मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३ शनिबार
  • Saturday, 19 July, 2025
राना मिटर
२o८२ श्रावण ३ शनिबार o९:o७:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चीनको आर्थिक खुलापनका प्रवर्तकले झेल्नुपरेका कठिनाइ

Read Time : > 4 मिनेट
राना मिटर
नयाँ पत्रिका
२o८२ श्रावण ३ शनिबार o९:o७:oo

विश्व अहिले ठुलो आर्थिक र भूराजनीतिक परिवर्तन अवधिबाट गुज्रिरहेको छ । विश्व व्यापार भन्सार अवरोध तथा द्विपक्षीय सम्झौतामाथि निर्भर हुँदै जाँदा खुला बजारमा आधारित विश्वव्यापी प्रणालीमा निरन्तर क्षय देखिन थालेको छ । यस परिवर्तन पछाडिको बहसको केन्द्रबिन्दुमा छ– चीन, जसले एकातर्फ आपूर्ति शृंखला, प्रविधि हस्तान्तरण, बौद्धिक सम्पत्ति चोरी र अन्तर्राष्ट्रिय ऋण वित्तको आरोप खेपिरहेको छ । तथापि, पछिल्लो समय यसको घरेलु बजार भने आर्थिक मन्दीबाट बाहिरिन संघर्ष गरिरहेको छ । यस परिस्थितिमा धेरैको नजर अहिले चीनले लिने निर्णय र आगामी दिशामाथि रहेको छ । 

चीन र चिनियाँ नीतिसम्बन्धी समकालीन बहसमा बिरलै आधा शताब्दीअघि सो देश पुँजीवादी संसारमा पुन: प्रवेश गरेको अवधिले महत्व पाउने गरेको छ । सन् १९६० र १९८० को दशकको अवधिमा चीन कठोर सोभियत शैलीको नियन्त्रित अर्थतन्त्रबाट राज्य पुँजीवादको एक विशिष्टमा बदलियो, जसलाई सत्तारुढ दलले ‘चिनियाँ विशेषतासहितको समाजवाद’ भन्ने गरेको छ । पछिल्लो समय प्रकाशित केही पुस्तकले भने त्यस परिवर्तन र त्यसका सूत्रधारको चर्चा गरेको पाइन्छ । 

चीनको रूपान्तरण अवश्य पनि शून्यतामा भएको थिएन । सन् १९७० को दशकबाटै पकड जमाउँदै गएको नवउदारवादले स्वतन्त्र पुँजी प्रवाहलाई प्रोत्साहन गरेर र सरकारी हस्तक्षेपलाई निरुत्साहित गर्दै विश्वव्यापी अर्थतन्त्रलाई पुन: आकार दिँदै थियो । सन् १९८० र १९९० को दशकमा चीनको असाधारण वृद्धि यही विश्वव्यापी प्रवृत्तिसँग नजिकबाट जोडिन पुग्यो । यस अवधिमा बेइजिङले आफ्नो विशाल सस्तो श्रमशक्तिलाई प्रयोग गरेर आफूलाई विश्वको ‘निर्माण क्षेत्रको पावरहाउस’ बन्न सक्षम बनायो । 

राष्ट्रपति रोनाल्ड रेगनको शासनकालमा सहज बनेको ऋण प्रवाहबाट उत्साहित अमेरिकी उपभोक्ता चीनमा उत्पादित सस्तो सामानमा प्रमुख ग्राहक बने । चीनमा उत्पादन र अमेरिकामा उपभोगको एकैपटक भएको यस वृद्धि र दुई देशको एक–आपसमा निर्भरतालाई इतिहासकार निल फर्गुसन र मोरिट्ज सुलारिकले ‘चि–मेरिका’ शब्दावलीमार्फत अभिव्यक्त गरेका थिए । यसबिच, चीनमा उद्यमशीलताको ठुलो लहर नै उठ्यो, जो विश्वको सबैभन्दा ठुलो कम्युनिस्ट देशलाई सबैभन्दा गतिशील पुँजीवादी अर्थतन्त्रमा द्रुत गतिमा बदल्न सहयोगी बन्यो । 

