
प्रधानमन्त्री केपी ओलीको आग्रहपछि स्वदेश फर्किएका संयुक्त राज्य अमेरिकाको मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) का वैज्ञानिक अनुसन्धानकर्ता मिङ्मार शेर्पाले प्रधानमन्त्री ओलीसँग भेट गरेका छन्। तीन महिनाअघि स्वदेश फर्किएका शेर्पाले जनस्वास्थ्यका क्षेत्रका अनुसन्धान परियोजना सञ्चालन गर्दै आएका छन्।
गत वर्ष संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिएर अमेरिकाको बोस्टनस्थित हार्वर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रम सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा विभिन्न विषयमा अध्यापन र अध्ययनरत नेपाली शिक्षक–विद्यार्थीलाई आफूले पाएको ज्ञान र अनुभव स्वदेशमा उपयोग गर्न आग्रह गरेका थिए। त्यसका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरणमा कमी नहुने विश्वास व्यक्त गरेका थिए।
प्रधानमन्त्री ओलीले नेपाल आएपछि त्यहाँ भेटेका नेपाली शिक्षक–विद्यार्थी सबैलाई सम्बोधन गरी पत्र पठाएका थिए। मेधावी विद्यार्थीले मातृभूमिको समृद्धि र हितका लागि साथ दिन पत्रमा आग्रह गरेका थिए। प्रधानमन्त्री ओलीको पत्रबाट उत्साहित हुँदै शेर्पाले बेलायतको ब्रिस्टल विश्वविद्यालयसँगको सहकार्यमा ब्राइट भिजन फाउन्डेसन दर्ता गरी नेपालका नसर्ने रोगको अवस्था, उपचार तथा उपयुक्त पोषणका विषयमा जनस्वास्थ्यसम्बन्धी १० करोडको अनुसन्धान परियोजना सञ्चालन गरेको प्रधानमन्त्री ओलीलाई जानकारी गराए। उक्त पाँचवर्षे परियोजनालाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग पनि सहकार्य गरिने शेर्पाले जनाए।
फाउन्डेसनले सोलु्खुम्बुमा स्वास्थ्य शिविर सञ्चालन गरी एक हजार सात सयलाई सेवा दिइसकेको छ भने ग्रामीण भेगका मानिसलाई लक्ष्य गरी ब्राइट फ्युचर कम्प्युटर सेन्टरमार्फत निःशुल्क तालिम सञ्चालन गरेको छ।
सोलुखुम्बु सल्लेरीका शेर्पाले अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा इम्युनोलोजी विषयमा छात्रवृत्ति पाई अध्ययन पूरा गरेका थिए। उनले अनुसन्धानका क्षेत्रमा सरकारले कम्तीमा एक प्रतिशत बजेट विनियोजन गर्नुपर्ने र नेपालको अनुसन्धानात्मक जर्नलहरूलाई सबल बनाई अन्तर्राष्ट्रियस्तरमा सञ्चार गराउन सुझाव दिए।