
नेपाल प्रिमियर लिग एनपिएलको नयाँ संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट ग्राउन्डको नवीकरण कार्य तीव्र गतिमा अघि बढेको छ । नेपाल सरकारले दिएको ९० दिन र त्यसपछि थपिएको दुई महिनाको ठेक्काको म्याद सकिएपछि दैनिक दुई लाख हर्जाना तिराएर अहिले काम भइरहेको छ ।
हर्जाना तिर्न परेपछि ठेकेदारहरूले जनशक्ति थपेर कामलाई तीव्रता दिएका छन् । हाल १०,००० सिट क्षमताको प्यारापिटको ७७ प्रतिशत र फ्लडलाइट जडानको ४५ प्रतिशत काम सम्पन्न भएको छ । जसमा चार हजारवटा सिट जडान भएका छन् । हालसम्म तीन फ्लडलाइट पोल रंगशालामा आइपुगेका छन् ।
२०० दिनभित्र काम नसकिए ठेक्का रद्द हुने जोखिम छ । प्रधानमन्त्री केपी ओलीको अगस्ट १५ सम्मको निर्देशनले निर्माणले गति लिएको छ । यसअघि पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले रंगशालाको निर्माण समयमै नबनेपछि प्रश्न उठाएका थिए ।
सरकारले त्रिवि मैदानको फ्लडलाइट जडानका लागि ललितपुरको विसन–ईश्वरी जोइन्ट भेन्चरले ४२ करोड १९ लाख ९१ हजार ६५३ रुपैयाँमा ठेक्का पाएको छ । प्यारापिटका लागि बिकेओआई–केसिडिसी–बिजी जेभी, टंगालले ४३ करोड ७७ लाख ३० हजार १३ रुपैयाँको बोलपत्र लगाएको थियो ।