
वर्तमान राजनीतिक परिदृश्यमा देखिएको जटिलता र अनिश्चितताले राष्ट्रिय बहसलाई एउटा नयाँ मोडमा पुर्याएको छ । दशकौँदेखि अस्थिर सरकार, व्यापक भ्रष्टाचार र कमजोर नीति कार्यान्वयनले देशले अपेक्षित प्रगति गर्न नसक्दा आमनागरिकमा राजनीतिक नेतृत्वप्रति गहिरो निराशा र वितृष्णा छाएको छ, जसले परिवर्तनको तीव्र चाहना बढाएको छ ।
परिवर्तनको आवश्यकता : नेपालको राजनीतिक यात्रा दशकौँदेखि अस्थिरता र चुनौतीले घेरिएको छ । सरकार फेरबदल भइरहने, दलीय स्वार्थ हाबी हुने र राष्ट्रिय एजेन्डा ओझेलमा पर्ने प्रवृत्तिले देशलाई निरन्तर अनिश्चिततातर्फ धकेलिरहेको छ । राजनीतिक नेतृत्वले सुशासन, आर्थिक विकास र जनजीविकाका आधारभूत समस्या समाधान गर्न सकेको छैन । भ्रष्टाचारले जरो गाडेको छ, दण्डहीनताले विधिको शासनलाई कमजोर बनाएको छ र जनतामा राज्यप्रतिको विश्वास क्षय हुँदै गएको छ । युवा जनशक्ति निराश भई ठुलो संख्यामा विदेश पलायन भइरहेका छन्, जसले देशको भविष्यमाथि नै प्रश्न खडा गरेको छ ।
परम्परागत राजनीतिक दलबाट परिवर्तनको आशा मन्द हुँदै गएको यो परिस्थितिमा, राष्ट्रिय हितलाई सर्वोपरी राख्ने र इमानदारीपूर्वक काम गर्ने नेतृत्वको खोजी भइरहेको छ । यो गम्भीर राष्ट्रिय संकटले अब केवल ‘नयाँ अनुहार’ मात्र नभई नयाँ सोच र कार्यशैली बोकेका व्यक्तिहरूको राजनीतिक हस्तक्षेपको माग गरेको छ । राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व, राष्ट्रिय चिन्तनको कमी, सिद्धान्तहीन गठबन्धन, असीम भ्रष्टाचार र शक्ति बाँडफाँटको फोहोरी खेलले आमनागरिकलाई वाक्कदिक्क बनाएको छ ।
पूर्वसुरक्षाकर्मी तथा राष्ट्रसेवकको अनुभव र क्षमता : पूर्वसुरक्षाकर्मी तथा राष्ट्रसेवकहरू, विशेषगरी उच्च पदमा पुग्ने व्यक्तित्वको अनुभव अत्यन्तै विविधतायुक्त र गहन हुन्छ । विशेषत: सैनिक सेवाका उच्च अधिकारीले रणनीतिक योजना, ठुला संगठनको व्यवस्थापन, जटिल परिस्थितिको विश्लेषण र द्रुत निर्णय क्षमताजस्ता सीप विकास गरेका हुन्छन् । सैन्य अधिकारीले राष्ट्रका सुरक्षा चुनौती, भूराजनीतिक समीकरण र अन्तर्राष्ट्रिय सम्बन्धको सूक्ष्म ज्ञान प्राप्त गरेका हुन्छन्, जुन राष्ट्रिय हितरक्षा र परराष्ट्र नीति निर्माणमा अमूल्य साबित हुन सक्छ । उनीहरूले विभिन्न मिसन र अभ्यासमा संलग्न हुँदा नेतृत्व, समन्वय र परिणाममुखी कार्यशैलीको प्रत्यक्ष अनुभव लिएका हुन्छन् । कठोर अनुशासन र इमानदारी उनीहरूको व्यक्तित्वको अभिन्न अंग बनेको हुन्छ । यसबाहेक, स्रोतको कुशल व्यवस्थापन, जोखिम न्यूनीकरण र संकटकालीन अवस्थामा संयमता कायम गर्ने उनीहरूको क्षमताले राष्ट्रिय राजनीतिमा प्रवेश गर्दा सुशासन र प्रभावकारी कार्यसम्पादनमा महत्वपूर्ण टेवा पुर्याउन सक्छ । अझ सैन्य प्रणालीभित्रै विभिन्न प्राविधिक, व्यवस्थापकीय र मानवीय पक्षको तालिम र अनुभवले उनीहरूलाई नागरिक क्षेत्रका जटिलता बुझ्न र समाधान खोज्न सक्षम बनाएको हुन्छ । उनीहरूको यो अनुभव नागरिक प्रशासनको सुदृढीकरणका लागि समेत प्रभावकारी हुन सक्छ, जहाँ दक्षता र प्रभावकारिताको अभाव अक्सर देखिन्छ ।
