनद्वारा ‘निर्मित’ परिघटना भएको आरोप लगाए, तथापि यस दाबी पुष्टि गर्ने कुनै प्रमाण भने थिएन । 

ट्रम्पले केही अगाडि बढेर ‘कट्टर वामपन्थी’को बहकाउमा आएका आफ्ना ‘कमजोर’ समर्थकको आलोचना गरे । ‘मलाई अब यस्ता समर्थकको समर्थन चाहिँदैन !’ उनले यस प्रकरणमा लेखेका कैयौँ पोस्टमध्ये एउटामा लेखेका छन् । तर, उनका यी भनाइले मागा समर्थक विश्वस्त देखिएका छैनन् । केहीले विरोधमा यस प्रकरणमा असन्तुष्टि व्यक्त गर्न ‘म्यागा’ लेखिएको रातो टोपी जलाएको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । 

विभिन्न प्रयासका बाबजुद ट्रम्पमाथि दबाब बढ्दै गएको छ । पहिलो कार्यकालमा ट्रम्पका उप–राष्ट्रपति रहेका माइक पेन्सले ‘सिबिएस–न्युज’लाई भर्खरै दिएको अन्तर्वार्तामा ‘वर्तमान सरकारले जेफ्री एपस्टिन प्रकरणमा भएका सबै अनुसन्धानका फाइल सार्बजनिक गर्ने समय आएको’ बताए । ट्रम्पप्रति बफादार मानिने कंग्रेसको तल्लो सदनका सभामुख माइक जोनसनले समेत यस मुद्दामा ट्रम्पबाट टाढिँदै न्याय मन्त्रालयलाई एपस्टिन विषयका सबै कागजात सार्वजनिक गर्न आह्वान गरेका छन् । यस मागलाई तल्लो सदनका रिपब्लिकन सांसदको सानो तर बढ्दो समूहले समर्थन जनाएको छ । यो प्रकरण तातिएपछि मस्कले ट्रम्पले ‘ढाकछोप’ गरेको आरोप लगाउँदै समाजिक सञ्जाल एक्समा दर्जनौँ पोस्ट गरिसकेका छन् । दबाब बढ्दै गएपछि बिहीबार ट्रम्पले ‘ग्रान्ड जुरी टेस्टिमोनी’ जारी गर्न अनुमति दिन अदालतसँग अनुरोध गर्ने घोषणा गरे । यो ट्रम्पको आफैँले सिर्जनाको संकटलाई थामथुम पार्ने पछिल्लो प्रयास थियो ।

‘हाउ द राइट लस्ट इट्स माइन्ड’का लेखक चार्ली साइक्सका अनुसार ‘ट्रम्प आफैंले सिर्जना गरेका षड्यन्त्र सिद्धान्तका आहार बन्ने अवस्थामा पुगेको’ बताए । ‘ डोनाल्ड ट्रम्प कैयौँ षड्यन्त्र सिद्धान्तको उत्पादन र प्रवर्तक दुवै हुन् । ती षड्यन्त्र सिद्धान्तले उनलाई राष्ट्रपति पदसम्म पुर्‍याउन सघाए । तर, विडम्बना, अहिले उनी आफैँले सिर्जना गरेका  षड्यन्त्र सिद्धान्तले उनैलाई असर गर्न थालेको छ । जेफ्री एपस्टिनको भूतले ट्रम्पको राष्ट्रपति पदमा सबैभन्दा ठुलो डर सिर्जना गरेको छ । ट्रम्पले अहिले चाल पाएको हुनुपर्छ कि वर्षौंसम्म आफैँले प्रचार गरेको षड्यन्त्र सिद्धान्त अचानक गलत भन्दैमा मानिसले पत्याउन नछाड्ने रहेछन्,’ साइक्सले भने । 

एपस्टिन प्रकरणमार्फत ट्रम्पले उदारवादी राजनीतिज्ञ (एलिटहरू) बाल यौन दुराचारी हुन्छन् र रिपब्लिकनलाई बालबालिकाको रक्षकको रूपमा प्रस्तुत गर्न सफल भएका थिए । तर, अब ट्रम्पको यु–टर्नले धेरैलाई धोका दिइएको महसुस गराएको छ । ट्रम्पको आफ्नै मताधारमाझ उत्पन्न असन्तुष्टि भने डेमोक्य्राटका लागि एक दुर्लभ राजनीतिक उपहारका रूपमा आएको छ । अहिले कंग्रेसका अधिकांश डेमोक्य्राटले एपस्टिनसँग जोडिएका सबै फाइल सार्वजनिक गर्न आह्वान गर्न थालेका छन् । ट्रम्प आलोचक र क्यापिटल हिलकी पूर्व रिपब्लिकन सञ्चार निर्देशक तारा सेटमेयर पनि यस विश्वासघातको भावनाले अर्को वर्ष हुने प्रतिनिधिसभा र सिनेटको मध्यावधि चुनावमा रिपब्लिकन पार्टीलाई असर गर्न सक्ने मान्छिन् । 

स्मिथ वासिंटन डिसीका लागि द गार्जियनका ब्युरो प्रमुख हुन् 
–द गार्जियनबाट