मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ४ आइतबार
  • Sunday, 20 July, 2025
२o८२ श्रावण ४ आइतबार o९:३५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

बुटवल-नारायणगढ सडक : ७० प्रतिशत भौतिक प्रगति 

आर्थिक भार नथपिने गरी एक वर्ष म्याद थप गर्ने तयारी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ४ आइतबार o९:३५:oo

बुटवल–नारायणगढ सडकखण्ड विस्तारको म्याद सकिँदै छ । साउन ८ गते म्याद सकिँदै गर्दा अब करिब एक वर्ष म्याद थप गर्ने तयारी छ । यसबिचमा पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको भौतिक प्रगति अहिलेसम्म जम्मा ७० प्रतिशतको हाराहारीमा मात्र पुगेको छ । दाउन्ने सडकखण्डबाहेक अन्यत्र यातायात सञ्चालनमा पहिलेको तुलनामा धेरै सहज भएको छ, तथापि ठाउँठाउँमा अलपत्र पूर्वाधारहरू अझै देख्न सकिन्छ ।

पुलनजिकका खाल्टाखुल्टीहरू कतिपय ठाउँमा अझै बाँकी छन् भने मुख्य समस्या अहिले दाउन्ने सडकखण्डमा रहेको छ । दाउन्ने सडकखण्डको पश्चिमखण्डमा यात्रा केही सहज भए पनि पूर्वीखण्डमा भने निक्कै कठिनाइ हुने गरेको छ। पछिल्लो ६ महिना केही द्रुत गतिमा काम देखाएको ठेकेदार कम्पनी चाइना स्टेट कम्पनीले अहिले दाउन्नेमा केन्द्रित रहेर काम गरिरहेको छ। दसैँअगाडि दाउन्नेको बाटो पनि अन्यत्रजत्तिकै सहज गराउने गरी काम गरेको हो । दसैँअगाडि दाउन्नेमा कम्तीमा एकतर्फी कालोपत्रे सक्ने योजना निर्माण कम्पनीको रहेको छ। दाउन्नेको १४ किलोमिटर सडकखण्डमध्ये पश्चिम बर्दघाटतर्फ तीन  किलोमिटर सडक मात्र कालोपत्रे भएको छ।

दाउन्ने सडक अहिले धुलो र हिलोले बिजोग हुने गरेको छ । यसको मार यात्रुका साथै स्थानीय बासिन्दा र दाउन्नेका व्यापारीहरूमा समेत गरेको छ । नारायणगढ–बुटवल सडक आयोजना पूर्वखण्डका प्रमुख ईश्वरबहादुर रिजालका अनुसार अहिलेसम्म ७० प्रतिशत काम सकिएको छ। त्यसैगरी दाउन्नेखण्डमा सडक निर्माणको काम तीव्र गतिमा बढेको उनले बताए। साउन ८ गते म्याद सकिँदै गर्दा करिब एक  वर्ष म्याद थप गरेर काम सक्नुपर्नेमा नारायणगढ बुटवल सडक आयोजना पूर्वखण्डका प्रमुख ईश्वरबहादुर रिजालले जोड दिए। 

तेस्रोपटक थपिएको समयावधिमा पनि काम नसकिएपछि सरकारले चौथोपटक म्याद थप्ने तयारी गरेको छ। सुरु ठेक्का सम्झौताअनुसार यो राजमार्ग ०७९ साउनमै सम्पन्न भइसक्नुपर्ने हो। तर, अहिलेसम्म पनि काम सकिएको छैन। सरकारले फेरि थप एक वर्षको म्याद थप गर्न लागेको हो। यो सडक हेर्ने आयोजना निर्देशनालयका प्रमुख इन्जिनियर चुडाराज ढकालका अनुसार आउँदो बुधबार फेरि सडक स्तरोन्नति गर्ने म्याद (समय अवधि) एक वर्ष थप्न सम्झौता हुनेछ।

आउँदो बुधबार सडक विभाग र चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनबिच मन्त्रालयमा लिखित सम्झौता गरेर ०८३ साल साउनसम्मको म्याद थपिने पक्कापक्की भएको हो । चिनियाँ ठेकेदारले भने करिब १८ महिना म्याद थप गर्न माग राखेको छ। ठेकेदारको मागअनुसारको समय दिन नसकिने ढकालले सुनाए । उनले भने, ‘थपिएको म्यादमा थप लागत नबढ्ने सर्तमा एक वर्ष म्याद थप गर्ने तयारी गरेका छौँ। उनीहरू (ठेकेदार कम्पनी) ले हुन्छ भनेका छन्, त्यहीअनुसार म्याद थप हुन्छ ।’ 

बुटवल–नारायणगढ सडकखण्डको ११३ किलोमिटर सडकमध्ये असार मसान्तसम्म एक सय किलोमिटर सडक कालोपत्रे भएको छ । दुवैतर्फ भने ८० किलोमिटर सडक मात्र कालोपत्रे भएको छ । पूर्वी पश्चिम नवलपरासी र रुपन्देहीको बजार क्षेत्रमा ६ लेन, जंगलमा चार लेन र दाउन्नेमा तीन लेनको सडक निर्माण भइरहेको बुटवल–नारायणगढ सडक निर्माणको काम १७ अर्बमा चिनियाँ ठेकेदारले ठेक्का लिएको हो।