१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १७ मंगलबार
  • Tuesday, 01 July, 2025
२o८२ असार १७ मंगलबार १२:o५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुरक्षित कार्यस्थलका लागि श्रमिक महिला भवन निर्माण थालनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १७ मंगलबार १२:o५:oo

सिराहाको लहान नगरपालिका– १२, भोटियाटोल गाउँमा श्रमिक महिलाको सुरक्षित कार्यस्थल तथा सशक्तीकरण गर्ने उद्देश्यले ‘श्रमिक महिला भवन’ निर्माण थालनी गरिएको छ । अनौपचारिक क्षेत्रमा काम गरिरहेका स्थानीय श्रमिक महिलाका लागि सुरक्षित कार्यस्थल, उनीहरूको पहिचान, आत्मसम्मान र अधिकार प्रवर्द्धन गर्न भवन निर्माण थालिएको हो । लहानस्थित दलित जनकल्याण युवा क्लब र एक्सन एड नेपालको साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रमअन्तर्गत १६ लाख ४४ हजार रुपैयाँको लागतमा निर्माण हुने भवनको सोमबार एक समारोहबिच लहान नगर प्रमुख महेशप्रसाद चौधरी, लहान १२ का वडाध्यक्ष बद्रीनारायण चौधरी तथा क्लबका कार्यकारी निर्देशक विनोदकुमार विसुन्केले संयुक्त रूपमा शिलान्यास गरे ।

भवन शिलान्यास गर्दै नगरप्रमुख महेशप्रसाद चौधरीले भवन निर्माण सम्पन्न भएपछि आगामी दिनमा सीपमूलक तालिम, कानुनी साक्षरता कार्यक्रम र स्थानीय श्रमिक महिलाहरूको भेला, छलफल, नेतृत्व विकाससम्बन्धी काम गर्न सहज हुने चर्चा गर्दै नगरको तर्फबाट सक्दो सघाउने प्रतिबद्धता जनाए । ‘स्थानीय महिला श्रमिकको अधिकार, सुरक्षा र सशक्तीकरणका लागि नगरपालिका सदैव साथमा रहनेछ,’ उनले भने । 

आगामी पुस १७ गतेसम्म निर्माण सम्पन्न गरी स्थानीय सरकारको रोहवरमा श्रमिक महिलाहरूलाई हस्तान्तरण गरिने कार्यकारी निर्देशक विसुन्केले जानकारी दिए । उनका अनुसार लहान नगर क्षेत्रमा इँटाभट्टा, निर्माण, कृषि क्षेत्रमा अनौपचारिक क्षेत्रका श्रमिक महिलाको ठुलो संख्या रहेकाले भेला भएर छलफल गर्ने, काम गरेपछि आराम गर्न र सामुदायिक छलफल, भेलाजस्ता काममा भवनको उपयोग गरिनेछ । 

लहान– १२ का वडाध्यक्ष बद्रीनारायण चौधरीले श्रमिक महिलाको सुरक्षा, सिप र क्षमता विकास, न्यायोचित ज्यालाजस्ता विषयमा वडा कार्यालय र नगरपालिका गम्भीर रहेको उल्लेख गर्दै नगर क्षेत्रमै पहिलोपटक श्रमिक महिलाका लागि भवन बन्न लागेकामा खुसी व्यक्त गरे । 

को हुन् श्रमिक महिला ? 
आयस्रोत न्यून भएका, श्रमको निश्चितता नभएका तथा सुरक्षित, मर्यादित र आधारभूत श्रम प्राप्तिका लागि पहुँच नभएका अनौपचारिक क्षेत्रमा काम गर्ने महिला नै श्रमिक महिला हुन् । श्रमिकको दायरामा ल्याउन नसकिएका श्रमिकहरू जो राज्यको श्रम तथा करनीतिअनुरूप तिनको आयस्रोत कर प्रणालीमा नपर्नुका साथै सरकारी निकायबाट हुने कुनै पनि खालको नियमन, अनुगमन तथा मूल्यांकन गरिँदैन । मधेशअन्तर्गतका जिल्लाहरूमा मूलतः घरेलु श्रम, कृषि मजदुर, निर्माण क्षेत्र, इँटाभट्टा, गिटी–बालुवा चाल्ने, मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला श्रमिक छन् ।

अनौपचारिक क्षेत्रका श्रमिकको ठुलो हिस्सा ओगटेको भए पनि त्यस्ता श्रमिकहरु कति छ भन्ने यकिन तथ्यांक उपलब्ध छैन । श्रमिक अधिकारका लागि काम गरिरहेका केही गैरसरकारी संस्थाहरूले आफ्नो कार्यक्षेत्रमा गरेको नमुना तथा बेसलाइन सर्वेक्षण, स्थानीय तहका जनप्रतिनिधिसँग गरिएको कुराकानी, समुदायका श्रमिकहरूसँग गरिएको समूहगत छलफलको आधारमा पाइएका श्रमिक र श्रमिक महिलाका सवालहरू निर्क्याेल गरिनुपर्ने अवस्था छ ।