मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 20 July, 2025
Invalid date format o८:४४:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राप्रपामा चुलियो अन्तरकलह

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:४४:oo
  • अध्यक्ष राजेन्द्र लिङ्देनले ‘प्रतिशोध’ साध्दै आफ्नो खेमामा नरहेका नेतालाई पदमुक्त गर्न थालेपछि राप्रपामा बढ्दै छ विवाद, महामन्त्री डा. धवलशमशेर राणाले अगुवाइ गरेको असन्तुष्ट समूह प्रतिवादमा

राजसंस्था पुनस्र्थापना र हिन्दुराष्ट्र घोषणाको नाममा चलेको आन्दोलन सेलाएसँगै राप्रपाभित्र आन्तरिक कलह चर्किएको छ । राप्रपा त्यागी राजावादी आन्दोलनको नेतृत्व गरेका पूर्वपञ्चनेता नवराज सुवेदीले विगतमा सम्हालेको पार्टी अनुशासन समिति संयोजकको जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष रोशन कार्कीलाई जिम्मा दिएपछि विवाद चर्केको हो । त्यसो त राप्रपामा आन्दोलनको नेतृत्व पार्टीले लिनुपर्ने लिङ्देनपक्षको अडान र सर्वमान्य व्यक्तिको नेतृत्वमा आन्दोलन हुनुपर्ने भन्ने धारबिच लामो समयदेखि मतभेद रहँदै आएको थियो ।

राप्रपाले २५ असारमा अनुशासन समिति संयोजकमा उपाध्यक्ष कार्कीलाई मनोनीत गरेपछि पार्टीमा अन्तरकलह चुलिएको थियो । अध्यक्ष लिङ्देनले प्रवक्ताबाट नेता सगुनसुन्दर लावतीलाई पनि हटाएका थिए । लावतीले पछिल्लोपकट महामन्त्री डा. धवलशमशेर राणाको साथ दिँदै आएका थिए । सुवेदीले पार्टी निर्णयविरुद्ध २६ असारमा निर्वाचन आयोगमा निवेदन दिँदै आफूलाई विधानविपरीत हटाइएको उल्लेख गरेका थिए । सुवेदीले पार्टी नछाडेको भन्दै डा. लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, मुकुन्दश्याम गिरी, महामन्त्री डा. राणा र कुन्ती शाहीले अध्यक्ष लिङ्देनले विधानविपरीतको कार्य गरेको सार्वजनिक विज्ञप्ति जारी गरेका थिए । अध्यक्ष लिङ्देनले पार्टी उपाध्यक्ष गिरीलाई पनि शुक्रबार पदमुक्त गरेका छन् । गिरीलाई लिङ्देनले नै केन्द्रीय सदस्य र उपाध्यक्ष मनोनीत गरेका थिए । ‘पार्टीभित्रको गतिविधिको वैधानिक समाधानका लागि गरिएको अपिललाई लिएर मेरो राजनीतिक जीवनमाथि नै खेलबाड गर्ने र मैले पार्टीका लागि लगानी गरेको सम्पूर्ण योगदान, त्याग र तपस्याप्रति पार्टी नेतृत्वले लिएको विधानविपरीतको निर्णयबाट दु:खी त बनाएको छ, तर हतोत्साही भएको छैन,’ गिरीले भनेका छन् ।

पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार मनोनीत गरेका पदाधिकारीलाई हटाउन पार्टी विधानले अध्यक्षलाई अधिकार दिएको छ । ‘निर्वाचित पदाधिकारीहरूको हकमा अनुशासन आयोगले स्पष्टीकरण सोध्नेलगायत प्रावधान छन् । बाँकीको हकमा विधानबमोजिम अध्यक्षले पदाधिकारी मनोनीत गर्ने र आवश्यकताअनुसार पदमुक्त गर्ने हो,’ उनले भने, ‘राप्रपामा विगतका अध्यक्षहरूले गर्दै आउनुभएको अभ्यासलाई अहिलेको अध्यक्षले निरन्तरता दिनुभएको हो र विधान कायम रहेसम्म भविष्यमा पनि हुने यही हो ।पार्टीको विधानअनुसार अध्यक्षको सिफारिसमा गरिने यस्ता निर्णय कार्यान्वयन हुने व्यवस्था छ । अध्यक्षले त्यहीअनुसार निर्णय गर्नुभएको हो ।’

