मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 20 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o५:५४:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

काठमाडौं अदालतमा ५२ हजार मुद्दा

एक वर्षमै २६ हजार ७४४ फर्स्योट हुँदा पनि चाप उस्तै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o५:५४:oo

काठमाडौं जिल्ला अदालतमा मुद्दाको चाङ लागेको छ । मुद्दा संख्या ५२ हजार पुगेको छ । जबकि, पाँच वर्षअघि ०७७/७८ मा २१ हजार ८३२ मात्र मुद्दा थिए । ०८१/८२ को २७ असारसम्म २६ हजार ७४४ मुद्दा फर्स्योट हुँदा पनि ५२ हजार मुद्दा विचाराधीन छन् ।  

जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलले ७७ वटै जिल्लाका मुद्दा पनि काठमाडौंमा पर्ने भएकाले संख्या ठुलो रहेको उनले बताए । ‘काठमाडौं जिल्ला अदालतको तुलना अन्य जिल्ला अदालतसँग हुन सक्दैन । यहाँको तुलना यहीँकै विगतको तथ्यांकसँग गर्नुपर्छ । किनकि यहाँ ७७ वटै जिल्लाका मुद्दा पर्छन्,’ उनले भने । मुद्दा दर्ता गरी पक्ष बाहिर जाने, वतनकै कारण पटक–पटक म्याद बदर गर्नुपर्ने स्थिति आउने, सुरु अदालत भएकाले साक्षी बकपत्र, बयानजस्ता सबै काम गरिनुपर्नेलगायतका कारणले फर्स्योटमा ढिलाइ हुने गरेको उनले बताए ।  काठमाडौं जिल्ला अदालतले तीनवटा भवनबाट सेवा दिइरहेको छ ।  बर्सेनि मुद्दा बढ्दै जाँदा न्यायाधीश र कर्मचारी दुवै कम भएको अदालतले जनाएको छ । ‘१९ इजलासको परिकल्पना गरेर बनाइएको थियो त्यो वेला । अहिले मुद्दा संख्या निकै बढ्यो,’ न्यायाधीश पोखरेलले भने, ‘स्थान अभावका कारण अहिले एउटै जिल्ला अदालतवरपरका तीन भवनबाट सेवा दिँदै छ ।’

जिल्ला अदालतमा ०७६ सालदेखिका मुद्दा विचाराधीन रहेको स्रेस्तेदार तीर्थराज भट्टराईले बताए । एउटै मुद्दामा अन्य निवेदन थपिँदा र लगाउमा राखिने केही मुद्दामा अन्य मुद्दाबाट प्रभावित हुने भएकाले यस्ता केही मुद्दा फैसला हुन नसकेको उनको भनाइ छ । 

दरबन्दीअनुसार छैनन् न्यायाधीश
काठमाडौं जिल्ला अदालतमा ४३ न्यायाधीशको दरबन्दी भए पनि ३९ मात्र पदपूर्ति  छ । यसमा पनि दुईजना अन्य अदालतमा काजमा गएका छन् । ३२७ स्थायी कर्मचारीको दरबन्दी भए पनि हाल न्यायाधीशका सुविधाबाहेकका गरी कुल ३८९ कर्मचारी कार्यरत छन् ।

अदालतमा भिडभाड हुने गरेको छ भने इजलाससमेत नअट्ने भएको छ । दुईतले भूमिगत पार्किङसमेत गरी आठ तलाको यो भवन ३४ करोड १३ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको थियो । युनाइटेड बिल्डर्स लामा श्यामसुन्दर कैलाश जेभीले भवन निर्माण तथा प्रयोगपछि अदालतलाई हस्तान्तरण गरेको थियो ।

सात रोपनी तीन आनाभन्दा बढी जग्गामा यसको मूल भवन छ । तर, अहिले पानी पर्दा उक्त भवनको छतको ट्रस जीर्ण भएकाले चुहिने गरेको छ । अदालतका अनुसार हाल मुख्य भवनमा इजलास नम्बर १ देखि २६ सम्म छन् ।

विशेष अदालतसँगै रहेको पारिपट्टिको वनपरिसरको भवनमा २७ देखि ३१ नम्बर इजलास सञ्चालनमा छन् भने अदालतसँगै रहेको भूमिगत सिँचाइको परिसरमा इजलास नम्बर ३२ देखि ३८ छन् ।