सुधारवादी युग 
हालै प्रकाशित दुई पुस्तकहरू रोबर्ट सुएटिंगरद्वारा लिखित ‘द कन्साइन्स अफ द पार्टी’ र जोनाथन च्याटविनले लेखेको ‘द साउदर्न टुर’ले चीनको आर्थिक रूपान्तरणलाई अगाडि बढाउने प्रमुख व्यक्तिमाथि प्रकाश पारेका छन् । बिल क्लिन्टनको प्रशासनमा काम गरेका सुएटिंगरको किताबले चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का पूर्वमहासचिव हु याओबाङको कथा बताउँछ । प्राय: चीनको आर्थिक रूपान्तरणको नेतृत्व गरेको जस देङ सियाओपिङले पाउने गर्छन् । तर, त्यस काममा उनलाई प्रमुख रूपमा सघाउने र प्रेरित गर्ने व्यक्ति थिए हु । तर, देङ सियाओपिङको आज चीन र विश्वमा जति चर्चा हुन्छ, हु भने सुधारका प्रवर्तकका रूपमा आधिकारिक भाष्यमा प्राय: अनुपस्थित छन् ।

हु सुधारवादी युगको अधिकांश समयमा सिपिसीभित्र सबैभन्दा प्रभावशाली उदारवादी आवाजमध्ये एक थिए । सन् १९८० को दशकमा देङसँग नजिक रहेर काम गर्ने क्रममा हुले चीनको रूपान्तरण सफल हुन आवश्यक राजनीतिक वातावरणलाई मलजल गर्न मद्दत गरे । गहन अनुसन्धानात्मक पुस्तक ‘द कन्साइन्स अफ द पार्टी’ले हुलाई चीनको सांस्कृतिक क्रान्तिपछिको परिवर्तनका केन्द्रीय व्यक्तित्वको रूपमा प्रस्तुत गरेको छ ।

हुनानको एक गरिब किसान परिवारमा जन्मिएका हु सानै उमेरमा कम्युनिस्ट आन्दोलनमा जोडिएका थिए । उनी सन् १९३४–३५ मा माओले सञ्चालन गरेको ‘लङ मार्च’का सबैभन्दा कान्छा सहभागीमध्ये एक थिए । सांस्कृतिक क्रान्तिको समयमा भने उनलाई राजनीतिक अपराधमा संलग्न भएको आरोप लाग्यो । उनलाई सार्वजनिक रूपमा घाँटीमा काठ बाँधेर परेड गराइयो । त्यसपछि उनलाई सुधारका लागि भन्दै ग्रामीण क्षेत्रमा शारीरिक श्रम गर्न पठाइयो, जहाँ उनी झन्डै आठ वर्षभन्दा बढी समय रहेका थिए । हु, सांस्कृतिक क्रान्तिको सिकार हुने असंख्य चिनियाँ कम्युनिस्ट पार्टीका नेतामध्ये एक थिए । जस्तो– देङ आफैं पनि यस अवधिमा आन्तरिक निर्वासनमा पठाइएका थिए । रेड गार्डहरूले एक घरको माथिल्लो तलाको झ्यालबाट फ्याँक्दा देङका एक छोरालाई पक्षाघात भएको थियो । 

यी व्यक्तिगत पीडादायी अनुभवले हुलाई अनियन्त्रित अधिनायकवादको खतरा प्रस्ट पार्न सघाएको देखिन्छ । माओको मृत्युपछि चीनको नेतृत्व सम्हालेका देङका प्रमुख सहयोगीका रूपमा उदाएका हु उनका आर्थिक सुधारको प्रमुख वास्तुकारसमेत बने । यस नयाँ दिशामा हुको प्रभाव उलेख्य थियो । वान लीजस्ता सुधारवादी सहकर्मीसँग सहकार्य गर्दै हुले सुधारवादी युगको सबैभन्दा प्रारम्भिक र सबैभन्दा परिणाममुखी पहलमध्ये एक कृषि सामूहीकरण उल्ट्याउने कार्यक्रमको नेतृत्व गरे । सन् १९८० र १९८४ को बिचमा हुले हजारौँ सामूहिक फार्मको विघटन र परिवारमा आधारित कृषिफार्मको विकासको निरीक्षण गरे । 

