
काठ, इँटा, माटो, झिंगटी र कालो ढुंगाको सम्मिश्रणबाट बनेका मौलिक शैलीका एकैनासे घर । घरको भित्तामा पोतिएको रातो र सेतो रंग । कलात्मक शैलीका झ्याल–ढोका । हरेक घरको बाहिरपट्टि काठले बनेका कौसी । घरको एक तलाबाट अर्को तला उक्लिन ओर्लन बनाइएका काठकै भर्याङ । लस्करै देखिने घरको बिचमा ढुंगा छापेका आँगन । यो शब्द वर्णन हो, तनहुँको ऐतिहासिक बस्ती बन्दीपुरको ।
बन्दीपुरलाई पहाडकी रानी, मिनी दार्जिलिङ, नेवारी सभ्यता र संस्कृतिको सहर, पुरानो व्यापारिक नाकाजस्ता अनेकौँ उपनामले समेत चिनिन्छि । बन्दीपुर तनहुँको पुरानो सदरमुकाम पनि हो । ०७१ देखि ०७३ सम्म यो ठाउँ बन्दीपुर नगरपालिकाका रूपमा रह्यो । ०७३ यता भने बन्दीपुर गाउँपालिकाका रूपमा कायम गरियो ।
एउटा भिन्न इतिहास, सभ्यता र महत्व बोकेको यहाँको मौलिकता बिस्तारै खोसिने क्रममा छ । गाउँपालिका र सरोकारवालाले ध्यान नदिँदा बन्दीपुर कंक्रिटका संरचनाले भरिँदै छ । खाँटी नेवारी बस्ती मानिने बन्दीपुरमा बडेमानका कंक्रिट बिल्डिङ ठडिँदै छन् । पुराना घरमा अग्ला भवनको छाया ओझेलमा परेको स्थानीयको गुनासो छ । केही समयअघि मात्रै सञ्चालनमा आएको केबलकारले बन्दीपुरलाई एक तह ओझेलमा पारिसकेको छ । बन्दीपुरको डाँडामा केबलकार स्टेसन र १२ तले होटेल निर्माण भएको छ ।
बन्दीपुरबारे अध्ययन गरेका अध्येता भीष्म श्रेष्ठका अनुसार बन्दीपुरले मौलिकता बिर्सिरहेको छ । ‘बन्दीपुरको ऐतिहासिकता, प्राकृतिक सुन्दरता, पुराना घरको एकरूपता र मौलिकता हराउने क्रममा छन् । यहाँ नयाँ–नयाँ शैलीका कंक्रिटका घर बन्दै छन्, यो निकै नराम्रो पक्ष हो,’ उनी सुनाउँछन्, ‘कुनै समय यहाँ बन्दीहरू बस्ने भएकाले नामै बन्दीपुर बनेको पढ्न पाइन्छ ।’
बन्दीपुरमा बनेको केबलकार र होटेलहरूले यहाँको ऐतिहासिक पक्षलाई धरापमा पारेको उनको भनाइ छ । बन्दीपुरको साइनो काठमाडौं उपत्यकासँग जोडिएको छ । काठमाडौंमा बस्ने बन्दीपुरे र बन्दीपुरमा बस्ने काठमाडौंका मानिसलाई यो ठाउँको अगाध माया मात्रै होइन, अपनत्व पनि छ ।
बन्दीपुरको ऐतिहासिकता
पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका जितिसकेपछि भक्तपुरेहरू यहाँ आएका थिए । त्यसवेलाका शासकबाट दण्डित भएर भक्तपुरेहरू यहाँ लखेटिएको इतिहास छ । श्रेष्ठका अनुसार सुरुमा बन्दीपुरमा नेवार समुदायको श्रेष्ठ खलक (विसं १८२५), पिया खलक (विसं १८३०) र प्रधान खलक (विसं १८३९ ) आएका थिए । यी खलकका तीन पुरुष सुरुमा आएर बन्दीपुरमा बस्ती बसाएको पाइन्छ । ‘काठमाडौं उपत्यकाबाट यी नेवार समुदायले बन्दीपुरमा बस्ती बसाउनुभयो र व्यापार व्यवसाय सुरु गर्नुभयो, चीन र भारतबाट बन्दीपुरेहरूको व्यापार निकै चम्कियो,’ श्रेष्ठ सुनाउँछन्, ‘राणाकालीन अवस्थामा पनि भारतसँग व्यापार गर्ने अग्रपंक्तिमा नेवारहरू नै थिए, बन्दीपुरेसँगको बढी व्यापारिक सम्बन्ध भारतको कानपुर, बम्बई, कलकतासँग थियो, साथै काठमाडौंका केही नेवार पनि व्यापारमा अघि थिए ।’ उनले बन्दीपुर र यहाँको सभ्यतामाथि लेखेको महाकाव्यको टुक्कासमेत सुनाए ।
सदरमुकाम सरेपछि...
