
कोशी प्रदेशमा आगामी आर्थिक वर्षका लागि कुल ३५ अर्ब ८७ करोड रुपैयाँबराबरको अनुमानित बजेट प्रस्तुत भएको छ।
आइतबार आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले प्रदेश सभामा आगामी आवका लागि आय–व्ययसहितको अनुमानित बजेट प्रस्तुत गरेका हुन्। प्रदेश सरकारले चालूतर्फ १८ अर्ब र पुँजीगततर्फ १७ अर्ब रुपैयाँ विनियोजन गरेको छ।
यसैगरी, सांसद विकास कोषका लागि प्रत्यक्षतर्फ दुई करोड ५० लाख र समानुपातिकतर्फ एक करोड ५० लाख बजेट विनियोजना गरिएको छ। कृषिमा दुई अर्ब १८ करोड, स्वास्थ्यमा तीन अर्ब ५१ करोड ७१ लाख, शिक्षामा दुई अर्ब पाँच करोड ५५ लाख, पर्यटन, वन, वातावरणमा दुई अर्ब ९७ करोड र सहरी विकास तथा पूर्वाधारमा १० अर्ब ५७ करोड विनियोजन गरिएको छ।
यसैगरी, विपत् व्यवस्थापनमा ९६ करोड, फाेहोरमैला प्रशोधन केन्द्र निर्माणका लागि एक करोड, मनमोहन प्राविधिक विश्वविद्यालयमा मेडिकल शिक्षा सञ्चालनका लागि १४ करोड, प्रदेशका २९ पालिकामा पदमार्ग निर्माणका लागि पाँच करोड, पर्यटन वर्षका लागि १० करोड, पर्यटन विकासका लागि ७७ करोड र भूसंरक्षणका लागि १२ करोड विनियोजन गरिएको छ। प्रदेशका कर्मचारीहरूको पोसाकका लागि सरकारले दुई करोड विनियोजन गरेको छ।
बजेटले पर्यटन वर्षमा हिमाली क्षेत्रका होटेल तथा लजलाई कर छुट सुविधाको घोषणा गरेको छ। उद्योग स्थापनाका लागि जग्गा खरिद गर्दा सहुलियत दिने घोषणासमेत गरिएको छ।
बजेटले सेवा सुशासनमुखी बनाउने, कृषिमा उत्पादन र उत्पादकत्व बढाउने, हिमाली र पहाडी क्षेत्रको बसाइँसराइ नियन्त्रण गर्ने, प्रांगारिक मल उत्पादनमा जोड दिने, कृषिमा आधुनिकीकरण गर्ने र विकट व्यवस्थापनमा जोड दिनेलगायतका विषय समेटिएको छ।