
लगातार दुई खेल जितेको हेल्प नेपालको तेस्रो खेलमा किर्गिस्तानको बिस्केकसँग ३–२ सेटको हार
नेपालको प्रतिनिधित्व गरेको हेल्प नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियन्स लिग २०२५ को तेस्रो खेलमा हार व्यहोरेको छ । शनिबार नेपाली लिग च्याम्पियन हेल्प नेपाल कीर्गिस्तानको क्लब बिस्केक कीर्गिस्तानसँग ३–२ ले पराजित भयो । लगातार दुई खेल जितेको हेल्प नेपाल तेस्रो खेलमा पराजित भएको हो । यद्यपि, पाँचौँ सेटमा पराजित हुँदा हेल्प नेपालले एक अंक भने प्राप्त गरेको छ । यो हारपछि तीन खेलबाट टोलीले पाँच अंक जोडेको छ । तालिकाको शीर्ष दुईमा हुनेले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
आफ्नो दोस्रो खेलमा शुक्रबार हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसीलाई ३–१ को सेटमा हराएको हो । यस्तै, प्रतियोगिताको पहिलो खेलमा हेल्प नेपालले माल्दिभ्सकै धिवेसी सिफाइंगेलाई ३–२ कै सेटमा हराएर दुई अंक जोडेको थियो ।
हेल्प नेपाल गत संस्करणको उपविजेता टोली हो । काठमाडौंमा भएको फाइनलमा हेल्प नेपालले भारतीय प्राइम भलिबल लिग क्याम्पियन क्यालिकट हिरोजसँग पराजय व्यहोरेको थियो ।
उत्सव खड्काको प्रशिक्षणमा रहेको हेल्प नेपालले पाकिस्तानबाट उस्मान फर्याद अली, मुराव जेहान र मोहम्मद कासिफ नभिदलाई भित्र्याएको छ । त्यस्तै, नेपाल पुलिस क्लबबाट सफल विश्वकर्मा, रविन नगरकोटी, रविन्द चन्द र एपिएफबाट लिबेरो विनोद चन्दलाई अनुबन्ध गरेको हो । यता, सन्तोष राई, चिरञ्जीवी खड्का, सुवास कुँवर, मनीष मानन्धर, यमबहादुर भण्डारी र विष्णुबहादुर क्षेत्री हेल्प नेपालको प्रतिनिधित्व गरिरहेका छन् ।
सेन्ट्रल एसियन भलिबल एसोसियन (काभा)को आयोजनामा भइरहेको प्रतियोगिता सिंगल राउन्ड रोबिनका आधारमा हुनेछ । च्याम्पियन्स लिगको विजेताले सन् २०२६ को एसियन क्लब च्याम्पियनसिप खेल्न पाउनेछ । जुलाई १७ देखि २३ सम्म चल्ने प्रतियोगितामा सेन्ट्रल एसियाका पाँच राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगिता सिंगल राउन्ड रोबिन पद्धतिमा हुनेछ । त्यसपछि शीर्ष स्थानमा रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् ।
रोमाञ्चक बन्यो खेल
पहिलो खेलमा जस्तै तेस्रो खेलमा पनि हेल्प नेपालले निकै संघर्ष गर्नुपरेको थियो । यद्यपि, किर्गिस्तानको टोलीविरुद्धको खेल निकै रोमाञ्चक बन्यो । शनिबार पनि हेल्प नेपाल दुईपटक खेलमा पछि पर्दै खेल निर्णायक सेटमा पुर्याउन पुग्यो । पहिलो सेटको बिस्केकले २५–२० ले जित्यो । दोस्रो सेटमा उत्कृष्ट कमब्याक गर्दै नेपाल २८–२६ ले जित निकाल्न सफल भयो । तर, तेस्रो सेटमा पुन: २५–२० ले पराजित हुँदा सेटमा २–१ ले पछि पर्यो । तर, चौथो सेटमा सानदार २५–१७ को पुनरागमन गर्न सफल भएको हो । तर, निर्णायक सेटमा भने टोली डिफेन्स र रिसिभ र ब्लकमा कमजोर देखियो । १५–११ ले खेल गुमाउन मात्रै पुगेन, महत्वपूर्ण दुई अंक पनि गुमाएको छ ।