तर, हुको राजनीतिक प्रभाव सन् १९८१ को एक दस्ताबेजमा एकाएक कमजोर बन्यो । हुलाई पार्टीको इतिहाससम्बन्धी प्रस्तावको मस्यौदा तयार गर्ने जिम्मेवारी सुम्पिइएको थियो । त्यस क्रममा उनलाई जनवादी गणतन्त्रका संस्थापक माओको विरासतलाई चोट नपर्ने गरी चिनियाँ कम्युनिस्ट पार्टीमाथि सांस्कृतिक क्रान्तिको असरको निन्दा गर्न खटाइएको थियो । तर, हुले त्यसमा माओमाथि नै कठोर दृष्टिकोणको पक्ष लिएको बताइन्छ, यद्यपि, उनका प्रस्तावको विवरण कहिल्यै बाहिर आएनन् । हुका विचारबाट देङ तर्सिएको बताइन्छ । उनले हुले सीमा नाघेको ठाने । (हुपछि देङकै पालामा सन् १९८९ मा विद्यार्थी अन्दोलनमाथि भएको क्रूर दमनले पनि उनी आर्थिक उदारीकरणलाई राजनीतिक बहुलवादतर्फ डोहार्‍याउन इच्छुक नरहेको देखाउँछ ।)

देङले अचानक हुलाई मस्यौदा समितिबाट हटाए । यो परियोजना देङ ली कुन र हु किआओमुजस्ता पुराना वैचारिक व्यक्तित्वलाई हस्तान्तरण गरियो । यसबिच, हुलाई सान्डोङ प्रान्तको रमणीय माउन्ट ताईमा ‘जबर्जस्ती आराम’का लागि पठाइयो । देङ र हुबिचको अन्तिम विच्छेद जनवरी १९८७ मा भयो । त्यस वेला एक बैठकमा देङ र उनका सहयोगीले हुलाई उनको उदारवादी झुकाव र बफादारीका लागि चर्को आलोचना गरे ।

देङले पुन: लिए सुधारको नेतृत्व 
सन् १९८९ को अप्रिलमा हुको मृत्युले विद्यार्थी नेतृत्वको विशाल प्रदर्शनलाई उत्प्रेरित गर्‍यो । सो विरोध प्रदर्शन जुन ३–४ को रातमा तियानमेन चोक घटनापछि मात्र थामिएको थियो । यो धक्काले पूर्वी युरोप वा रुसमा जस्तो चिनियाँ कम्युनिस्ट पार्टीलाई पतन गर्न सकेन । तथापि, लगत्तैका वर्ष चीनको आर्थिक वृद्धि एक हिसाबले गतिहीन रहे । यस अवसरलाई उपयोग गर्दै चेन युनलगायतको नेतृत्वमा रहेको गुटले आर्थिक र राजनीतिक उदारीकरणको संयोजनले चीनलाई खतरामा पारेको तर्क पेस गर्‍यो । 

तथापि, १९९० को दशकको प्रारम्भसम्म आइपुग्दासम्म देङ आर्थिक सुधारबाट पछि हटिसकेपछि फेरि अगाडि बढ्न नसकिने निष्कर्षमा पुगे । यस अवधिमा पार्टीका कट्टरपन्थी गुटविरुद्ध देङले कसरी लडे भन्ने कुरा जोनाथन च्याटविन आफ्नो ‘द साउदर्न टुर’मा आकर्षक ढंगले उल्लेख गरेका छन् । च्याटविनको पुस्तक सन् १९८९–९२ को अपेक्षाकृत धेरैले कम ध्यान दिएको अवधिमा केन्द्रित छ । पुस्तकले पार्टीभित्र विशाल अधिकार भए पनि देङले त्यस अवधिमा आर्थिक सुधारहरू पुन: सुरु गर्न कडा मिहिनेत गर्नुपरेको देखाएको छ ।

