
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट आजै प्रस्तुत गर्ने तयारी गरे पनि समय तालिकामा फेरबदल भइरहेको छ। पूर्वनिर्धारित कार्यक्रमअनुसार आइतबार दिउँसो ३ बजे प्रदेश सभामा बजेट प्रस्तुत गर्ने भनिए पनि कार्यक्रम साँझ ६ः३० बजेसम्मका लागि सारिएको थियो।
तर, पुनः ढिलाइ हुँदै अब राति ८ बजे मन्त्रिपरिषद् बैठक बस्ने तय भएको छ। बैठकपछि मात्रै प्रदेश सभामा बजेट प्रस्तुत हुनेछ। आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेटको राजस्व शीर्षक मिलाउन ढिलाइ गरेपछि प्रदेश मन्त्रिपरिषद् बैठक नै पछाडि सरेको हो।
मन्त्रालयले बजेटको अन्तिम मस्यौदा तयार पारेर मन्त्रिपरिषदमा पेस गरेपछि मात्रै बजेट प्रदेश सभामा लैजाने प्रक्रिया हुन्छ। यसअघि साँझ ६ः३० बजे मन्त्रिपरिषद् बैठक बसेर ७ बजे बजेट प्रस्तुत गर्ने तयारी गरिएको थियो। तर, आवश्यक समन्वय र स्वीकृति प्रक्रिया नसकिँदा कार्यक्रम फेरि सरेको हो।
सरकारले आजै बजेट सार्वजनिक गर्ने तयारी भने कायमै राखेको बताएको छ। मन्त्रिपरिषद्को बैठक सम्पन्न भएसँगै आर्थिक मामिला तथा योजनामन्त्रीले प्रदेश सभामा बजेट प्रस्तुत गर्ने मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले जानकारी दिए।