सदरमुकाम सारेपछि यस क्षेत्रको महत्व र प्राथमिकता हराउँदै गएको समाजसेवी डा. मदन पियाले बताए । उनी आफँै पनि यहाँको ऐतिहासिक र मौलिकताको प्रचारप्रसारमा लागिरहेका छन् । उनका अनुसार कुनै समय बन्दीपुर व्यापारिक नाकाका रूपमा चर्चित थियो । विश्वभर चिनिन्थ्यो । तर, सदरमुकाम सरेपछि बन्दीपुरको ऐतिहासिक पक्ष कमजोर बनेको डा. पियाको बुझाइ छ । बन्दीपुरलाई युनेस्कोको विश्वसम्पदा सूचीभित्र पार्ने प्रयास पुरातŒव विभागले अघि सारे पनि ऐतिहासिक संरचना बिगार्ने गरी बनेका संरचनाले विभागले उक्त कदम रोकेको थियो ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा पनि बन्दीपुर ओझेलमा पर्दै गएको स्वीकार गर्छन् । यद्यपि, पालिकाले यसलाई सुधार गर्ने प्रयास गरिरहेको उनी बताउँछन् । ‘यो ऐतिहासिक ठाउँ हो, यसलाई बिग्रन र भत्कन दिँदैनौँ, यहाँको मौलिकता बलियो छ, बरु यहाँ पर्यटनलाई कसरी बढाउने र व्यवस्थित गर्ने भन्नेबारे हाम्रो बढी चासो हो,’ उनले भने । उनले बन्दीपुरको मुख्य सहरी क्षेत्रमा सवारीसाधन निषेध गरिएको र इको टुरिजम अवधारणाले यहाँको पर्यटन व्यवसाय वृद्धिमा टेवा पुर्याएको दाबी गरे । उनका अनुसार पर्यटक विकासका लागि मिनी ग्रेटवालसमेत निर्माण गरिएको छ । बन्दीपुरका होटेल व्यवसायी अनिल प्रजापति बन्दीपुरको मौलिकतामा असर नपर्ने गरी विकास निर्माण र अन्य गतिविधि गर्न आवश्यक रहेको बताउँछन् ।
तालपार्क बनाउने भएपछि विरोध
स्थानीयवासीले आफूखुसी कंक्रिटका संरचना बनाउँदै जाँदा ऐतिहासिक बस्तीको मौलिकता मलिन बन्दै गइरहेको बन्दीपुरको संरक्षणप्रति पालिकासमेत जिम्मेवार देखिँदैन । पालिकाले ऐतिहासक बस्ती, कुवा र अन्य खानेपानीका स्रोत रहेको ठाउँमा तालपार्क बनाउन खोजेको छ । बन्दीपुर बजारदेखि पाँच सय मिटर तल पालिकाले कंक्रिटको तालपार्क बनाउन खोजेपछि विवादित बनेको छ । तीन करोड लागतमा बन्ने भनिएको उक्त तालपार्कले यहाँको ऐतिहासिकता संकटमा पार्ने स्थानीवासीको भनाइ छ । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा भने सोचविचार गरेर अघि बढ्ने बताउँछन् । ‘ऐतिहासिक पक्ष संरक्षण गर्न नै एउटा राम्रो पोखरी बनाउन खोजेका हौँ, अब समन्वय र सहकार्य गरेर मात्रै अघि बढ्छौँ ।’
बन्दीपुरलाई कहिले सदरमुकाम बनाइयो त कहिले नगरपालिका । अहिले बन्दीपुरलाई न त सदरमुकाम भनिन्छ, न त नगरपालिका । यो केवल गाउँपालिकामा सीमित छ । मुख्यत: यहाँबाट सदरमुकाम सरेपछि यसको रूपै उजाडिएको थियो । अहिले यहाँ पुग्दा हराएको सहरजस्तो देखिन्छ बन्दीपुर ।
सरकारले २५ वैशाख ०७१ मा यस क्षेत्रका धरमपानी र बन्दीपुर गाउँ विकास समितिलाई समेटेर बन्दीपुर नगरपालिका घोषणा गरेको थियो । तर, ०७३ मा नयाँ प्रादेशिक संरचना कायम हुँदा ६ वडासहित बन्दीपुर गाउँपालिका बनाइयो । त्यस समयमा बन्दीपुर नयाँ नगरपालिकासँग गाभ्ने विषय पनि उठेपछि स्थानीयले विरोध गर्दै बन्दीपुर गाउँपालिका नै राख्न माग राखेका थिए । त्यसअघि ०२५ सम्म तनहुँको सदरमुकाम बन्दीपुर नै थियो । तर, ०२५ मा सदरमुकाम दमौली सारियो । बन्दीपुरका स्थानीय समाजसेवी तथा शिक्षक विक्रम पियाले बन्दीपुरको अस्तित्व संकटमा पर्न नदिने गरी यहाँको विकासका लागि कार्य हुनुपर्ने माग राखे ।
कमजोर आतिथ्य
बन्दीपुरको परिचय नै पर्यटकीय स्थल हो । यति हुँदाहुँदै पनि पछिल्लो समय पर्यटकको संख्या न्यून छ । त्यहाँ पुगेका पर्यटक पनि होटेलको आतिथ्य शैली र शुल्कबाट असन्तुष्ट छन् । शुक्रबार र शनिबार स्वदेशी पर्यटकको उल्लेखीय उपस्थिति रहे पनि विदेशी पर्यटक निकै कम हुने गर्छन् । बन्दीपुर बजार घुम्न आएका ललितपुर भैंसेपार्टीका उत्तम खड्काले सुनाए, ‘सात वर्षअघि यहाँ आउँदा खानेकुराको दररेट ठिक्क थियो, आतिथ्य पनि राम्रो थियो, पुराना घर बढी थिए, तर अहिले नयाँ र स्वरूप बिगार्ने गरी नयाँ घर बनेछन्, पयर्टकलाई टिकाउनेतर्फ चासो दिएको देखिएन ।’ उनले यो बस्तीमा नेवारी बाजागाजा र संस्कृतिलाई बढी प्रयोगमा ल्याउन सके पर्यटक बढ्ने सुझाव दिए ।