पर्दापछाडिको गतिशीलता रोचक थियो । जनवरी १९९२ मा देङले मकाउनजिकैको झुहाईमा रहेको आधुनिक रेस्टुराँमा चीनको शीर्ष सैन्य नेतृत्वलाई एक निजी भेटघाट र सम्बोधन गरे । ‘जो सुधारका विरुद्धमा छ, उसलाई सत्ताबाट निकालिनेछ,’ सम्बोधनमा देङले चेतावनीको भाषामा भने । उक्त भेटघाट र कथन सेना देशको सुधारको पक्षमा रहेको देखाउने प्रयास थियो । सो भेलामा उपस्थित भएको मात्र होइन, अनुपस्थित एक व्यक्तिको पनि चर्चा भएको थियो । देङको चेतावनी खासमा ती व्यक्तिप्रति पनि लक्षित थियो । ती व्यक्ति थिए, पार्टी महासचिव जियाङ जेमिन ।

पदका हिसाबले जियाङ चीनको सबैभन्दा शक्तिशाली व्यक्ति थिए । तर, देङले झुहाई भेलाबाट जियाङ र अरू पनि जति नै शक्तिशाली भए पनि सुधारको मार्गबाट पछि हट्नेहरूको राजनीतिक करियर समाप्त हुने संकेत गरेका थिए ।

कमजोर बनेको उदारवादी सहमति
आज धेरै अमेरिकी नीति–निर्माता विश्वव्यापी अर्थतन्त्रमा चीनको पुन: एकीकरणप्रति अमेरिकी समर्थनलाई गम्भीर राजनीतिक भुल मान्छन् । विशेषगरी चीन सन् २००१ मा विश्व व्यापार संगठनको सदस्य हुँदा अमेरिकाले पनि समर्थन जनाएको थियो । यस सदस्यताले चीनलाई एक प्रतिस्पर्धी शक्तिको रूपमा उदय गर्न सक्षम बनाएको तिनको तर्क हुने गर्छ । तर, यस्ता तर्क गर्नेहरूले अन्य कारक पक्ष भने बिर्सने गर्छन् । प्रारम्भमा चीनको आर्थिक वृद्धिका लागि अमेरिकाको समर्थनपछाडि अहिले प्राय: बेवास्ता गरिने भूराजनीतिक अनिवार्यता प्रेरक बनेको थियो, सोभियत संघलाई कमजोर पार्ने प्रयास । 

पूर्व र पश्चिम दुवै प्रमुख खेलाडीहरू सन् १९८० र १९९० को दशकलाई परिभाषित गर्ने उदारवादी मान्यताबाट टाढिँदै गएका देखिन्छन् । सन् २०२१ मा चीनले घरेलु माग बढाउने र आफ्नो अर्थतन्त्रलाई सकेसम्म आत्मनिर्भर बनाउने उद्देश्यले ‘दोहोरो तक्रीय’ रणनीति अपनाएको छ । त्यस्तै आफ्नो पहिलो कार्यकालमा चिनियाँ आयातमा केही प्रतिबन्ध लगाएका ट्रम्प पुन: सत्तामा फर्किएका छन् । यसपटक उनले आयात प्रतिबन्धलाई चीनविरुद्ध मात्र हेइन, अन्य देशविरुद्धसमेत प्रयोग गरेका छन् । यस्तोमा उदारवादी विश्व अर्थव्यवस्था गम्भीर प्रहार सहिरहेको छ । 

(‘हार्वर्ड केनेडी स्कुल’का ‘अमेरिका–एशिया रिलेसन्स’का अध्यक्ष राना मिटरको आलेख प्रोजेक्ट सिन्डिकेटबाट श्रवण उप्रेतीले अनुवाद गरेका हुन् ।)