१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २ सोमबार
  • Monday, 16 June, 2025
पवन तिमिल्सिना काठमाडाैं
२o८२ असार २ सोमबार o६:५८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

११ महिनामा लक्ष्यभन्दा दुई खर्ब १८ अर्ब कम उठ्यो राजस्व

वार्षिक लक्ष्य भेट्टाउन असारमा चार खर्ब तीन अर्ब राजस्व उठाउनुपर्ने चुनौती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २ सोमबार o६:५८:oo

चालू आर्थिक वर्ष ०८१/८२ को जेठ मसान्तसम्म सरकारले १० खर्ब १६ अर्ब आठ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो ११ महिनामा संघीय सरकारले निर्धारण गरेको लक्ष्यको तुलनामा दुई खर्ब १८ अर्ब ७७ करोड कम राजस्व संकलन हो । यो अवधिमा १२ खर्ब ३४ अर्ब ८५ करोड उठाउने सरकारी लक्ष्य थियो । 

चालू आर्थिक वर्षभरिमा भने १४ खर्ब १९ अर्ब ३० करोड राजस्व संकलन गर्ने सरकारी लक्ष्य छ । आव सकिन एक महिना बाँकी रहँदा लक्ष्य पूरा गर्न चार खर्ब तीन अर्ब राजस्व उठाउनुपर्ने चुनौती सरकारसँग छ । चालू आवको ११ महिनामा संकलित राजस्व अघिल्लो आव ०८०/८१ को सोही अवधिको तुलनामा ९९ अर्ब रुपैयाँ बढी हो । गत आवको सोही अवधिमा सरकारले नौ खर्ब १६ अर्ब ८३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । 

चालू आवको जेठ मसान्तसम्म दुई खर्ब सात अर्ब ५० करोड रुपैयाँ भन्सार महसुल संकलन भएको छ । सो अवधिसम्मको लक्ष्य दुई खर्ब ७९ अर्ब ७० करोड थियो । वस्तु आयातमा लाग्ने महसुल एक खर्ब ६५ अर्ब ६५ करोड संकलन भएको छ । वस्तु निर्यातमा लाग्ने महसुलको लक्ष्य ३२ करोड ६२ लाख रहेकोमा ७१ करोड ८६ लाख संकलन भएको छ ।

भन्सार महसुलको अन्य शीर्षकमा पूर्वाधार करबाट १९ अर्ब १६ करोड, कृषि सुधार शुल्कबाट ६ अर्ब ६९ करोड, सडक मर्मत तथा सुधार दस्तुरबाट नौ अर्ब ४१ करोड र सडक निर्माण तथा सम्भार दस्तुरबाट पाँच अर्ब २० करोड संकलन भएको छ । राजस्व संकलनमा सबैभन्दा ठुलो हिस्सा मूल्य अभिवृद्धि करले ओगटेको छ । यो शीर्षकबाट चालू आवको जेठ मसान्तसम्म तीन खर्ब दुई अर्ब ५१ करोड संकलन भएको छ । उत्पादन, बिक्री तथा सेवा क्षेत्रबाट एक खर्ब २७ अर्ब १८ करोडको मूल्य अभिवृद्धि कर संकलन भएको छ । आयाततर्फबाट एक खर्ब ७५ अर्ब ३३ करोड संकलन भएको छ ।

अन्तःशुल्क शीर्षकबाट एक खर्ब ६१ अर्ब ९२ करोड संकलन भएको छ । चालू आवको ११ महिनामा एक खर्ब ७८ अर्ब ६८ करोडको अन्तःशुल्क संकलन गर्ने लक्ष्य थियो । आन्तरिक उत्पादनतर्फ एक खर्ब १९ अर्ब ५० करोड संकलन भएको छ भने आयाततर्फ ४२ अर्ब ४१ करोड संकलन भएको छ । शिक्षा सेवा शुल्क शीर्षकबाट तीन अर्ब ६७ करोड संकलन भएको छ । यस अवधिमा यस्तो शुल्कको लक्ष्य तीन अर्ब ९४ करोड थियो । 

४० प्रतिशत मात्रै पुँजीगत खर्च
सरकारले चालू आर्थिक वर्ष ०८१/२ को ११ महिना बित्दा पनि पुँजीगत बजेटको ४०.७ प्रतिशत मात्रै खर्च गरेको छ । चालू आवमा तीन खर्ब ५२ अर्ब ३५ करोडको पुँजीगत बजेट छुट्याएकोमा सरकारले एक खर्ब ४३ अर्ब ३९ करोड मात्रै खर्च गर्न सकेको हो । 

आर्थिक वर्ष पूरा हुन एक महिना मात्रै बाँकी हुँदा चालूतर्फ विनियोजनको ७४.६८ प्रतिशत खर्च भएको छ । ११ खर्ब ४० अर्बको चालू बजेटमा आठ खर्ब ५१ अर्ब खर्च भएको हो । कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेटमा ६८.९८ प्रतिशत अर्थात् १२ खर्ब ८३ अर्ब १६ करोड खर्च भएको छ । ऋणको साँवा–ब्याज भुक्तानीतर्फ तीन खर्ब ६७ अर्ब विनियोजन गरिएकोमा दुई खर्ब ८७ अर्ब खर्च भएको छ ।