१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २ सोमबार
  • Monday, 16 June, 2025
२o८२ असार २ सोमबार १६:३८:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

तरकारीले फेरिएको तुर्माखाँद : ३६ भन्दा सय बढी व्यावसायिक किसान, करोडौँ आम्दानी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २ सोमबार १६:३८:oo

अछामको तुर्माखाँद गाउँपालिकाका गोदे, चिसी, तानीकोट, रानीवन, लोडे र बाघेपानीका किसानले जिल्लाभरिमा तरकारी उत्पादनमा आफूलाई अग्रस्थानमा राखेका छन् । उनीहरूले तरकारी बेचेरै वार्षिक करोडौँ आम्दानी गर्दै आएका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्रीका अनुसार यहाँका आठवटा वडामा तीन हजार ६३८ भन्दा बढी  व्यावसायिक किसान छन् । उनीहरूले आलु, लौका, लसुन, प्याज, टमाटर, काउली, मुला, सिमी आदि तरकारी फलाउँदै आएका छन् ।

८० घरधुरी रहेको गोदेमा प्रत्येक घरमा तरकारी बारी छन् । यहाँका ६८ वर्षीय खन्टे बुढा आफू एक्लैले वार्षिक चार लाखभन्दा बढीको तरकारी बेच्ने गरेको बताउँछन् । ‘हाम्रो गाउँका सबैले तरकारी खेती गर्छन् । थोरै बेच्नेले वार्षिक ५० हजारजतिको व्यापार गर्छन् । म आफैँले चाहिँ चार लाखभन्दा बढी आम्दानी गर्ने गरेको छु ।’ तरकारीले बजार नपाउँदा मात्रै चिन्ता हो । उत्पादन त अत्यधिक हुन्छ । बारीबाट बजार ल्याएको तरकारी बिक्री नभएर घर फर्काउनुपर्ने बाध्यता रहेको बुढाले बताए । ‘बजार व्यवस्थापनको अवस्था फितलो छ ।  मूल्य निर्धारण छैन, अन्य सुविधा पनि छैन्,’ उनले भने, ‘डोकोमा डुलाएर बेच्नुपर्छ । स्थानीय सरकारबाट कुनै सहुलियत पनि छैन ।’ गोदेको चुकेआम, सल्लेनडाँडा, बेलरुख, तितेचिउरी र देउडुलामा सबैभन्दा धेरै तरकारी फल्ने गरेको स्थानीय झंकरबहादुर बुढाले बताए ।

बजार व्यवस्थापन र शीतभण्डार स्थापना गरे तुर्माखाँदले तरकारीमा अछामसहित दैलेख जिल्लालाई समेत आत्मनिर्भर बनाउन सक्ने अवस्था रहेको उनले बताए । उनका अनुसार गोदे जस्तै चिसी, तानीकोट, रानीवन, लोडे र बाघेपानी तरकारी उत्पादनका लागि पकेट क्षेत्र हुन् । गाउँपालिकाको कृषि विकास शाखाका नायक प्राविधिक सहायक लक्ष्मण बिसीका अनुसार तुर्माखाँद तरकारीमा आत्मनिर्भर छ ।

यहाँ बाहिरबाट कुनै पनि तरकारी मगाउनुपर्दैन । बरु यहाँका किसानले उत्पादन गरेको तरकारी व्यापारीहरूले घरमै पुगेर किनेर लिने गरेका छन् । यहाँको तरकारीले दैलेख जिल्लाको टुनीबगर बजार, रामघाट, असाराघाट, सिस्ने खोला, राकम र पालेतडा बजार पनि धानेको छ । हालसम्म सूचीकृत जम्मा तीन हजार ६३८ किसानमध्ये एउटा किसानले वर्षमा ५० हजार मूल्यबराबरको तरकारी मात्र बेचे पनि वार्षिक १८ करोड १९ लाख बढी हुन आउँछ ।

गाउँपालिकाले वडा नम्बर– १ मा ६२४,  वडा नम्बर– २ मा २६४, वडा नम्बर– ३ मा ९१६, वडा नम्बर– ४ मा ८८८, वडा नम्बर– ५ मा ४६६, वडा नम्बर– ७ मा ३२८ र वडा नम्बर– ८ मा ४५५ घरधुरीलाई व्यावसायिक किसानका रूपमा सूचीकरण गरेको छ भने वडा नम्बर– ६ मा घरधुरी सर्वेक्षण भइरहेको बिसीले बताए । यहाँका किसान अहिले आएर तरकारी खेतीमा आकर्षित भएका होइनन् । उनीहरूले पुर्ख्याैली पेसाका रूपमा तरकारी खेती गर्दै आएको वडा नम्बर ५ का वडासदस्य धनीराम जैसीले बताए ।