मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३ शनिबार
  • Saturday, 19 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण ३ शनिबार ११:५९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ऊर्जामन्त्री खड्काको एक वर्ष : सवा ८ अर्ब विद्युत् बक्यौता नउठाउने ‘नियत’, प्राधिकरणमा वर्षैभर हस्तक्षेप 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ३ शनिबार ११:५९:oo

ऊर्जा मन्त्रालय सम्हालेदेखि दीपक खड्काले डेडिकेटेट फिडर र ट्रंकलाइन प्रयोग गरेबापत महसुल बुझाउनुपर्ने उद्योगीको पक्षमा वकालत गर्दै आएका छन् । विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई सवा आठ अर्ब बक्यौता उठाउन नदिने नियत राखेर पदबाट हटाउन प्रमुख भूमिका पनि खेले । अहिलेसम्म उनले बक्यौता उठाउने विषयमा प्राधिकरण सञ्चालक समितिमा ठोस प्रस्ताव लगेका छैनन् । कुलमानलाई बलजफ्ती पदबाट हटाएपछि प्राधिकरणको व्यवस्थापकीय लापरबाहीले विद्युत् आपूर्ति अनियमित भइरहेको छ । विद्युत् ट्रिपिङका बारेमा उपभोक्ताले गरेको गुनासोलाई मन्त्री खड्काले अनावश्यक हल्ला फैलाइएको भन्दै उल्टै भ्रम सिर्जना गरेर समस्या समाधानका लागि उदासीन छन् ।

गत आर्थिक वर्ष ०८१/८२ मा ४३४.१२ मेगावाटका २२ परियोजनाले व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरेका छन् । विद्युत् विकास विभाग र विद्युत् प्राधिकरणबाट प्राप्त तथ्यांकअनुसार १८ वटा विद्युत्गृहले चार सय मेगावाट र चार सोलार परियोजनाले करिब ३५ मेगावाट विद्युत् उत्पादन थालेका हुन् । गत आवमा नौ सय मेगावाट उत्पादनको लक्ष्य राखिए पनि आधा हिस्सा मात्रै उत्पादन भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पद सम्हालेदेखि प्राधिकरणसँग निरन्तर विवादमा छन् । उनले करिब आठ महिनासम्म व्यक्तिगत तहमा उत्रेर तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङसँग झगडा गरे । अन्त्यमा, मन्त्रिपरिषद् प्रयोग गरेर घिसिङलाई पदमुक्त गरे । त्यसयता विद्युत् आपूर्ति अनियमित भइरहेको छ, विद्युत् ट्रिपिङ हुँदा अपजसको भारी मन्त्री खड्काले बोकिरहेका छन् । त्यस्तै, सवा आठ अर्ब विद्युत् बक्यौता उठाउन पनि उनले चासो दिएका छैनन् ।

मन्त्री खड्का आएपछि सरकारले राष्ट्रिय प्रणालीमा नौ सय मेगावाट विद्युत् थप गरेर जडित क्षमता ४५ सय मेगावाट पुर्‍याउने लक्ष्य लिएको थियो । तर, लक्ष्यको ४८ प्रतिशत मात्रै उत्पादन भएको छ । परीक्षणमा रहेका एक सय ९६ मेगावाट विद्युत् समावेश गर्दा ६३०.१२ मेगावाट विद्युत् प्रणालीमा थपिएको देखिन्छ, जुन लक्ष्यको ७० प्रतिशत हाराहारी हुनेछ ।

लक्ष्यभन्दा कम विद्युतु उत्पादन भए पनि हालसम्मको उत्पादनलाई देखाएर ऊर्जामन्त्री खड्काले सन्तोष व्यक्त गरे । ‘गत आवमा ऊर्जा क्षेत्रका लागि उपलब्धिमूलक रह्यो । विद्युत्को जडित क्षमता झन्डै ३९ सय मेगावाट पुग्नु सकारात्मक पक्ष हो,’ उनले भने । 

मन्त्रालयले एक वर्षमा तीन सय सर्किट किलोमिटर प्रसारणलाइन निर्माण गरेको जनाएको छ । थप सात सय एमभिए क्षमताका सबस्टेसन निर्माण भएका छन् । 
प्रतिव्यक्ति विद्युत् खपत चार सय ७० युनिट पुगेको छ । अघिल्लो आव ०८०/८१ मा प्रतिव्यक्ति खपत औसतमा चार सय युनिट थियो । 

यी हुन् गत आवमा थपिएका ऊर्जा परियोजना

  • रसुवागढी – १११ मेगावाट
  • दुधकुण्ड खोला– १२ मेगावाट
  • नीलगिरि खोला– ३८ मेगावाट
  • माथिल्लो रिचेत खोला– २ मेगावाट
  • सेती नदी– २५ मेगावाट
  • सान्जेन– ४२.५ मेगावाट
  • सुपर काबेली ‘ए’– १३.५ मेगावाट
  • लंखुवा खोला– ५ मेगावाट
  • सान्जेन खोला– ७८ मेगावाट
  • भीमखोला साना– ४.९६ मेगावाट
  • सुपर काबेली खोला– १२ मेगावाट
  • सुपर हेवा खोला– ६ मेगावाट
  • माथिल्लो लोहोरे खोला– ४ मेगावाट
  • करुवा सेती– ३२ मेगावाट
  • जोगमाई क्यास्केड– ५.२ मेगावाट
  • रेले खोला– ६ मेगावाट
  • जिरा भवानी सेढवा– ७.७ मेगावाट
  • डिडिबी सौर्य– २.३ मेगावाट
  • धरमनगर सोलार (१)– १० मेगावाट
  • धरमनगर सोलार (२)– १५ मेगावाट
  • सेलाङ खोला– ०.९९ मेगावाट
  • इदी खोला– ०.९७५ मेगावाट