
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा र युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बुढानीलकण्ठ नगरपालिका– ११ बस्ने कपिलवस्तु शिवराज नगरपालिका– ५ घर भएकी ३५ वर्षीया दीपा शर्मा र झापा भद्रपुर नगरपालिका–४ घर भएका २७ वर्षीय वृजेश सुवेदी रहेका छन्।
पक्राउमध्ये दीपाले क्यानडा पठाइदिन्छु भन्दै एकजनाबाट २३ लाख ५० हजार रुपैयाँ र वृजेशले युके पठाइदिन्छु भन्दै अर्का एकजनाबाट दुई लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका प्रहरीले जनाएको छ। पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दीपालाई बुढानीलकण्ठ– ११ बाट शनिबार र वृजेशलाई काठमाडौं– १२ बाट आइतबार पक्राउ गरेको हो।
पक्राउमध्ये दीपालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं र वृजेशलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।