अमेरिकामा, जर्ज वासिंटनदेखि ड्वाइट डी आइजनहावरसम्मका कैयौँ राष्ट्रपति पूर्वजनरल थिए, जसले आफ्नो सैन्य अनुभवलाई राष्ट्र निर्माणमा सफल रूपमा प्रयोग गरे । इजरायलका एहुद बाराकजस्ता पूर्वप्रधानमन्त्रीले पनि यसलाई प्रमाणित गरेका छन् ।
राज्यले अवसर र स्थान प्रदान गरेको खण्डमा पूर्वसुरक्षाकर्मी तथा राष्ट्रसेवक अधिकारीको अनुभव र क्षमतालाई सिर्जनात्मक रूपमा राज्यले प्रयोग गर्न सकेमा राष्ट्र र जनतालाई फाइदा पुग्छ । अझ हाम्रोजस्तो राजनीतिक अस्थिरता भएको मुलुकमा पूर्वसुरक्षाकर्मी र राजनीतिकर्मीबिचको समन्वय, सहकार्य तथा तालमेल मिलाउन सकिएको खण्डमा यो प्रयास समग्र राष्ट्र र जनताकै हितमा हुनेछ । हरेक राजनीतिक पार्टी, संघसंस्था, संगठन, व्यक्तिगत तहबाट पनि व्यक्तिगत स्वार्थभन्दा माथि उठी समग्र राष्ट्रको बृहत्तर हितका निम्ति लाग्ने हो भने सबै वर्ग, क्षेत्र तथा समुदायलाई एकताबद्ध गर्दै लैजान सकेको खण्डमा वर्तमान अस्थिरतालाई सजिलै स्थिरतामा बदल्न सकिन्छ ।
राष्ट्रिय सुरक्षा र कूटनीतिमा रणनीतिक नेतृत्व : राष्ट्रिय राजनीतिमा पूर्वसुरक्षाकर्मीको प्रत्यक्ष सहभागिताले राष्ट्रिय सुरक्षा र परराष्ट्र नीतिका क्षेत्रमा रणनीतिक लाभ पुग्न सक्छ । उनीहरूसँग सुरक्षा रणनीति निर्माण, प्रतिरक्षा नीतिको पुनरावलोकन र आन्तरिक सुरक्षासम्बन्धी योजनालाई अझ बलियो बनाउन सक्ने व्यावहारिक ज्ञान हुन्छ । अन्तर्राष्ट्रिय सम्बन्धको जटिलता बुझेका, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको विभिन्न तालिम प्राप्त गरेका र विभिन्न देशका सैन्य तथा कूटनीतिक प्रतिनिधिसँग काम गरेकाले उनीहरूले परराष्ट्र नीति निर्माण र कूटनीतिक पहलमा महत्वपूर्ण र यथार्थपरक भूमिका खेल्न सक्छन् ।
सुरक्षासम्बन्धी सन्धि–सम्झौताको समीक्षा र नयाँ सम्झौतामा उनीहरूको विशेषज्ञता अपरिहार्य हुन्छ । राष्ट्रिय वा अन्तर्राष्ट्रिय संकटका वेला, उनीहरूको संकट व्यवस्थापन र द्रुत निर्णय लिने क्षमताले कूटनीतिक समाधान खोज्न र राष्ट्रिय हितलाई सुरक्षित राख्न मद्दत पुर्याउँछ । उदाहरणका लागि, सीमा विवाद, भूराजनीतिक दबाब वा क्षेत्रीय द्वन्द्वका वेला उनीहरूको बृहत् ज्ञानले राष्ट्रलाई सही दिशामा डोर्याउन सक्छ । यो क्षमता केवल सैद्धान्तिक ज्ञानमा आधारित नभई वर्षौंको व्यावहारिक अनुभवमा आधारित हुने भएकाले राष्ट्रका लागि यसको मूल्य उच्च हुन्छ ।
अमेरिकी पूर्वजनरल कोलिन पावेलले परराष्ट्रमन्त्रीका रूपमा विश्व कूटनीतिमा महत्वपूर्ण योगदान दिए । हालै, भारतका पूर्वचिफ अफ डिफेन्स स्टाफ दिवंगत विपिन रावतले सुरक्षा नीति–निर्माणमा ठुलो भूमिका खेलेका थिए ।