राप्रपा संस्थापन पक्ष असन्तुष्ट पक्ष तथा संस्थापनविरुद्ध अभिव्यक्ति दिँदै आएका नेताहरूविरुद्ध कठोर हुने संकेत देखिएको छ । पार्टी अनुशासन विभागकोे शुक्रबार बसेको बैठकले पार्टीको बृहत्तर हित र एकताविपरीतका गतिविधि नगर्न/नगराउन सचेत गरेको छ । संयोजक कार्कीले बैठक राखेकी थिइन् ।

अनुशासन समितिले पार्टीको नीति, सिद्धान्त र अनुशासनलाई उच्च प्राथमिकतामा राख्न तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा लिखित वा मौखिकरूपमा व्यक्तिगत वा गुटगत अभिव्यक्ति नदिन अनुरोध गरेको छ । पार्टी त्याग गरेका सुवेदीको बचाउमा बिहीबार पार्टी उपाध्यक्ष विक्रम पाण्डे, बर्खास्तीमा परेका मुकन्दश्याम गिरी, महामन्त्री धवलशमशेर राणा र महामन्त्री कुन्ती शाहीले विज्ञप्ति जारी गरी पार्टीमा स्वेच्छाचारिता बढेको आरोप लगाएका थिए । भोलिपल्टै गिरी पदमुक्त भएका छन् भने अन्य नेताहरूलाई अनुशासन समितिले पार्टी हितविपरीतका अभिव्यक्ति सार्वजनिक नगर्न चेतावनी दिएको एक पदाधिकारीले जानकारी दिए ।

‘पार्टी हितविरुद्ध सुवेदीको बचाउ गर्दै निर्वाचन आयोग गएका पार्टी पूर्वअध्यक्ष तथा निर्देशन समितिका संयोजक डा.प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री डा. धवलशमशेर राणा र कुन्ती शाहीलाई पनि आवश्यकताअनुसार सचेत गराइन्छ,’ राप्रपा संस्थापन पक्षका एक नेताले भने, ‘पार्टी अनुशासन समितिमार्फत सुरुवातमा निर्देशन समितिका संयोजक लोहनी र उपाध्यक्ष विक्रम पाण्डेसँग स्पष्टीकरण माग्ने कार्य हुनसक्छ ।’

महामन्त्री राणाले अगुवाइ गरेको असन्तुष्ट समूहले लिङ्देनविरुद्ध पार्टीमा अन्तर्संघर्ष चलाउँदै जाने जनाएको छ । ‘हामीले हाम्रो धारणा सार्वजनिक गरिसकेका छौँ । पार्टीमा अध्यक्षको एकाधिकार र मनोमानी चल्न दिँदैनौँ । हामी अन्तर्संघर्ष जारी राख्छौँ,’ असन्तुष्ट पक्षका एक पदाधिकारीले नयाँ पत्रिकासँग भने ।

राजावादी आन्दोलनका लागि गठित समितिका संयोजक सुवेदीले ४ चैतमा सार्वजनिकरूपमा पार्टी परित्याग गरेका थिए । त्यसवेला पूर्वराजा ज्ञानेन्द्र शाहको रुचिअनुसार सुवेदीलाई आन्दोलनको कमान्ड दिइएको र राप्रपालाई छायामा पार्न खोजिएको विश्लेषण राप्रपामा थियो । पार्टी छाडेका सुवेदी नेतृत्वको जनआन्दोलन समितिमा राप्रपाका नेताहरू डा. प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर राणालगायत थिए । जनआन्दोलन परिचालन समितिसंयोजक राप्रपा महामन्त्री डा. धवलशमशेर राणा थिए ।

सुरुमा समितिमा बस्न अस्वीकार गरेका लिङ्देन पछि पूर्वराजा ज्ञानेन्द्रसँगका केही भेटपछि सुवेदी नेतृत्वको समितिमा बसेका थिए । तर, सुवेदी नेतृत्वको समितिमा रहेका राजावादी समूहले पार्टीलाई कमजोर पार्न कोसिस गरिरहेको लिङ्देन पक्षको विश्लेषण थियो । पार्टीमा लामो समयदेखि असन्तुष्ट रहँदै आएका निर्देशन समितिका संयोजक डा. लोहनी, महामन्त्री डा. राणा, कुन्ती शाही, सगुन लावतीलगायतले आफूविरुद्ध पार्टीभित्र र राजावादी आन्दोलन समितिबाट घेराबन्दी गर्न थालेको लिङ्देन पक्षको निष्कर्ष थियो ।