
रामेछाप अस्पतालमा कार्यरत निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठ सोमबार बिहान सामाजिक सञ्जालमा ‘सुसाइट नोट’ लेखेर सम्पर्कविहीन भएको घटनाले दिनभर चर्चा पायो।
२५ महिनादेखि रामेछाप अस्पतालमा कार्यरत उनी १८ महिनादेखि निमित्त मेडिकल सुपरिटेन्डेन्टको रूपमा कार्यरत छन्। डा. श्रेष्ठ स्टाटस लेखेर काठमाडौंको चाबहिलबाट सम्पर्कविहीन भएका थिए। एकाएक गायब भएपछि उनको खोजीमा प्रहरी परिचालन भएको थियो। अन्ततः उनलाई प्रहरीले काठमाडौंंकै तारकेश्वर नगरपालिका–३ स्थित श्रीनाथ बुटिक रिसोर्टबाट सकुशल फेला पारेको छ।
उनले रामेछाप अस्पताललाई व्यवस्थित, पारदर्शी र उत्कृष्ट सेवा केन्द्र बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएका थिए। तर, केही स्वार्थ समूह र राजनीतिक दलनिकट व्यक्तिबाट झुटा आरोप, धम्की र बदनियतपूर्ण सरुवा गरेको र कुटपिटसमेत गरेको उनको आरोप छ। कार्यालयमै आएर स्थानीय केदार कार्की नेतृत्वको टोलीले गाली गलौज गरेको र तीन दिनभित्र सरुवा गरिदिन्छु भन्दै धक्काएको उनको भनाइ थियो। धम्की दिएको केही दिनपछि सरुवासमेत भएकोे डा. श्रेष्ठको आरोप छ।
उनले आफू गम्भीर घाइते अवस्थामा सानी छोरीसहित श्रीमती लिएर राति ९ बजे रामेछाप अस्पताल छोड्नुपरेको बताउँदै दबाबका कारण बाध्य भएर आत्महत्याको बाटो रोज्नुपरेको स्टाटसमा लेखेका छन्। स्टाटस लेखेर मोबाइल अफ गरी सम्पर्कविहीन भएका थिए। डा. श्रेष्ठ सम्पर्कविहीन भएपछि चिकित्सक, नागरिक समाज, सञ्चारकर्मी, सर्वसाधारणले चिन्ता व्यक्त गर्दै उनको खोजीको लागि सबै पक्षसँग आग्रह गरेका थिए।
रामेछाप नगरपालिका–८ का पूर्ववडाध्यक्ष केदार कार्कीले भने डा. श्रेष्ठलाई आफूले केही पनि नगरेको बताए। उनले भने, ‘डाक्टरले लगाएका आरोप सबै मिथ्या हुन्।’
सरुवा भए पनि रमाना बुझेका थिएनन्
रामेछापबाट हेटाैँडा सरुवा भए पनि डा. केशव श्रेष्ठले रमानापत्र भने बुझेका छैनन्। स्वास्थ्य मन्त्रालयमा बोलाएकाले र मन्त्रालय पुगेर आउने भन्दै उनी रमाना नलिई गएको रामेछाप अस्पतालका लेखापाल राजन फुँयालले जानकारी दिए। उनले भने, ‘डा. सापको सरुवा भएको भन्ने पत्र प्राप्त भएको छ। उहाँ मन्त्रालय पुगेर आउँछु भनेर जानुभएको छ। सरुवाको रमाना भने लिएर जानुभएको छैन।