सुशासन र जवाफदेही सरकारको निर्माण : सुरक्षा निकायका अधिकारीमा पाइने शैक्षिक योग्यता, विदेशमा गरिएका बृहत् तालिम, कडा अनुशासन, स्पष्ट नेतृत्व क्षमता र व्यवस्थापकीय सीपले राष्ट्रिय राजनीतिमा सुशासन कायम गर्न र प्रभावकारी नेतृत्व प्रदान गर्न महत्वपूर्ण सहयोग पुर्याउँछ । उनीहरूसँग दीर्घकालीन रणनीतिक सोच हुन्छ, जसले राष्ट्रिय विकास योजना र नीति निर्माणमा महत्वपूर्ण योगदान दिन सक्छ । जटिल राजनीतिक मुद्दामा छिटो र प्रभावकारी निर्णय लिने तथा त्यसलाई अनुशासित ढंगले कार्यान्वयन गर्ने क्षमता उनीहरूमा हुन्छ, जसले सरकारी संयन्त्रमा पारदर्शिता र जवाफदेहिता बढाउन सक्छ ।
आफ्नो सेवामा ठुला बजेट र स्रोत व्यवस्थापन गरेको अनुभवले उनीहरूले राष्ट्रिय बजेटको सदुपयोग र सार्वजनिक सम्पत्तिको कुशल व्यवस्थापनमा ध्यान दिन सक्छन् । भ्रष्टाचार र अनियमिततामा शून्य सहिष्णुता कायम गर्न उनीहरूको कठोर नैतिक आचरण सहायक हुन सक्छ । यसले गर्दा सरकारको कार्यसम्पादनमा सुधार आउने, जनताले सेवा प्रवाहमा सहजता पाउने र सुशासनको प्रत्याभूति हुने सम्भावना रहन्छ । उनीहरूको नेतृत्वले ‘हाइरार्की’भित्र पारदर्शिता र उत्तरदायित्वको संस्कृति विकास गर्न सक्छ, जुन अहिलेको राजनीतिमा अभाव छ ।
सार्वजनिक विश्वास र नागरिक–सैन्य सन्तुलन : केही देशमा, सैन्य संस्थालाई नागरिकले राजनीतिक दलको तुलनामा बढी विश्वास गर्छन् । नेपालमा पनि विभिन्न समयमा राजनीतिक अस्थिरता बढ्दा, सेनाको तथा सुरक्षा निकायको भूमिकाप्रति जनताको विश्वास सकारात्मक देखिएको छ । यसले पूर्वसुरक्षाकर्मीलाई देशका विद्वत् तथा युवा जमातसाथ राजनीतिक क्षेत्रमा प्रवेश गराउँदा जनविश्वास जित्न सजिलो हुन्छ । राष्ट्रसेवामा जीवन समर्पित गरेका कारण उनीहरूलाई निष्ठावान् र समर्पित व्यक्तिका रूपमा हेरिन्छ । यसले गर्दा उनीहरूमाथि जनताको भरोसा बढ्न सक्छ, जसका साथै राष्ट्रिय उद्योगपति तथा व्यावसायिक समूह, कृषक, युवा, विद्वत् वर्गलगायत सबैलाई समेटेर नेतृत्वदायी भूमिका दिनु अपरिहार्य छ, जसले नयाँ राजनीतिक शक्ति स्थापना गर्न सहज हुन्छ ।
प्रजातान्त्रिक मुलुकमा नागरिक र सैन्यबिचको सम्बन्ध सन्तुलित राख्नुपर्छ भन्ने सिद्धान्तलाई पूर्वसुरक्षाकर्मी राजनीतिमा आएर अझ बलियो बनाउन सक्छन् । उनीहरू स्वयं नागरिक नेतृत्वको अधीनमा रहेको सेनाका सदस्य भइसकेकाले, राजनीतिक भूमिकामा आएपछि नागरिक सर्वोच्चताको सम्मान गर्दै काम गर्न सक्छन् । यसले सुरक्षाकर्मीलाई राजनीतिबाट टाढा राख्दै, तर सुरक्षाकर्मीको अनुभवलाई राष्ट्रहितमा प्रयोग गर्ने सन्तुलित मार्ग प्रदान गर्छ ।
‘टाइम पास’बाट सक्रिय सहभागिता : सैद्धान्तिक रूपमा, नेपालका पूर्वसुरक्षाकर्मीसँग देशको सुरक्षा, सुशासन, नीति निर्माण र सामाजिक विकासमा अतुलनीय योगदान दिन सक्ने ज्ञान र अनुभव छ । सेना तथा प्रहरीका अधिकृतहरूमा उनीहरूले आफ्नो सेवामा सिकेका अनुशासन, रणनीतिक सोच र नेतृत्व क्षमतालाई राष्ट्र निर्माणको बृहत् प्रक्रियामा प्रयोग गर्न सके देशले ठुलो लाभ लिन सक्छ । यद्यपि, वर्तमान यथार्थमा कतिपय अवस्थामा केही अवकाशप्राप्त सुरक्षाकर्मी टेनिस वा गल्फ खेलेर, सामाजिक जमघटमा मात्र रमाई वा व्यक्तिगत मनोरञ्जनमा मात्र सीमित रहेका भेटिन्छन् । यसले उनीहरूको ज्ञान र अनुभवलाई राष्ट्रले पूर्ण सदुपयोग गर्न नपाएको बुझिन्छ । आफ्ना गाउँ, नगर र समाजका कतिपय सामाजिक कार्यमा पूर्वसुरक्षाकर्मीको सहभागिता अझ बढी गराउनु अपरिहार्य छ ।
सुरक्षा नीति होस् या विपत् व्यवस्थापन, ठुला पूर्वाधार निर्माण होस् वा सुशासन, पूर्वसुरक्षा अधिकारीको सक्रिय संलग्नता र योगदानको अपेक्षा गरिन्छ । अब उनीहरूले केवल सल्लाहकार वा विश्लेषकको भूमिकामा मात्र सीमित नरही प्रत्यक्ष रूपमा राष्ट्रिय राजनीतिको ‘फोहोर’ सफा गर्ने अभियानमा लाग्नुपर्ने वेला आएको छ । राष्ट्रले उनीहरूको लामो सेवाबाट प्राप्त ज्ञानलाई अधिकतम प्रयोग गर्न पाउनुपर्छ र उनीहरूले पनि आफ्नो ज्ञानलाई राष्ट्रका लागि समर्पित गर्नुपर्छ, चाहे त्यो स्थानीय तहमै किन नहोस् ।
निष्कर्ष : नेपालको वर्तमान राजनीतिक दुर्दशालाई मध्यनजर गर्दै, अब परम्परागत दलहरूको विकल्प खोज्ने र स्वच्छ, सक्षम तथा इमानदार नेतृत्वका लागि बाटो खोल्ने समय आएको छ । यस सन्दर्भमा, अवकाशप्राप्त सैन्य अधिकारी र अन्य अनुभवी राष्ट्रसेवक कर्मचारीले सक्रिय राजनीतिमा आउनु राष्ट्रिय आवश्यक छ ।
एक सैनिक जनरल आफ्नो कार्यकालको अवधिमा गुल्मपति (जिल्ला तह), गणपति (दुई–तीन जिल्ला हेर्ने), बाहिनीपति (अञ्चल हेर्ने) र पृतनापति (विकास क्षेत्र/प्रदेश हेर्ने), सेनाको उच्च तहको शिक्षालय हेर्ने शिक्षाधिकृत तथा सेनाको संगठन चलाउने उच्च तहका अधिकृत भई देशका विविध विषयमा देश चलाउने ज्ञान हासिल गरेको एक कुशल अधिकारी हुन्छन् । उनीहरूको नेतृत्व क्षमता, अनुशासन, रणनीतिक सोच र राष्ट्रसेवाप्रतिको निष्ठाले नेपालको राजनीतिमा नयाँ आयाम थप्न सक्छ । यद्यपि, उनीहरूले नागरिक सर्वोच्चताको सिद्धान्तलाई सम्मान गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ ।
अबका दिनमा उनीहरूको ज्ञान र अनुभवलाई केवल गोष्ठी र ‘टाइम पास’मा मात्र सीमित नगरी प्रत्यक्ष रूपमा राष्ट्रनिर्माणको अभियानमा जोड्न सके नेपाल नयाँ युगमा प्रवेश गर्न सक्छ । के यो गर्नु उपयुक्त हुँदैन त ? के देश र जनताप्रति देशका सच्चा सपूतको उत्तरदायित्व हुन्न त ? विगतमा एक उत्कृष्ट विद्यार्थी भई सरकारी सेवामा छनोट भएको व्यक्तिले ऊभन्दा सयौँ गुणा पछाडि रहेका व्यक्ति राजनीतिज्ञ भई देश सञ्चालन गरेको अनि देशलाई बर्बाद पारेको टुलुटुलु हेरी मात्र राख्ने त ? के आजका आफ्ना सन्ततिलाई विग्रह र विसंगतिविरुद्ध जागरुक नगराउने त ?
(नेपाली सेनाका अवकाशप्राप्त उपरथी कार्की राष्ट्रिय सेवा दलका पूर्वकार्यकारी महानिर्देशक हुन्)